Saturday, May 20, 2017

पारिजातको घरमा - महेश पौड्याल





हामी मोटरबाटो छोडेर ओरालो लाग्दा साइला धुरा प्राथमिक विद्यालय बायाँपट्टि पर्‍यो । पहाडजत्तिकै पुरानो त्यस स्कुलको भित्तोमा अँगार र चकले लेखिएका किरिङमिरिङ अक्षर देख्दा लाग्यो, यो भित्तो साहित्यकार पारिजातको जन्मकुण्डली हो, जहाँ ग्रहहरू किरिङमिरिङका अतिरिक्त केही पनि देखिँदैनन्, दार्जिजिङमा ।








२०७४ सालको दोस्रो दिन । प्रतिभा प्रेरणा परिषद् बिजनबारी र चिया कविता सिक्किमको निम्तोमा जरा फाउन्डेसनले हामीलाई दार्जिजिङ पुर्‍याएको थियो ।हामी साइला धुरा स्कुलको आडबाट ओरालो लागिरहेका थियौं । सिमसिम पानीले पूरै भिजोको थियो लिंगिया । ओरालो बाटोमा बनाइएका ढुंगाका खुट्किलाहरू निकै चिप्ला थिए ।

तल, निकै तल, खोंचमा लमतन्न तन्किएको देखिन्थ्यो छोटा रंगित । ओरालो झर्ने हामी बडो होसियारीका साथ टेकिरहेका थियौं ढुंगाका खुट्किलाहरू । हामी सबैको मनकमा सायद एउटै कुरा थियो: यी ढुंगा पारिजातले टेकेका ढुंगा हुन्, र हाम्रा लागि एक तीर्थस्थल । यी ढुंगाको छातीमा पारिजातका पसिना, साल्गीका बलात्कृत आँसु र सकम्बरीको रगतका अभिलेख छन्, र ती विश्वभरिका साहित्यप्रेमीका लागि एक सन्देश हुन् ।

नेपाल, दार्जिजिङ र सिक्किमका साहित्यकारहरूको टोली थियो । अन्यत्र भेट्दा धेरे उकुसमुकुस, रहर, योजना, राजनीति, आक्रोश र माया साटेर माहोल कोलाहलपूर्ण बनाउने हामी सबै चुपचाप थियौं, लिंगिया चियाकमानको त्यस आदिम ओरालीको बाटोभरि । लाग्थ्यो, जिन्दगीभरिका हाम्रा उद्गारकोहरूको गति एक्कासि रोकिएको छ लिंगिया मा, र यहाँ एउटैमात्रै आवाज बाँकी छ, पारिजातको । र, त्यो आवाज भनिरहेछ: किन आउनुभयो तपाईंहरू लिंगिया चियाबारीको एकान्त गीत सुन्न, र बल्झाउन एउटा आदिम घाऊ ?

नेपालतर्फबाट हामी पाँच जना थियौं : प्राज्ञ मातृका पोखरेल, कविहरू कृष्ण प्रसाईं, टीका आत्रेय, लीला अनमोल र म । दार्जिजिङमा हामीलाई चियाबारीका पातपातमा लेखिएको विरह गीतको सप्रसंग व्याख्या गर्ने साथी हुनुहुन्थ्यो निमेश सुब्बा सिकारू । सिक्किमका रसिक कवि मित्रहरू सुधा एम राई, दीपा राई, अम्बर लाछिकाठी गुरुङ र प्रवीण खालिङ — सबै सबैका अनुहारमा उत्साह र विषाद्को एक असामान्य मि श्रण देखिन्थ्यो । टोलीमा मैले सबैभन्दा सोचमग्न अनुहार प्राज्ञ मातृका पोखरेलको पढेँ । स्तब्ध, स्तब्ध । गम्भीर, गम्भीर ।

आधुनिकताले छ्याप्पै छोपेको उनको कोठामा पारिजातको एउटा फोटोसम्म पनि छैन । छ त एउटा टीभी, एक रिकर्ड प्लेयर, केही थान कम्बल र डसना, एउटा दराज र गुप्ता मेडिकलको एक क्यालेन्डर । उपेक्षाले क्रमश: मेट्दै मेट्दै लगेको छ पारिजातको स्मृति त्यहाँ ।

पछि थाहा पाएँ, हामीमध्ये पारिजातसँग प्रत्यक्ष रूपमा जोडिएरै आएको साहित्यकार भन्नु उहाँमात्रै हुनुहुँदो रहेछ । आफूलाई पारिजातको वैचारिक स्कुलको एक विद्यार्थी र उत्तराधिकारी मान्ने कवि पोखरेलको गाम्भीर्यमा हामी सबै हेलिएका थियौँ । आखिर, पारिजात नामको सारोवरका छिटाबाट नछोइएको कुन चाहिँ नेपाली साहित्यको प्रेमी वा पाठक होला ! हामी सबै मातृका पोखरेलको गाम्भीर्य सरोवरमा मिस्सियौं ।
पाइला निरन्तर ओरालोतिरै बढिरहे । सबै आ-आफ्नै धुनमा थियौं । हामीबीचको दूरी बढ्दै-घट्दै जान्थ्यो; पाइलाको गति र मुटुको धड्कनबीच एकरूपता थिएन । हामी घरि उभिएर त्यस पाखाभरि पोतिएको चियाको हरियाली पिउँथ्यौं, र घरि तल देखिने मैदानमा बग्ने छोटा रंगितको विस्तार हेर्दै पारिजात र इन्द्रबहादुरलाई सम्झन्थ्यौं । बेलाबेला गीतहरू पनि गुन्गुनाउँथ्यौँ: अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटुमा । मेरो मनमा भने सुसन मास्केको आवाज इतिहासको कुनै आदिमतम कालखण्डबाट निस्रित भएर, समयको भँगालोसँगै क्रमश: मधुरो मधुरो हुँदै आएजस्तो भाकामा आइरहेथ्यो अर्कै गीत: 'मर्न मन लाग्छ, मायालु, शीतसँगै, असिनासँगै ।'

मेरो अवचेतनमा पारिजातका यी आत्मघाती शब्द कसरी कोरिएका रहेछन् मलाई नै थाह भएन । फ्रायडले भनेजस्तो 'एसोसिएटिभ' सम्बन्ध थियो त्यो अवचेतन स्मृति र मूर्त वरिवेशको, जहाँ सिलसिलेवर प्रसंग उप्किँदा गाँसिएका स्मृति पनि फुकेर आउँछन् । मलाई सत्य लाग्यो । फेरि गुन्गुनाएँ: मर्न मन लाग्छ, मायालु ।

के पारिजातलाई अल्पायुको मृत्युको पूर्वाभास थियो ? के उनलाई अशक्तता उनको जीवनको उत्तरार्धको गीत हुनेछ भन्ने थाहा थियो ? किन र कसरी लेखियो यो आत्महारा अभिव्यक्ति ? अथवा, उनले आफूले बाँचेको समयका सम्पूर्ण विपर्यासलाई लेखिएदिएर निर्वाण प्राप्त गर्न खोजेकी थिइन् ? सायद, लिंगिया छोडेर दार्जिजिङ हुँदै नेपाल छिरेपछि उनका पाइला छेक्न तम्तयार उपेक्षाका पहाड र चट्टानहरूलाई सुनाएको यो एक 'स्वान सोङ' अर्थात् अन्तिम गीत थियो !

चियाका पात चुँडेर चाख्दै, तल छोटा रंगितको किनार सम्झँदै, बालसन नदी र दार्जेलिङे साहित्यको सम्बन्ध केलाउँदै, फोटो खिच्दै र स्तब्ध हुँदै हामी ती ढुंगाको अन्तिम खुट्किलोमा आइपुग्यौं, जहाँबाट ओर्लनु हामी सबैका लागि एक विशिष्ट प्राप्तिको भागी हुनु थियो । निकै माथिदेखि नै हामी टिनका लमतन्न तन्किएका केही छाना एकआपसमा खप्टिएका देखिरहेका थियौं । टिन लगभग पूर्ण रूपमा खियाले खाएर खैरो भएको थियो । घर उँधो पाखोतिर पर्खिएको कुनै एक डिल वा थुम्कोको आडमा बनेको हुनाले घरको प्रमुख द्वार, झ्याल र ढोका हामीले अझै देखेका थिएनौं ।

दिनको करिब ३ बजेको हुँदो हो । हामी पारिजातको जन्मघरको आँगनमा उपस्थित भयौं दार्जिलिङको लिंगिया चियाकमानको बीचमा ।जरा फाउन्डेसनले दार्जिजिङ यात्राको कार्यक्रम तय गरेकै बेला हामीले लिंगिया जाने निधो गरेका थियौं, पारिजातको जन्मघर हेर्न । त्यो बेला मेरो मनमा एक भव्य तीर्थस्थलको बिम्ब आएको थियो । कल्पना गरेको थिएँ, राजमार्गबाट उनको घर जाने कालोपत्रै गरिएको ठूलो, चौडा बाटो छ । बाटोको किनारैभरि सुन्दर फूल र बोटबिरुवाले बनेको लहरे उद्यान छ । जताततै काठका पाटी लागेका छन् र ती पाटीहरूमा पारिजातका जीवन्त भनाइहरू कुँदिएका छन् । ठाउँठाउँमा यात्रुहरूका लागि पिउने पानीको व्यवस्था गरिएको छ । कतै कतै, पारिजातका किताब, र उनको गीतका सिडीहरू बिक्रीका लागि राखिएका छन् ।

बाटोभरि पारिजातका गीत र भनाइहरू सुनाइरहने स्पिकर लागेका छन् । घरमा एक म्युजियम छ, जहाँ पारिजातले बालापनमा प्रयोग गरेका सरसामान, उनको बाल्यकालका स्मृतिहरू आदि सुरक्षित गरिएका छन् । सोचेको थिएँ, कहीँ कतै आगन्तुक पुस्तिका पनि छ । मैले भावविह्वल भएको बेला त्यहाँ के लेखौंला भन्ने पनि नलागेको होइन । सोचेथेँ, कहीँ कतै पारिजातको भव्य सालिक छ, र सालिकमुनि त्यसलाई अनावरण गर्ने कुनै उच्च सरकारी अधिकारी वा मन्त्रीको नाम छ । र त्यहाँ फोटो खिच्न साहित्यिक पर्यटकको भीड तँछाड-मछाड गरिरहेको छ ।

तर पारिजातको जन्मघर पुग्दा मेरा सम्पूर्ण सपनाहरू भग्नावशेषमा परिणत भइसकेका थिए ।

लामो घर — उँधो रंगितको कितारतिर फर्किएको । साँघुरो द्वारबाट हामी छिर्‍र्यौं, र आँगनमा दाखिल भयौं । आँगनमा तीनतिर फूलहरू लहरै रोपिएका थिए । हामी सबैलाई हाँसेर स्वागत गरे, त्यस घरको रखवाली गरेर बसेका ध्रुव प्रधानले । लिंगिया प्राथमिक पाठशालाका पूर्वप्रधानअध्यापक प्रधानसँग हामीले पालैपालो कुरा गर्‍यौं।

'पारिजातलाई देख्नु-भेट्नुभएको हो तपाईंले ? '
'होइन । यो ठाउँमा पारिजातले आफ्ना केही वर्षमात्रै बिताउनुभएको हो । त्यसपछि उहाँ पढाइलेखाइका लागि दार्जिजिङतिरै जानुभयो । अनि उतैबाट नेपाल । खासै आउनुभएन लिंगिया । हामी पनि यहाँ पछिमात्रै सरेका हौँ ।'
'कतिको आउँछन् साहित्यक पर्यटकहरू यहाँ ? '
'अलिअलि आउँछन् ।'
'सरकारका मान्छे नि ? '
'आउँदैनन् ।'

'यहाँसम्म आउने-जाने बाटो बनाउने कुनै सरकारी पहल भएन है ? '

'भएन । यो जग्गा चियाकमानको हो । यहाँ सरकारको खासै केही पनि चल्दैन । चिया कमानको प्रशासनले चाहेमात्रै केही हुन्छ । तर, त्यसो हुन सकेको छैन ।'

मैले चिया कमानको प्रशासनको अनुहार सम्झिएँ । चियाका बोट, कमानका पात्र-चरित्र, र चियाको गाथामा कुँदिएको दार्जिजिङको कथा लेख्ने, र विश्वभरि दार्जिलिङलाई चिनाउने साहित्यकार, गीतकार र गायकहरूको ऋण लाग्छै लाग्छ त्यस प्रशासनलाई ।

अनि फेरि मैले नेपाल सम्झेँ ! चुँदी रम्घामा भानुभक्तको घर सधैंजसो असार २९ मा पत्रिकामा छापिन्छ, र उही कथा दोहोरिन्छ, उपेक्षाको । कसले बनाउन सकेको छ र महाकवि देवकोटाको सहरको मुटुमै भएको जन्मघरलाई संग्रहालय वा तीर्थस्थल ? कहाँ उभिएको छ हरिभक्तको सालिक ? कति मान्छे जान्छन् स्वरसम्राट् नारायणगोपालको घर ? कहाँ पर्छ तारादेवीको बासस्थान ? ९८ वर्षको उमेरमा सत्यमोहन जोशीलाई 'वाङ्मय शताब्दी पुरुष' घोषणा गरियो, तर उनको इच्छा त्यो थियो वा थिएन कसैले सोधेन । उनको घोषित इच्छा थियो, विसं २०२६ सालमा बडो कष्टका साथ उनले, र उनका साथीहरूले नेपाली भाषाको उद्भवस्थल सिँजा घाँटीको दुरुह यात्रा गरेपछि लेखेको उनको सिँजा घाँटीको संस्कृतिसम्बन्धी पुस्तकको पुनर्मुद्रण होस् ! तर त्यो कसैले गरेको छैन आजसम्म ।

अनि फेरि नेपालबाहिरका केही मुलुक सम्झेँ । डेनमार्कमा उपन्यासकार एस्ट्रिड लिन्डगे्रनको उपन्यासले चित्रण गरेको जस्तो उद्यानै बनाएको छ सरकारले । घुम्न जाने यात्रुहरू उपन्यासकै परिवेशमा प्रवेश गर्छन्, र एनिमेटेड पात्रहरू भेट्छन् । रवीन्द्रनाथ ठाकुरको शान्ति निकेतन आज भारतकै प्रतिष्ठत शैक्षिक गन्तव्यहरूमध्ये एक हो । चीनमा लुसुनको घरमा 'बेइजिङ—लुसुन म्युजियम' छ, जहाँ लुसुनले प्रयोग गरेका सामग्री, उनका पाण्डुलिपि, उनका जीवनका विभिन्न चरणका तस्बिर सरकारी खर्चमा सुन्दर तरिकाले संरक्षित छन् ।

बेलायतमा विलियम वर्डस्वर्थको लेक डिस्ट्रिक्टको घरमा आज पनि उनले परिकल्पना गरेको प्राकृतिक वातावरणलाई सरकारी पहलमा अक्षुष्ण राखिएको छ, र आउनेजानेहरू भन्छन्, त्यहाँ बाँसका कचौराले उघाएर नालाको स्वच्छ पानी खाने प्रबन्ध छ, र पशुपन्छीको बाक्लो उपस्थितिले वातावरण अत्यन्त शान्त रहन्छ । लन्डन जानेहरू स्टेटफोर्ड अपन एवनस्थित शेक्सपियरको घर नपुगी फर्कंदैनन्, र वेस्टमिन्स्टर एब्बीस्थित सयौं विश्वविख्यात साहित्यकारहरूको समाधिस्थल नपुगी स्वदेशको बाटो लाग्दैनन् । दक्षिण कोरियामा गुड्ने मेट्रो रेलका भित्ता, रेल्वे स्टेसन र बस पार्कका प्रतीक्षालयका भित्ताभरि कविहरूका कविता कुँदिएका छन् । र यी सबै सबै, त्यहाँका सरकारका पहलमा भएका छन् ।

हाम्रो देशमा साहित्यकारका सालिक छन् कताकति, र उनीहरूका नामका सडक र विद्यालय छन् । तर संरक्षण छैन, सम्बद्र्धन छैन । पारिजातको गाउँतिर पनि रहेनछ । नश्ल एउटै हो । चिन्तन पनि सायद एउटै ।

हाम्रै सरकार, हाम्रै सबै । कसले बनाउँदो रहेछ नियम-कानुन, हामीलाई नै छेक्ने ? दार्जिजिङ भनिसक्दा कञ्चनजंघाको जत्रो उचाइ दिने नाम हो नि पारिजातको ! तर, लिंगियाको त्यस निर्जन खोंचमा, तल कतै, चियाका पोथ्रा, थुम्काथुम्की र भीरहरूको सन्नाटामा तपिरहेको पारिजातको घर पुग्दा लाग्यो, संसारको सम्पूर्ण विवर्यास यहीँ आएर धर्ना बसिरहेको छ ।

हाम्रो सभ्यता अमूर्त सांस्कृतिक सम्पदाको प्रेमबाट बजारको प्रेमतिर लहसिँदै गएको छ सायद । हामीलाई यसको जोखिम थाहा छ छैन, तर यी सम्पदासँगको प्रेमबाट दिनदिन विमुख हुँदै गएका हामीजस्तै मान्छेका मनहरूले बामियानमा बुद्धको मूर्ति भत्काउँदा, अथवा ट्विन टावरको विलक्षण कला गिराउँदा सोचेनन्, उनीहरूले तोडेको स्तम्भ मान्छेको अमूर्त कलाकारिताबाट निस्रित संवेदनाको एकमूर्त अभिव्यक्ति पनि त हो । हामीलाई जोड्ने, अदृश्य अवयवहरू क्रमश: नेपथ्यमा परिरहेका छन्, आज । सायद, मान्छेको मन खुम्चिरइरहेको छ । हामी सायद सुस्क हुँदैछौँ, दिनदिन् ।

दार्जिजिङ पार्वत्य परिषद्ले लामो समय सपना गोड्यो दार्जिलिङमा । पारिजातको घर पुग्न भ्याएन । परिषद्को विघटन भएपछि गोर्खाल्यान्ड क्षेत्रीय परिषद्को गठन भयो । त्यो पनि त्यहाँ पुग्न भ्याएन सायद । चिया कमानभित्रको नियमको विनिर्माण गर्ने कुनै मार्कण्डेय जन्मेन लिंगियामा । मार्कण्डेयलाई केवल आठ वर्षको आयु तोकिएको थियो जन्मको समय । त्यो नियम बनाउने भगवान्कै विरुद्ध उनी उत्रिएपछि, उनले अमरत्वको वरदान पाए । नियम इच्छाशक्तिले परिवर्तन गर्न सकिन्छ नि !

दार्जिजिङ र नेपालमा यस्ता मार्कण्डेयहरूको ठूलो आवश्यकता भएको कुरो मैले पारिजात जन्मेको कोठाभित्र प्रवेश गरेपछि थाहा पाएँ । आधुनिकताले छ्याप्पै छोपेको उक्त कोठामा पारिजातको एउटा फोटोसम्म पनि छैन । छ त एउटा टीभी, एक रिकर्ड प्लेयर, केही थान कम्बल र डसना, एउटा दराज र गुप्ता मेडिकलको एक क्यालेन्डर । उपेक्षाले क्रमश: मेट्दै मेट्दै लगेको छ पारिजातको स्मृति त्यहाँ ।

स्मृतिको भित्री डोबसम्म चिया बगान पसेको छ, र त्यससँगै पसेको छ उपभोक्तावाद । हामी अवशेषहरूमा चित्त बुझाउन वाद्य छौं, हाम्रो अनमोल सिर्जन-सभ्यताको । धन्न कञ्चनजंघा टाढा र दुर्गम छ, र बजारको स्पर्शले अझै बिटुलिइसकेको छैन ।प्रिय कञ्चनजंघा, सकेसम्म तिमी मान्छेको पहुँचभन्दा टाढै बस्नू । नत्र समयले तिमीलाई पनि पारिजातको अर्को संस्करण बनाइदिन सक्छ ।


http://annapurnapost.com बाट साभार

Friday, May 19, 2017

‘बढी बिक्ने साहित्य सबै असल हुुँदैनन्’ - नारायण ढकाल



काठमाडौँ, ५ जेठ २०७४  । आख्यानकार नारायण ढकालले बजारमा चर्चा पाएका वा बढी बिकेका कृतिका आधारमा मात्र असल साहित्य ठहर गर्न नहुने बताउनुभएको छ । प्रगतिशील लेखक सङ्घको मासिक परिसंवाद शृङ्खलामा आज विचार प्रस्तुत गर्दै ढकालले बिक्ने मालविरुद्ध कलात्मक हस्तक्षेप गरेर समाजलाई सही सन्देश दिने साहित्य पस्कनु प्रगतिशीलको दायित्य हो भन्नुभयो ।

ढकालका ‘प्रेतकल्प’, वृषभ वध’ लगायत चार उपन्यास र त्यतिकै सङ्ख्यामा कथा सङ्ग्रह प्रकाशित छन् । लेखकको राजनीतिक आस्था हुनसक्ने भए पनि उसले सिर्जनालाई नारा वा सिधा पक्षधरतामा व्यक्त नगरी सामाजिक यथार्थका आधारमा पस्किएमा समाजले पछिसम्म पनि खोजेर अध्ययन गर्ने उहाँको भनाइ छ । समालोचक गोपीरमण उपाध्यायले विश्वस्तरमा लोकप्रिय माक्र्सवादी साहित्यबाट पनि नेपाली स्रष्टाहरु प्रभावित हुँदै आएको बताउनुभयो ।

सङ्घका अध्यक्ष मातृका पोखरेलले नियमित रुपमा समसामयिक विषयमा विज्ञसहित मन्थन गरेर नयाँ पुस्तालाई उत्प्रेरित गर्न खोजिएको जनाउनुभयो । कार्यक्रममा उपन्यासकार रमेश विरही र रणेन्द्र बराइली, सङ्घका उपाध्यक्ष डा पुष्करराज भट्ट, महासचिव आरएम डङ्गोल, वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’ लगायतले उपन्यास लेखनका प्रवृत्तिबारे टिप्पणी गर्नुभएको थियो ।

http://trishulikhabar.com बाट साभार 



आफ्नो धारणा राख्दै आख्यानकार नारायण ढकाल

=====================================================







Tuesday, May 16, 2017

मैले भेटेका नौ बहिनी पारिजात - आहुति


आहुति 

१. जेठी पारिजात

वि.सं. २०४१ सालमा जब मैले पारिजातको बारेमा क्याम्पसमा कुराकानी भएको सुनें, त्यसपछि सिधा गएर मेरो पार्टीको जिल्लाको एक नेतालाई सोधें, ‘पारिजात भन्ने लेखिका कस्तो हो ?’ जवाफ यस्तो थियो, ‘हे त्यो काम लाग्ने मान्छे होइन; मञ्जुल, रायन भन्नेहरूसँग जोसँग पनि सुत्दै हिंड्ने मान्छे हो । ती राल्फा अभियानमा जे पनि गर्दै हिंड्ने हुन् ।’ एउटा भर्खर १७ वर्ष लागेको ठिटो जसले भर्खरै कम्युनिस्ट पार्टी भेटेको थियो, आफ्नो नेताले त्यतिबेलाको भूमिगतकालमा भनेको कुराको प्रभाव उसमाथि कस्तो पर्‍यो होला ? मेरो दिमागमा राल्फा शब्द पहिलोचोटि ठोक्किएको थियो । ‘यो राल्फा के हो नि ?’ मेरो यो प्रश्नको जवाफ यसरी दिए ती नेताले कि म कुनै सोध्नै नहुने कुरा सोध्दैछु, उनले भने, ‘राल्फासाल्फा हामीलाई चाहिएको कुरै होइन नि त्यो !’ पारिजातको एउटा पनि रचना नपढेको र हिन्दु परिवारको महिलाको आचरणसम्बन्धी सामन्ती नैतिक शिक्षाबाट प्रशिक्षित म पुरुषमा वास्तवमा पारिजात भनेकी एक बाइफाले चरित्रहीन लेखिका रै’छ भन्ने कुरूप बिम्ब त्यसरी रोपियो ।

त्यतिबेला यस्तै थियो ? हो, त्यस्तै थियो त्यतिबेला । भूमिगतकाल, आधा दर्जनभन्दा बढी कम्युनिस्ट समूहहरू । जानेबुझेका भनिने नेता को हुन्, कहाँ छन् थाहा हुँदैनथ्यो । आफूअगाडि जो उपस्थित हुन्थ्यो त्यही महान्, उसैले बोलेको सिद्धान्त अनि महान् सत्य ! आफ्नो पार्टीको नहुनेबित्तिकै त्यसप्रति आफ्नो कार्यकर्तालाई टाढा राख्न हुने–नहुने भए–नभएका सबै नै भनिन्थ्यो । ‘त्यो मोहनविक्रमको बाउले त आफ्नो दरबार जत्रो घर बनाउन भक्तपुरबाट बोलाएको कालीगढलाई ज्यालास्वरूप एउटी स्वास्नी नै दिएर पठाको रे, अब के कुरा गर्ने ?’, ‘निर्मल लामा त खासै नेता हैन, चौबिसै घण्टा रक्सी खानुपर्ने जँड्याहा हो, फेरि उसका त पञ्चहरू सबै साथी हुन् ।’, ‘झापाली त सबै सामन्तका छोराहरू हुन् ।’ ‘त्यो गोप्यवादी श्यामप्रसाद त आफ्नै नातेदार आइमाई बिगारेर भूमिगत भएको त… ।’, ‘पुष्पलाल त काङ्ग्रेसको दलाल हो नि ।’ सैद्धान्तिक बहसमा भाग लिनुभन्दा यस प्रकारको टिप्पणीबाट काम चलाउनेको सङ्ख्या त्यतिखेर पर्याप्तै हुन्थ्यो, पारिजातबारे म पनि यस्तै टिप्पणीबाज तोरीलाउरे नेताको फेला परेको रहेछु, जुन कुरा मलाई केही वर्षपछि राम्ररी ज्ञान भयो । पारिजातबारे आफ्नो नेताको त्यस्तो टिप्पणी दिमागमा भरेको मैले कोर्समा फेला पारें पारिजातको कथा ‘मैले नजन्माएको छोरो ।’ अब मलाई पुगिहाल्यो ।

२. माइली पारिजात

‘साहित्य सन्ध्या’मा कविता सुनाउन जब पुगें, प्रत्यक्ष मैले पारिजातलाई त्यहीं देखें । बुट्टे कुर्ता सुरुवाल अनि सलले टाउको ढाकेको लाम्चो गोरो अनुहारकी पारिजात हात अड्याउने नभएको काठको कुर्चीमा बसेर कविता सुन्दै थिइन् । उनी बेला बेलामा अगाडिका माथि पट्टिका दुई कप्टेरे दाँत देखाएर फिस्स फिस्स हाँस्थिन् । बसेको ठाउँबाट पटक्कै नउठी उनले ३५ भन्दा बढी कविता सुनिन् । त्यसपछि अन्त्यमा कार्यक्रम सकिएपछि उनलाई कसैले बोकेर मोटरबाइकको पछाडि राखेको देखें । मनमा एउटा नमीठो चिसो सिरेठो त चल्यो तर मेरो नेताले उनको बारेमा मेरो दिमागमा भरेको चरित्रहीन आइमाईको बिम्ब भने डेक उताउति भएन । लगातार जसो कार्यक्रममा देख्थें, अनि उनले रोकिई रोकिई बोल्ने शैलीमा गम्भीर कुराहरू बोलेको सुन्दै जाँदा, ‘मान्छे चाहिं गज्जबै रै’छ !’ भन्ने भाव मेरो मनमा आएरै छाड्यो । त्यो समय मेरो अध्ययन गर्ने जिब्रो सुँगुरकै जस्तो थियो, जे पनि रात दिन पढेको पढेई ।


त्यतिबेलासम्म छिमेकी गाउँका भए पनि हरिगोविन्द लुइँटेलसँग चिनजान थिएन, मतलब उनले मलाई चिन्दैनथे । त्यो भन्दा केही समयअघि मैले ‘मधुपर्क’ पत्रिकामा हरिगोविन्द लुइँटेलको व्यङ्ग्य निबन्ध ‘हाडे ओखर’ पढेको थिएँ, पुछारमा लेखेको थियो ठेगाना ‘ढुङ्गेअड्डा’ । मैले मेरी ठूल्दिदीलाई सोधेको थिएँ, ‘ढुङ्गेअड्डाको हरिगोविन्द भन्या को हो ?’ एक दिन बसमा उभिएको दाह्री झ्याम्म पालेको युवकलाई देखाउँदै ठूल्दिदीले भनी, ‘कान्छा हेर त हरिगोविन्द भन्या लुइँटेल बाउन त्यै हो !’ म ‘साहित्य सन्ध्या’मा कविता सुनाउन थाल्दा ‘लुइँटेल बाउन’ले दाह्री जुङ्गा काटेर हिंड्न थालिसकेका थिए । एक बसको अगाडि सिटमा म, पछाडि सिटमा उनै ‘लुइँटेल बाउन’ र अर्को व्यक्ति कुरा गर्दै थिए । ‘पारिजातको प्रगतिवादी यात्रा चाहिं पर्खालभित्र पर्खालबाहिर उपन्यासबाटै हो । यताबाट उता जाने त धेरै छन्, उताबाट यता आउनुु गजबै हो ।’ त्यतिबेलै हरिगोविन्द लुइँटेल लामो लामो व्याख्यामा बोल्ने भइसकेका थिए । उनी बोलिनै रहे, म भने भोलि पारिजातको त्यो उपन्यास खोज्छु भनेर गुन्दै थिएँ । जब मैले ‘पर्खालभित्र पर्खालबाहिर’ पढें, मलाई त्यसको भाषाको छरितोपन गजब लाग्यो । मेरो मनको तार कताकता पारिजातसँग जोडिन पुगेको अनुभूति भयो । उनका बारेमा मेरो दिमागमा भरिएको बिम्बलाई बेवास्ता गर्न मन लाग्न थाल्यो । त्यसपछि उनका रचना भेटेजति पढ्न थालें, शिरिषको फूलमा जब ‘केटीहरू कुलकुलाउँदै गए’ भन्ने वाक्य भेटें, म पूरै मात भएँ । साहित्यकारले कसरी नयाँ बिम्बसँगै नयाँ शब्दकै आविष्कार गर्दोरहेछ भन्ने कुरा पारिजातबाट त्यही वाक्यबाट मैले सिकेको हुँ ।

३. साइँली पारिजात

‘साहित्य सन्ध्या’ हुँदै ‘प्रतिभा प्रवाह’सम्म निरन्तर कविता सुनाउँदै जाँदा क्षेत्रपाटीस्थित एउटा कलेजमा भएको कार्यक्रममा बोल्दा पारिजातले भनिन्, ‘जाडो लाग्याथ्यो, आऊँ कि नआऊँ, फेरि केही कविको कविता सुन्ने लतै लाग्या जस्तो भा’छ… आहुतिको कविता वाचन छोड्न मन लागेन…. ।’ यो सुनेपछि भने म झसङ्ग भएँ । न मेरो जातको, न मेरो चिनाजानी, न मेरो शिक्षक, न त… न त… न त… । कतै केही साइनो नपर्ने पारिजात मप्रति ध्यान दिने गर्दीरहिछिन् । ‘प्रतिभा–प्रवाह’ सञ्चालनसम्म पुग्दा निनु चापागाईंलगायतसँगको भेटघाटले राल्फा अनि पारिजातबारे मेरा नेताले मभित्र भरेका बिम्ब त मास छर्न गइसकेका थिए तर पारिजात सबैलाई त्यति नै ध्यान दिएर सुन्छिन् भन्ने पटक्कै लागेको थिएन ।

एक दिन कवि राजेन्द्रप्रसाद अधिकारीले भने, ‘तपाईंलाई पारिजात दिदीले भेट्न खोज्नुभा’छ, गए हुन्छ नि !’ त्यसपछि नजाने त प्रश्नै थिएन । म म्हेपीको उनको कोठामा पुग्दा भर्खरै सुतेर उठेकी थिइन् । पारिजात सुत्ने कोठामा दुईटा–दुईटा ढोका थिए । एउटा पश्चिमतिर स्कुलको प्राङ्गणबाट छिर्ने, अर्को घरभित्रको कोरिडोरतिर जाने । पारिजात सुत्ने खाट डबल बेडको थियो, सिरानी दक्षिणतिर फर्केको । पश्चिमतिरको ढोकाबाट पस्ने बित्तिकै तीनजना जति बस्न मिल्ने काठको स्टुल थियो र एउटा ड्याण्डल भएको कुर्ची जुन पारिजात सुत्दा खुट्टातिर अर्थात् उत्तरतिरको भित्तामा टाँसिएका थिए । पारिजातको दायाँतिर एउटा लामो टेबल जसमा उनको विभिन्न लेखकका किताबहरू थिए, तिनलाई चाहनेले किन्न पनि सक्थ्यो । त्यो टेबुलसँगै थिए दुई जना जति बस्न मिल्ने सोफा भनेपनि हुने खालका कुर्ची र एउटा बाँसको स्टुल । त्यतैपट्टिको भित्तामा थिए पारिजातका केही फोटा अनि उनको त्यो सिमेन्ट र रातो इँट्टा नाङ्गै देखिने कोठामा थियो सबैभन्दा ठूलो एउटा फ्रेमबिनाको पोस्टर जसमा दौरा मात्र घुँडा घुँडासम्म आउने गरी लगाएको बालकले आकाशका चम्किला ताराहरू हेरिरहेको दृश्य !

म त्यस कोठामा पुगेपति कालो चिया जुन मर्ला पटक्कै मन पर्दैनथ्यो, मेरा अगाडि आइपुग्यो र खुकुरी चुरोट तान्दै पारिजातले बैनी सुकन्यालाई बोलाइन् र भनिन्, ‘उहाँ नै हो आहुति, अस्ति के त कविता… हामी दुई बैनी नै रोयौं ‘टुहुरा मान्छेहरू…’ पढेर ।’ यसरी त्यतिबेलाको विकृत पार्टी पूर्वाग्रहलाई भत्काएर उनले मलाई आफ्नो रचनामार्फत् आफ्नो नजिक तानेकी थिइन् । त्यसैगरी त्यतिबेलाको साहित्यिक सामाजिक सम्बन्ध शुन्य रहेको एउटा उदीयमान कविलाई आफैले बोलाएर भेटेकी थिइन् ।


४. काइँली पारिजात

पारिजातसँग मेरो दोहोरो कुराकानी धेरै हुँदैनथ्यो । उनको अगाडि गएर बस्नु, कुरा सुनिरहनु र एकाध प्रश्न र प्रतिक्रिया व्यक्त गर्नुमै म सीमित हुन्थें । पारिजात चाहिं साना साना जस्ता लाग्ने कुरा पनि पुटुपुटु पुटुपुटु बोलिरहन्थिन् । ‘स्वास्नीमान्छे बिहे भएपछि भनिहाल्छन् तर केटा मान्छे कस्तो कपटी † राजेन्द्र अधिकारीको बिहे भएको चार महिना भइसकेछ, भन्दै नभनेका !’ प्रत्येक घटनाबाट उनी गहिरा निष्कर्षसम्म पुग्थिन् ।

रमेश विकल अध्यक्ष र मोदनाथ प्रश्रित महासचिव भई प्रलेसको पुनर्गठनपछि तत्कालीन नेकपा (माले)ले मोदनाथ प्रश्रितको अध्यक्षतामा आफ्नो भातृ सङ्गठन राष्ट्रिय जनसांस्कृतिक मञ्च गठन गर्‍यो तर त्यसलाई भातृ सङ्गठनको सट्टा स्वतन्त्र सङ्गठन भनी प्रचार गरियो । त्यसपछि पारिजातले मोदनाथलाई अङ्ग्रेजी साहित्यको पात्र ‘साइलक’ तुलना गरेर ‘गर्जन’ साप्ताहिकमा लेख लेखिन् । यो विवाद केही महिना गम्भीर रूपमा चल्यो । अन्त्यमा राजसांमञ्च स्वतन्त्र साझा नभई निश्चित विचार मान्नेको सङ्गठन भएको मोदनाथ पक्षले स्वीकार गरेपछि पारिजातले ‘त्यसो भए यो बहस अन्त्य भयो’ भनी बहसको अन्त्य गरिन् । आफूलाई लागेपछि अन्त्यसम्म बहसमा जाने र इख नराख्ने प्रवृत्ति उनमा थियो ।

‘साहित्य सन्ध्या’ले वर्ष पुरस्कार कर्णप्रखर धिताललाई दिएको प्रसङ्ग उठाएर पारिजात रिसाउँथिन् र भन्थिन्, ‘कर्णप्रखर कुनै कवि प्रतिभा नै होइन, इमानदार पनि छैन । आफ्नो मान्छे भनेर पुरस्कार दिन्छन् यी मालेहरू… मलाई मन पर्दैन ।’ कर्णप्रखरले आस्था र कविता आज छोडेको देख्दा म पारिजातका ती भनाइ पटकपटक सम्झन्छु । प्रतिभा र आस्थावान् मान्छे चिन्ने गहिरो क्षमता पारिजातमा थियो ।

मैले त्यतिखेर केही कथात्मक बढी भएका कविता लेखेको थिएँ । रघुजी पन्तले ती कवितालाई ‘यी त कथा भए, कविता कसरी भयो ?’ भनी प्रश्न उठाएका थिए । पारिजातले अर्को कार्यक्रममा भारतीय कव सर्वेश्वरदयाल सक्सेनाको ‘लु सुनलाई गाउँ घुमाउँदा’ शीर्षकको कविताबारे लामो बहस राखेर सर्वेश्वरले लेख्दा कविता हुने, आहुतिको कविता नहुने ? महाकाव्यमा कथा भन्न त कविता लेखिन्छ, कवितामा कथा आउनेबित्तिकै कविता नहुने भए महाकाव्यका कविता के हुन् त ? भनी गजबले मेरो प्रतिरक्षा गरिरहिन् । देखेपछि दृढतापूर्वक बोल्ने, लोलोपोतो नघस्ने आजादी प्रवृत्ति थियो उनको ।

५. ठाइँली पारिजात

पारिजातसँग धेरै कुरा गर्न सजिलो । त्यतिखेर लेखनमा उनका प्रतिस्पर्धी कोही पनि थिएन त्यसैले पनि होला । एउटा कुरा चाहिं साह्रै गारो । त्यो के भने उनलाई बोकेर हिंड्ने काम । आफू बोकिमाग्दा उनले कुनै दु:ख दिने त होइन, बोक्न तम्सिनेको अभाव पनि हुँदैनथ्यो, घण्टौघण्टा बोक्नुपर्ने पनि होइन । कोठाबाट बाइकसम्म, बाइकबाट कार्यक्रमस्थलसम्मको मञ्चसम्म हो तर बोक्दा भरपर्दो गरी नसमातौं पनि नहुने, बेस्सरी समातौं कहाँ दुख्ने हो पक्षघातले गुडुल्किएको शरीरमा ! अरुलाई कस्तो लाग्थ्यो कुन्नि मैले यसबारे कसैसँग कुरा गरिन । तर म भने आफूले बोक्दा कतै असर नै पर्ने गर दुख्ने हो कि भन्ने कुराले कुँडिने गर्थें । हुन त मेरो शरीरको दार स्याखिने भएकाले धेरैजसो बोक्ने भार मलाई पर्दैनथ्यो तर जब पथ्र्यो, म निकै सतर्क भएर पिठ्युँ थाप्ने गर्थें ।

त्यतिबेला सबै पुस्ताका र सबै खेमाका साहित्यकार पारिजातकहाँ पुग्ने गर्थे समय मिलाएर । पाकाहरू वैचारिक छलफल पनि गर्थे, युवाहरू सिर्जनाका बारेमा नै मूलत: सीमित हुन्थे । आ–आफ्नो गच्छे र रुचि अनुसार कहिलेकाहीं त्यतिबेलाका राम्रा रक्सी लिएर जाने र सँगै पिएर घर फर्किने पनि थिए तर चुरोट चाहिं पारिजात आफ्नै रुचिको खान्थिन् । ‘पहिले गैंडा खान्थें, अहिले खुकुरी !’ मलाई उनले सुनाएको यही थियो । त्यतिबेला पारिजातकहाँ बढी भेटघाट गर्ने युवा कविहरू मजस्ता नवोदितलाई धेरै गन्दैनथे पनि, कमसेकम मलाई त्यस्तो लाग्थ्यो । पारिजात त्यतिबेला क्रान्तिकारी प्रगतिशील युवा कविहरूका निम्ति अत्यन्त सुलभ अभिभावक थिइन् । पाकाहरूका निम्ति भने पञ्चायतका समर्थक र गैरवामपन्थी साहित्यकारलाई दिइने मुखभरिको जवाफ थिइन् पारिजात जसले भनेकी थिइन्– ‘शिरिषको फूल जलाइदिए हुन्छ !’

पारिजातको मृत्युपछि पनि स्वाभाविक रूपमा प्रगतिवादी साहित्य जारी छ, कैयौं विधामा त ठूलो प्रगतिका साथ, त्यसैगरी ठूला ठूला सौन्दर्यशास्त्री र लेखक कवि ज्यूँदैछन् र नयाँनयाँ बन्दैछन् । म सोच्छु पारिजात नहुँदा उनको नयाँ सिर्जनाबाहेक ठोस अभाव नै हुन पुगेको के होला ? निसन्देह मलाई लाग्दछ कि त्यो अभाव भनेको मूलत: युवाहरूलाई हुन पुगेको हो, छ र अझै कति समयसम्म त्यो रहिरहनेछ छ अर्थात् स्नेही अभिभावकको अभाव ! पारिजातको मृत्युपछि ‘नयाँ घर’ प्रकाशनका क्रममा त्यो अभाव मैले गहिरो गरी अनुभूत गरें । आज पनि जब जब आफूलाई प्रतिस्पर्धी ठान्ने पाकाहरूको आँखाको रापमा छटपटाएको युवा सर्जक देख्छु, म पारिजातको स्नेह अनायास सम्झिन पुग्छु ।


६. राइँली पारिजात

०४५/०४६ को जनआन्दोलन सुरु भयो । फागुन सात गतेबाट सडकमा निस्किएका पार्टीहरूको जुलुस फागुन आठमा जनकपुरको जदुकुवामा रक्ताम्मे हुनासाथ सिङ्गो तराई र पहाड जोडिन पुग्यो तर त्यो परिवेश बिस्तारै सेलाउन थाल्यो र फागुनको दोस्रो हप्ता पुग्दा आन्दोलनले हावा खाने हो कि भन्नेसम्मको आशङ्का जन्मिन थाल्यो । त्यसपछि फागुन १८ गते पाटनमा बर्बर दमनपछि पाटन सहर जुरुक्क उठ्यो र किल्लाबन्दी सुरु भयो । त्यतिबेला सुनिन्थ्यो भक्तपुरबासीले पाटन र कीर्तिपुरबासीका निम्ति ‘चुरा धागो’ उपहार पठाए ।

पार्टीहरूले आन्दोलन धर्मराउने पो हो कि भन्ने सम्भावनासँगै सबै पेशागत समुदाय सडकमा उत्रिन थाले, त्यसले बिस्तारै माहौल तताउन थाल्यो र महाराजगञ्ज शिक्षण अस्पतालका डाक्टरको आन्दोलनकारी गतिविधि कोसेढुङ्गा बनेको थियो । त्यसैबेला लेखक कलाकारले पनि आफ्नो आन्दोलनकारी गतिविधि गर्ने निर्णय भयो । वामपन्थी र प्रजातान्त्रिक लेखकहरूबीचको पटकपटकको छलफल भए । प्रतिभा–प्रवाहको सक्रिय सञ्चालकका हिसाबले त्यो तयारीमा जुट्ने अवसर मर्ला पनि यथेस्ट मिल्न पुगेको थियो । त्यतिबेला वाम खेमाबाट पारिजात र प्रजातान्त्रिक खेमाबाट वाशु शशीलाई प्रतिनिधि पाका स्रष्टाका रूपमा उतार्ने योजना बन्यो । उमेरका पाकाभन्दा पनि व्यक्तित्वको उचाइले नै त्यस्तो हुन पुगेको थियो ।

अन्तिम तयारी बैठक चावहिलस्थित मुरारी अर्यालको घरमा बस्यो । पारिजातलाई लिएर आउने व्यक्ति टुंगियो, पारिजात साह्रै खुशी भएको त्यहाँ सुनाइयो तर वाशु शशी धर्मराएको चर्चा त्यहाँ चल्यो । वाम खेमाले प्रजातान्त्रिक खेमालाई प्रश्न गर्‍यो, ‘के हो त वाशु शशी दाइको उपस्थितिबारे ?’ त्यसपछि कवि हरि अधिकारीले भने, ‘त्यो हाम्रो कुरा हो । बुढाले यताउति गर्न कसरी पाउँछन् ? बाशु शशीलाई लिएर आउने जिम्मा मेरो भो !’ त्यसपछि नै चैत्र ३ गते पारिजात, वाशु शशीसहितको कालोपट्टी बाँध्ने कार्यक्रम सरस्वती सदन घण्टाघरमा सम्पन्न भएको थियो । चैत्र ३ गतेको कालोपट्टी सङ्घर्षमा थुप्रै नामी लेखक अनुपस्थित भएका थिए । आएका पनि कतिपय नाकको चालले आइपुगेका थिए । तर पारिजात सहज ढङ्गले आइन्, सहज ढङ्गले गिरफ्तारी दिन तयार भइन् तथापि उनलाई प्रहरीले पक्रेर बग्गीखाना लगेन । तर आफ्नो शारीरिक समस्याका बाबजुद सङ्घर्षमा सबलाङ्गहरूसँगै सामेल भइन् । यस्तो थियो २०४६ चैत्र ३ को पारिजातको चित्र ।

७. अन्तरी पारिजात

०४६ को परिवर्तनपश्चात् पारिजातको स्वास्थ्य स्थिति अलि छिटोछिटो बिग्रन थाल्यो । पटक पटक अस्पताल भर्ना हुँदै घर फर्किंदै गर्नुपर्ने स्थिति बन्यो । त्यसै परिवेशमा एक दिन भेट्न जाँदा पारिजातले भनिन्, ‘आहुति, तपाईं सङ्ग्रह निकाल्ने होइन ? तपाईङ्को सङ्ग्रहमा भूमिका नलेखी मर्ने हुँ कि जस्तो लाग्न थाल्यो ।’ म अक्क न बक्क भएँ, सङ्ग्रह निकाल्ने कुनै ‘ख्वाब’ मैले राखिसकेको थिइन, फेरि प्रकाशक कहाँ पाउने ? ‘खोइ, सोचेकै छैन’ भन्न मैले भनें तर मभित्र डढेलो सल्किसकेको थियो । पारिजात स्वयम्ले भूमिका लेख्ने चाहना व्यक्त गर्नु मेरो लागि त्यतिबेला स्वाभाविक रूपमा ठूलो कुरा थियो । त्यसको एक हप्ता नबित्दै मैले ३७ वटा कविता छनौट गर्न हरिगोविन्द लुइँटेललाई दिएँ र २०४९ पुस ११ गते चिन्तन प्रकाशनले ‘तपस्वीका गीतहरू’ सङ्ग्रह प्रकाशित गर्‍यो ।

मेरो त्यो कविता सङ्ग्रह निस्केको केही महिनापछि पारिजात झनै सिकिस्त हुन थालिन् र वीर अस्पताल एक दर्जनभन्दा बढी लेखकको अर्धबास झैं हुन थाल्यो । उपचारको खर्च जुटाउने, विदेश लाने तयारी, नागरिकता लिन हस्ताक्षर गर्न नसकेर औंठा छाप लगाउन परेको आदि घटनानुभवहरू एकपछि अर्को अघि बढ्दै गए ।

एक साँझ कवि मातृका पोखरेलले भने, ‘पारिजात दिदीको अवस्था गम्भीर छ रे, जाउँ भेट्न ।’ म बिहानै मात्रै पनि पुगेर आएको थिएँ । म त्यतिखेर गलैंचा मजदुर आन्दोलनको एउटा मुख्य नेता थिएँ । म दिनभरि मजदुर साथीहरूसँग छलफल बहस गरेर थकित भएर आएको थिएँ । समय त्यतिबेला साँझको करीब ६ बजेको थियो, भोक ज्यास्तै लागेको । मातृका पोखरेलसँग रत्नपार्कमा भेट भएको थियो । ‘भोलि बिहान जाउँला, बरु खाजा ख्वाउनोस्,’ मैले भनें । मातृका पोखरेलको स्वभाव अहिले पनि त्यस्तै पाउँछु– नगद दिन पर्‍यो भने दाँतबाट पसिना आउने, ख्वाउन पर्‍यो भने परम्परागत जनजाति जस्तो । त्यतिबेला उनले खाजा र कोठामा भात नखुवाएको सायदै कम दिन हुन्थे । मलाई लालमोहन खुब मन पर्छ भन्ने उनलाई थाहा थियो । त्यतिबेला रत्नपार्कमा भ्याली स्वीट्स नामक चर्चित मिठाइ रेष्टुराँ थियो । रत्नपार्क र वीर अस्पताल धेरै टाढा पनि होइन । खाजा खाइसकेपछि पारिजातलाई भेट्न गएको भए पनि भइहाल्थ्यो । राति बास बस्ने ठाउँ टाढा पनि होइन । मातृकाको डेरा त्यहीं नजिकै बागबजारमा । हामी दुवै गफिंदै बागबजार गएर सुत्यौं । बिहान उठ्दा एक्कासी खबर आयो– दिदी बितिन् ! हत्तेरी, मातृकाले भनेको नमान्दा अन्तिममा मुख हेर्न पाइएन, अन्तिम क्षणमा सँगै हुन पाइएन । यो ग्लानीले मलाई धेरै पछिसम्म सताइरह्यो ।

८. जन्तरी पारिजात

पारिजातको इच्छा मुताविक नै उनको शवलाई खुलामञ्चमा राखियो । उनकै इच्छा मुताविक हरियो पहिरन र शिरमा लेनिनको तस्वीर राखियो । उनले यस्तो इच्छा किन व्यक्त गरिन् मलाई कसैले सुनाएको छैन । प्रज्ञा भवनको सट्टा खुलामञ्च त बुझ्न सकिन्थ्यो किनभने प्रज्ञा प्रतिष्ठानले विचारका आधारमा गर्दै आएको दमनको प्रतिरोध थियो । तर सिपाही रङको पहिरन र लेनिन नै किन रोजिन् ? के उनी नयाँ अक्टोबर क्रान्तिको सिपाही ठान्थिन् आफूलाई ? सायद, सायद, सायद † मैले त्यस्तै लख काटेको छु ।

खुलामञ्चमा धेरै मानिस त आएनन् तैपनि त्यतिबेला आए नै भन्नुपर्छ । त्यसपछि उनको शवलाई खुलामञ्चबाट दिउँसो स्वम्भुका निम्ति शवयात्रासहित हिंडाइयो, सरिता महर्जन, लक्ष्मी श्रेष्ठ र निर्मला गौतमले जोडै गरेर शव केहीबेर बोकी छाडे । शवयात्री स्वयम्भु पुग्दा मुस्किलले पाँच सयको हाराहारीमा थिए । पारिजातले त्यतिबेलाको नेकपा (एकताकेन्द्र)को पार्टी अभिलेख फाराम भरेकी थिइन् । अन्त्येस्टीको दिन पार्टीको आयोजनामा डा. बाबुराम भट्टराईले संयोजन गर्ने पत्रकार र स्तम्भ लेखकको भेटघाट राखिएको थियो । मैले आजलाई रोकौं भनें तर भट्टराई मान्नुभएन र उहाँले भनेको मान्नेजति भेटघाटमा गए, शवयात्रामा गएनन् । म शवयात्राभरि नै एक दिनको भेटघाट पनि पारिजातको अन्त्येस्टीको दिन स्थगन गर्न नसक्ने के तरिका होला भन्दै सोच्दै हिंडेको थिएँ ।

पारिजातको अन्त्येष्टीपछि मलामी कम भएको अनुभूति धेरैलाई भयो । त्यो रात खगेन्द्र सङ्ग्रौलाले शक्ति लम्साललाई फोन गरेर भनेछन्, ‘पारिजातको मलामी त यो गति भो तपाईङ्को मलामी कति होलान् शक्तिजी ?’ यो प्रश्नले आगो भएका शक्ति लम्सालले ‘जनादेश’ पत्रिकाको अफिसमा भन्थे, ‘मैले पनि कार्ल माक्र्सको मलामी छ जना थिए । सवाल मलामीको होइन, विचारको हो भन्दिएँ ।’

जुन पारिजात जीवनभरि भौतिकवादका पक्षमा लडिन्, मरेपछि पनि लेनिनको तस्वीर शिरमा राखेर सिपाहीको पहिरन धारण गर्ने इच्छा व्यक्त गरिन्, तिनै पारिजातको अन्त्येष्टी भने परम्परागत आध्यात्मिक ढङ्गले गरियो । जब शोकको समयमा म्हेपी पुगें, परैबाट ढ्याङ्ग्रो बजाएको आवाज आउन थाल्यो, एउटा नमिठो अनुभूतिले मेरो खुट्टा डेक चलेन र म प्राङ्गणभित्र नपसीकनै फरक्क फर्किएर आफ्नो बाटो लागें । त्यही घरमा निर्मल लामाको सन्दर्भमा पनि त्यस्तै देखेपछि पारिजातको शोकको समय मैले फेरि एकपल्ट सम्झेको थिएँ ।

९. कान्छी पारिजात

फूलहरू हिंड्दैनन तर आफूतिर मानिसलाई तान्ने अद्भुत आकर्षण हुन्छ फूलहरूमा । बच्चाहरू जति साना हुन्छन्, त्यति नै कमजोर तर बलवान् मानिसहरूलाई कजाउन सक्ने शक्ति हुन्छ बच्चाहरूमा । पारिजात हिंड्न सक्दैनथिन् तर हिंड्न सक्नेहरूलाई उनको दैलोसमम तान्न सक्ने आकर्षण थियो उनमा । यो आकर्षण उनको क्षमता र बाध्यता दुवै थियो मेरो विचारमा उनको सिर्जनशक्ति, उनको अभिभावकपन र निस्कलङ्क व्यक्तित्व नै त्यो आकर्षणको केन्द्रविन्दु थियो भन्ने म ठान्दछु ।

पारिजातको कला, क्षमता र बाध्यता जे भने पनि हुन्छ, उनले उनीसँग सङ्गत गर्ने धेरै व्यक्तिको हृदयमा एउटा यस्तो अधिरचना निर्माण गरेकी हुन्थिन् कि व्यक्तिहरूलाई लाग्थ्यो, म नै पारिजातसँग अरुभन्दा नजिक छु । पारिजातसँग जोडिएको मलाई अचम्म लाग्ने मुख्य आयाम यही नै हो । पारिजातको बारेमा लेखिएका त्यतिबेलाका संस्मरणहरूमा धेरैजसो लेखकले आफूलाई त्यही रूपमा प्रस्तुत गर्ने चेष्टा गरेको असरल्ल देखिन्छ । तर धेरैजसो संस्मरणहरू पढ्दै जाँदा सुकन्याबाहेक परिवारबाहिरको व्यक्ति एकजनालाई उनले आफ्ना सर्वाधिक गोप्य कुरा खोलेकी रहिछन् – ती हुन् कवि डा. महेश मास्के – त्यो पनि पत्राचारमार्फत् ।


डा. महेश मास्के त्यतिबेलाका सरदर कवि थिए तर माक्र्सवादी चिन्तनमा गम्भीर युवा चिन्तक भइसकेका थिए । उनले पत्रमार्फत् ती गम्भीर गोप्य समेत किन डा. महेशलाई पठाइन् होला ? सहज अनुमान गर्न सकिन्छ कि ती विषयहरू पत्रमार्फत् जीवित रहुन् भन्ने उनी चाहन्थिन् । पारिजातले विल्कुल सही मान्छे छानेको मलाई लाग्दछ । किनकी त्यो मान्छे विश्वासिलो, अलिकति कपटी पनि र विद्वान् समेत हुन जरूरी थियो र आफूभन्दा सामान्यतया पछि मर्ने उमेरको हुनु जरूरी थियो । यसरी म के पाउँछु भने पारिजात मृत्युपछि पनि आफ्नो स्याहार ठीक ढङ्गले गर्न सक्ने मान्छे खोज्ने दूरदर्शी चिन्तक थिइन् तर दुर्भाग्य मलाई लाग्द हामीले उनको स्याहार राम्ररी गर्न सकिरहेका छैनौं । गर्नुपर्छ भन्ने विचार एकान्तमा कहिलेकाहीं मेरो मनमा आउन छोडेको पनि छैन । हरेक वर्ष पारिजात स्मृति केन्द्रले पुरस्कार वितरण कार्यक्रम गर्छ– म कार्यक्रममा गएको छैन किनभने त्यो समारोह उनलाई स्वर्ग पठाउन लामाले बजाएको ढ्याङ्ग्रोको स्वर जस्तै लाग्छ ।

————–
२०७१ कात्तिक २३

————–
(दीपक सापकोटा सम्पादित पाण्डुलिपि साहित्यिक मासिक वर्ष १, अंक ७, २०७१ कात्तिक-मंसिरबाट)

http://www.kathmandutoday.com बाट साभार

Saturday, May 13, 2017

स्थानीय तह निर्वाचनबारे के भन्छन् यी लेखक ? - आस्था केसी




बैशाख ३०, २०७४ काठमाडौँ : 
बैशाख ३१ गते तोकिएको पहिलो चरणको निर्वाचन आउन अब १५ घन्टा मात्र बाँकी छ। चुनाव होला कि नहोला भनेर अनेक आँकलन गरिए पनि अन्ततः पहिलो चरणको निर्वाचन संघारमै आइपुगेको छ। आइतबार हुन लागेको स्थानीय तहको चुनावलाई कसरी हेर्नुभएको छ? भनेर थाहाखबरले केही लेखकलाई सोधेको थियो। पढौँ, उनीहरूको जवाफ उनीहरूकै शब्दमा: 

शारदा शर्मा : उपन्यासकार 
प्रजातन्त्र र लोकतन्त्रको लागि निर्वाचन जहिले पनि महत्त्वपूर्ण हुन्छ। निर्वाचन आफूले चाहेका गरेका प्रतिनिधि चुन्ने एउटा अवसर हो। यो बीस वर्ष निकै लामो अवधि हो। स्थानीय सरकारको अभावमा धेरै किसिमका समस्या पैदा भएका थिए। अहिले हुन लागेको स्थानीय तह निर्वाचनका लागि निकै उत्साहको वातावरण देखिरहेकी छु। स्थानीय तहको निर्वाचन हुने कुराले स्थानीय सरकार निर्माणको लागि माहोल तताउने काम गरेको छ। 

अहिले विकल्पहरू पनि नयाँनयाँ आएका छन्। नयाँ पार्टीहरूले नयाँनयाँ उम्मेदवार अगाडि सारेका छन्। पुराना पार्टीले आआफ्ना उम्मेदवार अगाडि सारेका छन्। जनताको लागि प्रशस्त विकल्प छन्। यो बेलामा निर्वाचनमा कस्तो व्यक्ति छान्ने भनेर निकै बहस पनि भएको छ। विकासमा पनि निकै ठूलो बहस भएको मैले सुनिराखेकी छु। उम्मेदवार छान्दा त्यो कस्तो पृष्ठभूमिको मान्छे हो, उसले के गर्न सक्छ, के गर्न सक्दैन भनेर पनि मानिसहरूमा छलफल हुने गरेको देख्छु। 

सबैका कुरा सुनेर जनताले योग्य र राम्रो उम्मेदवारलाई जिताउनेछन् भन्ने मलाई लागेको छ। हामीकहाँ संविधान त बन्यो तर कार्यान्वयन हुन सकिरहेको थिएन। स्थानीय तहको निर्वाचनपछि बन्ने स्थानीय सरकारले संविधान कार्यान्वयनलाई अगाडि बढाउनेछ भन्ने मलाई लागेको छ। म यसमा निकै खुसी छु। 

मतदाताहरू अहिले धेरै सचेत भइसकेका छन्। आफूले विगतमा भोट दिएर जिताएका उम्मेदवारहरूले कति काम गर्नसके, जनताका कति अपेक्षाहरू पूरा भए कति हुन सकेनन्? यो कुराको मूल्यांकन गरेर जनताले योग्य उम्मेदवार छान्नेछन् भन्ने कुरामा मलाई विश्वास छ। 

 मातृका पोखरेल : अध्यक्ष, प्रगतिशील लेखक संघ 

मानिसहरूले भन्ने गरेजस्तो यो चुनाव २० वर्षपछि हुन लागेको स्थानीय निकायको चुनाव होइन। यो त पहिलो पटक हुन लागेको राज्यको पुनर्संरचनासहितको स्थानीय तहको चुनाव हो। अहिले हामी नितान्त नयाँ प्रकारको राज्य सञ्चालन प्रणालीमा छौँ। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता ठूला परिवर्तन देशमा आइसकेका छन्। पहिलेको स्थानीय निकायको भौगोलिक इलाकाभन्दा फरक ढंगले भूगोलको संरचना बनाइएको छ। त्यसकारण अहिले हुन लागेको निर्वाचन नेपालको इतिहासमा पहिलो निर्वाचन हो। अहिले हामी परिवर्तनको नयाँ लहरमा प्रवेश गरेका छौँ। यो परिवर्तनलाई स्वीकार गर्ने खालको नेतृत्व आउँछ कि अस्वीकार गर्ने खालको नेतृत्व आउँछ भन्ने कुरो सबैभन्दा महत्त्वपूर्ण र चिन्ताको विषय हो।

हामी परिवर्तनलाई संस्थागत गर्ने चरणमा छौँ तर निर्वाचनपछि आउने नेतृत्वले परिवर्तनलाई स्वीकार नै गरेन भने सबैभन्दा बढी चिन्ताको विषय यहीँनेर हुनेछ। अहिलेको चुनावबाट परिवर्तनको विरोधी शक्ति आउने, परिवर्तनभन्दा पर रहेको शक्ति आउने भयो भने यो निर्वाचनलाई सफल निर्वाचन मान्न सकिँदैन। यो मुलुकको व्यवस्था परिवर्तनका लागि जसले जिउ ज्यानको बाजी थापेर आन्दोलनको नेतृत्व गरेको छ, जसले परिवर्तनलाई काँध थापेर ल्याएको छ, उही शक्तिले जित्यो भने मात्र परिवर्तनको संस्थागत विकास हुनसक्नेछ। 

मलाई चिन्ता लागेको अर्को कुरा, युवाहरूमाझ राजनीतिक परिवर्तनको सन्देश पुर्‍याउन सकिएको छैन। आन्दोलनबाट आएको नेतृत्वले स्थानीय सरकारको जिम्मेवारी पायो भने मात्र हामीले बनाउन खोजेको नयाँ नेपाल एउटा बाटोमा जानेछ। अन्यथा परिवर्तन संकटमा पर्नेछ। जनता पहिलेभन्दा निकै सचेत भएका छन्। उनीहरूले सही नेतृत्व चुन्नेछन् भन्ने मलाई लागेको छ। 

 श्यामल : कवि तथा लेखक 

हामीले लोकतन्त्रलाई राजनीतिक व्यवस्थाको रूपमा स्वीकार गरेको र नेपाली जनताले संघर्ष गरेर ल्याएको ०४६ सालपछिको आन्दोलनलाई हामीले एक पटक स्मरण गर्नु जरुरी छ। त्यसयता पनि धेरै आन्दोलन भएका छन्। ती आन्दोलनबाट आएका परिवर्तनलाई नेपाली जनताले आत्मसात गरेका छन्। 

नेपालका राजनीतिक दलहरूले यो आन्दोलनबाट प्राप्त उपलब्धिलाई महत्त्वपूर्ण ठानिरहेको जस्तो, आत्मसात गरेको जस्तो मलाई लाग्दैन। तर नेपाली जनताले यो कुरालाई निकै गहिरोसँग आत्मसात गरेका छन्। 

आफ्नो सरकार आफैँ बनाउने, आफ्नो शासन आफैँले गर्नेजस्तो चेतना नेपाली जनताले पाएका छन्। त्यसैले यो पटकको स्थानीय चुनावलाई जनताले एउटा पर्वकै रूपमा लिएका छन्। दुई चरणमा गर्नुपर्ने केही प्राविधिक बाध्यता छन्। केही राजनीतिक असजिलाहरू छन्। तैपनि जनसमुदायमा प्रशन्नता छाएको छ। एउटा खालको तरंग आएको छ। 

२० वर्षपछि उनीहरूले आफ्ना इच्छा आकांक्षाहरू प्रतिनिधिमार्फत् प्रकट गर्ने माध्यम पाएका छन्। आमचुनाववाट माथि गएकाहरू माथिल्लो तहकै भए। यसले जनताको स्तरमा खासै प्रभाव पार्न सकेन। जनताले पहिलो पटक आफ्नो लागि शासन गर्ने प्रतिनिधि चुन्दै छन्। त्यसैले यो चुनाव एउटा पर्व जस्तै भएको छ। 

विकास अवरुद्ध भएको थियो। दलीय भागवण्डा भनेको छ। यो सहमति गरौँ भनेको छ। फेरि एकातिर कुरो मिलाउँदा अर्कोतिर कुरो बिग्रँदै गएको छ। सर्वसम्मति भनेको छ। यसो गर्दाखेरी जनताको विकासको प्रक्रिया रोकिएको थियो। तर अब जुन पार्टीको उम्मेदवारले जिते पनि जनताको प्रतिनिधिको रूपमा काम गर्नेछन्। जनताको काम सजिलोसँग हुनेछ। त्यसैले यो चुनावमा म निकै आशावादी छु। उत्साहित छु। 

आस्था केसी / थाहा संवाददाता 
केसी राजनीति र सामाजिक क्षेत्रमा कलम चलाउँछिन्।

http://thahakhabar.com बाट साभार 

प्रगतिवादी साहित्यका धरोहर - शशी लुमुम्बू






वैशाख ३०, २०७४- अन्तत: प्रगतिवादी साहित्य जगत्का एक गौरवशाली धरोहर श्यामप्रसाद हामीमाझ रहेनन् । २०७४ वैशाख २४ गते आइतबार बिहान सबेरै उनी सदाका लागि यस दुनियाँबाट टाढा भए । उनको भौतिक शरीर अनन्तमा विलिन भयो । हो, अब यस जुनीमा उनलाई सशरीर कहीँ कतै देखिने छैन । तर दर्जनौँ सार्थक कृतिले हामीलाई उनी यसै जगत्मा भइरहेको सुखद आभास दिइरहनेछन् ।

श्यामप्रसाद सरल जीवन र उच्च विचारका एक उदाहरण थिए । अमर उज्यालोका खातिर अँध्यारो विरुद्ध निरन्तर कलम चलाइरहने एक अथक स्वप्नजीवी र साहसी कलमयोद्धा थिए । उनी साहित्यमा जस्तो लेख्थे व्यवहारमा पनि त्यस्तै अनुशरण गर्ने प्रयत्न गर्थे । अर्थात् उनी एक आदर्श र व्यवहारवादी स्रष्टा थिए । उनले लेखेका दर्जनौँ कृति यसका प्रमाण हुन्, उनले बाँचेका समग्र समय र उनी हिँडेका अनेक गोरेटा यसका दसी हुन् ।

श्यामप्रसादले जीवनभर सामाजिक उत्पीडन, शोषण, कुरीति, रुढिवादी र अन्धविश्वासका घना जङ्गलहरू फाँडेर समानताको उज्यालो जन्माउन निरन्तर सशक्त ढङ्गले कलम चलाए । राष्ट्र, समाज र मानवता नै उनका लेखनका मूल विषय हुन्थे । मानव जीवनलाई कसरी सार्थक बनाउन सकिन्छ ? उनको लेखनीको ध्येय यही नै हुने गथ्र्याे । माक्र्सवादी दर्शनलाई आत्मसात गर्दै जीवन तथा समाज उपयोगी साहित्य सिर्जनामा तल्लिन श्यामप्रसाद केही वर्षदेखि अल्जाइमर रोगबाट पीडित थिए । आखिर ८८ वर्षको उमेरमा उनी त्यसैको सिकार भए ।

प्रगतिवादी साहित्यका धरोहर यी श्यामप्रसादको जन्म मकवानपुरको मन्थलीमा पर्ने सोलीथुममा १९८६ असार ६ गते बुधबार भएको थियो । हुतकुमारीदेवी र जोगनाथ लामिछानेका एक्लो सन्तान थिए, उनी । उनी पाँच वर्ष छँदै उनकी आमाले सदाका लागि आँखा चिम्लेकी थिइन् । त्यसपछि जेठीआमाले उनको लालनपालन र स्याहारसुसार गरेकी थिइन् ।

छ वर्षमा उनी बुबासँगै वीरगन्ज पुगे । उनका बुबा वीरगन्जको श्रीपुरमा बहादुरशमशेर राणाको खेतीपाती रेखदेख गर्ने जागिरे थिए । श्यामप्रसादको बाँकी जीवन वीरगन्जमै बित्न थाल्यो ।

श्यामप्रसाद तेह्र वर्षमा बुबाविहीन बन्न पुगे । घरमा कमाउने मूल मान्छे नै नरहेपछि पारिवारिक जीविका चलाउन उनकी जेठीआमालाई निकै ठूलो सकस पर्न गयो । तथापि जीवनरूपी डुङ्गालाई बाँकी यात्रामा डोर्‍याउनु त छँदै थियो । आमा–छोराले मिलेर वीरगन्जमा सेवा सदन नामक पुस्तक तथा पत्रपत्रिका पसल चलाउन थाले । श्यामप्रसाद आमालाई पसलमा सघाउँदै त्रिजुद्ध हाइस्कुल पढ्थे ।

१९९७ सालको सहिद काण्डबारे थाहा पाएपछि राजनीतिप्रति उनको कौतुहलता जाग्यो । २००४ सालको राणाशाही विरोधी सत्याग्रह आन्दोलनमा त उनी सहभागी नै भए । त्यही क्रममा प्रहरीद्वारा पक्राउ परी वीरगन्ज जेलमा थुनिएका बेला उनको सोही जेलका बन्दी युद्धप्रसाद मिश्रसँग चिनजानका साथै सङ्गत हुनपुग्यो । मिश्रको सङ्गतले उनको अभिरूचि लेखन तथा प्रकाशनतिर बढ्न गयो । फलस्वरूप उनले वीरगन्जबाटै एउटा साहित्यिक पत्रिका निकाल्न थाले । उनको सम्पादन तथा प्रकाशनमा निस्केको पत्रिका राजधानी उपत्यका बाहिर (मोफसल) बाट निस्किने पहिलो पत्रिका बन्न पुग्यो ।

प्रजातन्त्र प्राप्तिका लागि निरङ्कुश शासन व्यवस्था विरुद्ध देशमा नेपाली कांग्रेसले सत्याग्रह आन्दोलनको अगुवाइ गरिरहेको थियो । भारतको रक्सौलतिर निर्वासित रहेका कांग्रेस नेताहरूसँगको सङ्गतका कारण श्यामप्रसादको राजनीतिक चेतना फराकिलो बन्दै गयो । २००४ देखि ००७ सालसम्मको अवधिमा श्यामप्रसाद धेरैपटक प्रहरीद्वारा समातिँदै छाडिँदै गरिए । श्यामप्रसादले जेलभित्रै रहँदा पनि साहित्य सिर्जना, पत्रकारिताका अलावा सङ्गठनको कार्यलाई निरन्तरता दिइरहे । अनेक प्रतिकूल परिस्थितिका बाबजुद पनि उनले आफूलाई अविचलित राखिरहे । अझ जुझारु बनाइरहे ।

उनी देश, जनता र समाज रूपान्तरणका लागि राजनीति अपरिहार्य रहेछ भन्ने मनन गरेर राजनीतिमा पुरै होमिएका थिए । २००९ सालमा वीरगन्जमै उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरे । श्यामप्रसाद कामचाहिँ पार्टीको गर्थे, तर बाहिर भने पत्रकारका रूपमा प्रकट हुन्थे । २००९ सालमा उनकै अध्यक्षतामा प्रगतिशील लेखक सङ्घ स्थापना भएको थियो । त्यही सङ्घ अहिले नेपाली प्रगतिशील आन्दोलनको साझा मोर्चा बन्न पुगेको छ । यसबाट उनमा दीर्घकालीन सोचाइ र चिन्तन रहेको बुझ्न सकिन्छ । २०५० सालमा उनी पुन: सङ्घको अध्यक्ष चयन गरिए ।


देशमा प्रजातन्त्रको बहाली र पञ्चायती निरङ्कुश व्यवस्था अन्त्यका खातिर जनचेतना छर्दै जनजागरण गर्ने आन्दोलनमा लागेका उनले दुई बीसभन्दा बढी वर्ष भूमिगत जीवन बिताउनुपर्‍यो । २०४७ सालमा भूमिगत जीवनबाट सार्वजनिक जीवनमा फर्किएका श्यामप्रसादको शशीकलासँग प्रगतिशील प्रेमविवाह भएको थियो । तर उनको वैवाहिक जीवन लामो समय टिक्न सकेन । दुई छोरीका बुबा उनी जीवनभरि साहित्यिक, सांस्कृतिक एवं सामाजिक आन्दोलनमा लागिरहे ।

थुप्रै पुरस्कार र मानसम्मानद्वारा पुरस्कृत एवं सम्मानित भएका उनलाई प्रगतिवादी नेपाली साहित्य, संस्कृति र पत्रकारिताका क्षेत्रमा गरेको योगदान कदरस्वरूप एक वर्षअघि राजधानीमा भव्य अभिनन्दन गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्यसमेत रहेका उनलाई सो सम्मान अर्पण गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘श्यामप्रसाद आदर्श, सिद्धान्त र निष्ठाका एक स्तम्भ हुन् । प्रगतिवादी साहित्यिक फाँटका गौरवशाली धरोहर हुन् ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती भन्छन्, ‘श्यामप्रसाद नेपाली साहित्यका शीर्षस्थ स्रष्टा र प्रगतिशील लेखनका जनक हुनुहुन्छ । उहाँको निधनले प्रगतिशील साहित्यका क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।’

२०३८ सालमा पहिलो कृति ‘थुनुवाको डायरी’ प्रकाशन गरेका उनका ‘मेरा डायरीका पाना’ ६ भागसमम्म प्रकाशित छन् । यसैगरी उनका ‘लेखक कसरी बन्ने ?’ ‘तँ, तिमी, तपाईं, हजुर’, ‘संकृति सम्बन्धी दुई–चार कुरा’, ‘साहित्यका पात्रपात्रीहरू’, ‘जीवित साहित्यकारप्रति हाम्रो कर्तव्य’, ‘साहित्यमा सापेक्षता’, ‘साहित्यिक फाँटका मेरा केही धारणा’ र ‘मेरा समालोचना’जस्ता उनका निबन्ध, कथा, संस्मरण, विचार, समीक्षा लगायतका विधाका १ सय १२ कृति प्रकाशित छन् ।

‘साहित्य लोकहितका लागि हुनुपर्छ र त्यसमा प्रगतिवादी चिन्तन एवं चेतना हुनुपर्छ, यसो हुनसक्यो भने मानवजातिले छिटो प्रगति गर्न सक्छ’ भन्ने श्यामप्रसाद जनवादी संस्कृति, मानवतावादी चिन्तन र प्रगतिवादी साहित्यका एक धरोहर हुन् । प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेलले भनेजस्तै ‘प्रगतिशील साहित्यका मजबुत पाठशाला’ हुन्, श्यामप्रसाद । जसको भौतिक शरीर सधैंका लागि ढलेको छ, तर उनले ठड्याएको वैचारिक निष्ठा र सिद्धान्तको धरोहर भने कहिल्यै नडगमगाउनेगरी अटल उभिइरहनेछ, युगौंयुगसम्म ।

लुमुम्बू प्राज्ञ परिषद् सदस्य हुन् ।

http://kantipur.ekantipur.com बाट साभार