समय गतिशील छ, हिँडिरहन्छ । एउटा जनपक्षीय कवि त्यही समयको उकालीओराली
भन्ज्याङमा दुःख, पीडा, आँसु, अँध्यारो, उज्यालोबाट संवेदित हुँदै
विसङ्गति, निरङ्कुशता, उत्पीडन अमानवीयताको विरोध, स्वतन्त्रता र उज्यालोको
पक्षमा शब्दको सशस्त्र युद्ध गर्दै सुन्दर भविष्यको सपना कोर्छ र त्यही
स्वप्न संसार प्राप्तिको लागि चेतना फैलाउन अक्षरको खेती गर्छ कुशल शिल्पी
बनेर । ऊ संसारको उच–नीचतालाई सम्याउन चाहन्छ, विकृति पुरानो जर्जरसमाज
परिवर्तन गरेर नवीन स्वतन्त्र र उन्नत बनाउन कर्मशील रहन्छ । समयलाई
आत्मसात् गर्दै त्यसको नेतृत्व गर्ने कविले समयलाई नवीनतामा उझिल्याउने
सामथ्र्य पनि राख्दछ ।
त्यही आफूले यात्रा गरिरहेको समयलाई नजिकैबाट नियाल्दै, छाम्दै, आफै
भङ्गालोमा खस्तै र उत्रिँदै, संवेदित हुँदै देखे भोगेका विद्रुष, विसङ्गत
घटनाक्रम, निरङ्कुशता, भ्रष्ट शासकप्रति विरोध व्यङ्ग्यबाज र विद्रोह, रगत
पोखेका सहिद, अन्यायमा परेर मर्ने–मारिने निर्दोष जनताप्रति आवेगपूर्ण
सम्झना, सम्मान र सहानुभूति, गरिब उत्पीडित वर्गप्रतिको पक्षधरता र
अधिकारको लागि विद्रोह गर्न आग्रह र सुन्दर भविष्य वा सुन्दर भोलिको उत्कट
चाहना बोकेर शिखर यात्रामा कर्मशील एक सशक्त कवि हुन्– मातृका पोखरेल ।
यहाँ उनैको तेस्रो कवितासङ्ग्रह “अनुहारहरू”को सामान्य चर्चा गर्न खोजिएको छ
। खास गरेर मातृकाका कविताका विषयवस्तुको केन्द्र पनि यिनै माथि उल्लिखित
विषयवस्तु रहेका छन् । विगत लामो समयदेखि नेपाल द्वन्द्वयुक्त, उथलपुथलकारी
पीडादायी, अव्यवस्थित र अन्योलपूर्ण भूमरीमा फसिरह्यो । त्यही अप्ठ्यारो
समय र जनजीवनको एउटा अग्रगामी चेतनायुक्त कविभित्र परेका अनुभूतिको कलात्मक
अभिव्यक्ति र त्यस समयको घटना परिस्थितिको साक्षी वा समयको दस्तावेज हो,
मातृकाको यो कवितासङ्ग्रह ‘अनुहारहरू’ । यहाँ समेटिएका कविता लेखनको समय
२०६१–६३ रहेको छ । जुन नेपालको इतिहासमा एउटा छुट्टै परिचय बोकेको पीडादायी
रह्यो । त्यही समयको राजनीतिक सामाजिक परिदृष्य र जनजीवनको स्पष्ट अनुहार
वा शब्दचित्र देख्न पाइन्छ यहाँ ।
कवि मातृका पोखरेल प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलनका एक क्रियाशील
वर्गसचेत वैचारिक रूपमा परिपक्व, विचारलाई कलात्मक, बिम्बात्मक अभिव्यक्ति
दिएर सुन्दर भोलिको निर्माणमा निरन्तर सङ्घर्षशील एक क्रान्तिकारी कवि
योद्धा हुन् भन्ने कुरा उनको साहित्यिक उपस्थितिले पुष्टि गर्छ । शब्द र
कर्मलाई जोडेमात्र सिर्जनात्मक आदर्श र श्रष्टाको नागरिक दायित्व पूरा
हुन्छ भन्ने चेतना भएका कवि हुनाले दुवै किसिमले मैदानमै छन् । तीनवटा
पुस्तकाकार कविताकृति प्रकाशित गरिसकेका हुनाले उनको मूलविधा कविता नै
देखिन्छ । तर उनी राम्रो पहिचान बनाइसकेका कथाकार पनि हुन् । उनका
कविताकृतिहरू – “सेतो दरबारको छेउबाट” (२०५६), “यात्राको एउटा दृश्य”
(२०६१), अनुहारहरू (२०६४) हुन् भने सन्त्रस्त आँखाहरू (२०६१) कथाकृति हुन् ।
यसबाहेक समीक्षात्मक र अन्य लेखहरू पनि प्रकाशित छन् । जीवन र समयको
अभिव्यक्ति नआएका कविताहरूमा मेरो कुनै रूचि छैन’ भन्ने र ‘देशले भोगिरहेको
संवेदनाबाट शब्द सापटी लिएर कविता लेख्न रूचाउने समयचेत भएका निरन्तर
क्रियाशील कवि हुन् उनी । उनको यो भनाइको सार्थकता असरल्लै पोखिएको छ
कविताभरि ।
कवितासङ्ग्रहको सुरूमा नै कवि वर्तमानको आवश्यकता एउटा सबल नेतृत्वको कामना
गर्दै इच्छित भावना सटिक रूपमा पोखिएको छोटो मीठो सरल कवितामार्फत यसो
भन्छन् –
म तयार छु
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग आँखा हुनुपर्छ
म साँच्चै तयार छु
उनीहरूको पछि लाग्न
तर उनीहरूसँग
शिखर चढ्न तयार
सबल खुट्टा हुनुपर्छ
म वर्षौंदेखि खोजिरहेछु
अघि हिँड्ने मानिसहरूका
झर्झराउँदा आँखाहरू
र सबल खुट्टाहरू । (सर्त)
गएका केही वर्ष देश अन्योलग्रस्त अवस्थामा भूमरी र भङ्गालामा फसिरह्यो ।
वर्तमान नेतृत्वले देशलाई उपयुक्त निकास दिएर हाँक्न असफल रह्यो । यस्तो
अवस्थाबाट देश र जनतालाई मुक्ति दिन देशमा एउटा दूरदृष्टि सम्पन्न दह्रा
खुट्टा र अदम्य आँट भएको महानायक वा सबल नेतृत्वको आवश्यकता महसुस गरी
त्यस्तो नेतृत्वको खोजी गरिरहेछन् । यदि त्यस्तो अगुवा पाए त्यसैको पछि
लागि काँधमा काँध थापेर सुदूर यात्रा गर्न तयार छन्, सङ्कल्परत छन् कवि ।
यो समयको आवश्यकताले जन्माएका कविको भित्री चाहना हो ।
समयको उपज पनि होला यस सङ्ग्रहका कविताहरू पढ्दा कविताका विषयवस्तुको फाँट
धेरै फैलिएको जस्तो लाग्दैन । केही विषयबाट उनी बढी संवदित छन् । जुन
विषयबाट बढी संवेदित भएर धेरै सङ्ख्यामा कविताहरू लेखिएका छन्, त्यही
विषयका कवितामा बढी सफल पनि छन् । मुख्यतः निम्न विषयहरू समेटिएको पाइन्छ ।
– निरङ्कुश राजा र सत्ताप्रति लक्ष्य गरेर लेखिएका कविता ।
वर्तमान समय र त्यही समाजका विकृति–विसङ्गति, विद्रुपताहरूको अनावरण
गर्दै, निरङ्कुश, भ्रष्ट अन्धा शासकहरूप्रति व्यङ्ग्य, विरोध र
विद्रोहपूर्ण रोष प्रकट गर्दै लेखिएका यो कोटीका कविताहरू तुलनात्मक रूपमा
बढी अप्रत्यक्ष, कलात्मक बिम्बात्मक उपयुक्त शब्द चयन गरी मेहनत साथ सुन्दर
अभिव्यक्ति दिएका राम्रा कविता हुन् । यी कविता बुझ्नका लागि वर्तमान समय र
घटनाक्रमलाई पनि ध्यानमा राखेर राम्रो सोच, विचार र बौद्धिकताको पनि उपयोग
गर्नुपर्छ ।
नयाँ शताब्दीको थोत्रो मान्छे, उनीहरूले सोचेका भए, टोप आतङ्क, अनुहारहरू,
सबै कुरा साँचो हुनेछ, सिंहदरबार, टुकुचा, म खोजिरहेछु अर्को अमलेखगञ्ज आदि
कविताहरू यसै कित्तामा पर्छन् ।
अनुहारहरू कवितामा कविको स्पष्ट वर्गीय सौन्दर्य दृष्टिकोण झल्किएको छ ।
उनी पुरानो सामन्तवादी व्याख्याको सुन्दरतालाई कुरूप मान्छन् र घृणा गर्छन्
भने रिठे सार्कीजस्ता श्रमिकको गन्हाएको शरीर र खस्रो अनुहारलाई सुन्दर
देख्छन् र माया गर्छन् । हेरौँ उनको आफ्नै शब्द–
उसको घरमा
कहिल्यै लगाउँदैन माकुरोले जाल,
जुत्तामा टाँसिएर पुग्दैन कहिल्यै पनि
हिलोमाटो र गोबर
सयन कक्षको सँघारमा
थरी थरीका अत्तरहरू छरेर
सुगन्धित छ वातावरण
तर म
संसारका अनुहारहरूमध्ये
सबैभन्दा बढी उसैलाई घृणा गर्छु ।
… … …
दलानको छेवैमा दुर्गन्धित छ जुठेल्नो
भर्खर कामबाट फर्केको
गन्हाइरहेको छ शरीर
तर म
संसारका अनुहारहरूमध्ये
सबैभन्दा बढी उसैलाई माया गर्छु । (अनुहारहरू)
सुन्दर देख्ने विचारको आँखा हो । धन सम्पत्तिले सम्पन्न आफ्ना
कुकुरहरूलाई समेत रेशमी कपडा लगाइदिन सक्ने, निधारभरि चन्दन लेपेर आरामदायी
सुगन्धित शैयामा बस्ने, अनुहारलाई घृणा गर्ने र पसिना गन्हाइरहेको शरीर र
अनुहारलाई सबैभन्दा माया गर्ने धारणा कविको उत्पीडित वर्गप्रतिको पक्षधरता र
सौन्दर्य दृष्टिको नमुना हो । कलात्मक बिम्बात्मक अभिव्यक्तिमा निरङ्कुश
शासकको चरित्र उजागर गर्न सक्षम छ यो कविता । ‘नयाँ शताब्दीको थोत्रो
मान्छे’ कविताको त्यो थोत्रो मान्छेलाई पनि उनी त्यसरी नै घृणा गर्छन् ।
त्यो थोत्रो मान्छे वा निरङ्कुश राजा, जनताले सुन्दर नेपालको सपना
कोरिरहेको बेला देशले परिवर्तन चाहिरहेको बेला थोत्रा निरङ्कुश बुटले
कुल्चेर आफ्नो आदेश बमोजिम बगिरहेको समयलाई पनि रोक्न–छेक्न चाहन्छ ।
सत्तालिप्सामा डुबेर संवेदनाहीन भएको उसमा भोकको पीडा खप्न नसकी तीन
वर्षीया छोरीसहित आत्महत्या गर्ने शिवो महतोको घटनाले छुँदैन, घोच्दैन ।
यस्ता क्रुर शासकको मलामी बन्न आतुर छन् कवि । अहिले त त्यसको मलामी पनि
भइसकेका छन् तर त्यो प्रवृत्ति र त्यस प्रवृत्तिका मान्छेको मलामी बन्न
बाँकी नै छ । यही प्रकृतिको उसैलाई लक्ष्य गरिएको कविता ‘उनीहरूले सोचेका
भए’ मा सदियौँदेखि अतिरिक्त बोझ गलगाँड भिरेर अझै पनि उसैलाई माला
पहि¥याइदिएर दिनदिनै कुकुरतिहार मनाउन परिरहेकोमा दुःख व्यक्त गर्दै हाम्रो
पुस्ताले पनि यसैलाई निरन्तरता दिए भावी सन्तानहरूप्रति पनि ठूलो अपराध
हुने कुरा महसुस गर्दै आफ्नै पसिनाले आवाद बस्दीमा शरणार्थी भई बाँचेर
वर्षैभरि कुकुरतिहार मनाउने काम नगर्ने स्पष्ट उद्घोष गरेका छन् कविले ।
‘सबै कुरा साँचो हुनेछ’ पढ्दा फुकोको भनाई ‘एयधभच ष्ल तचगतज’ वा ‘शक्ति नै
सत्य हो’ भन्ने सिद्धान्त सम्झाउँछ । सत्य होस् नहोस् शक्तिले सत्य हो भनी
प्रमाणित गरेको कुरा अरू सबैले त्यही सत्य स्वीकार्न बाध्य हुनुपर्दछ ।
निरङ्कुश राजतन्त्र वा सामन्तवादको नायिके राजा रहँदासम्म पण्डितहरूले
टुकुचाको पानी सुद्धजल सिद्ध गर्न बहस छेडिरहे, मृतमान्छेलाई अस्पतालमा
राखेर जिउँदो भएको सन्देश बाहिर पठाइरहे डाक्टरहरू– दीपेन्द्र शाहलाई ।
जस्तै : कवि भन्छन् –
यस्तो त्यो बेलासम्म हुनेछ
जबसम्म देखिनेछ
हाम्रो आँखाको पर्दामा
कात्रोजस्तो पहेँलो रङ्ग,
हो त्यतिबेलासम्म
सबै कुरा साँचो हुनेछ । (सबै कुरा साँचो हुनेछ)
निरङ्कुश राजतन्त्र रहँदासम्म फोहोरलाई सफा, कालोलाई सेतो र मृतलाई
जिउँदो भन्न बाध्य हुनुपर्ने विडम्बना सुन्दर शब्द शिल्प, भाव र विचारको
कुशल संयोजन गरेर प्रभावकारी ढङ्गले पाठकसामु सम्प्रेषण गर्न सफल छन् कवि ।
राजा नरहे पनि सामन्ती प्रवृत्ति कायमै छ अझै । त्यसरी नै सत्ता र
सत्ताकेन्द्र प्रति सशङ्कित हुँदै र व्यङ्ग्य गर्दै अनास्थाका
अभिव्यक्तिहरू पाइन्छन् केही कविताहरूमा ।
सिंहदरबार जनताका प्रतिनिधि गएर नियम, कानुन बनाइ देशको भावी गोरेटो तय
गर्ने, देश र जनताको आदेश अनुसार उनैको हितमा काम गर्ने एउटा आशाको केन्द्र
हो । तर विडम्बना त्यो जनताको आशाको केन्द्र जनतालाई सपनाहरू कुल्चिँदै
स्वार्थी बगरे खेलमा डुब्दै आफ्नै हितमा काम गर्ने थलो बनिरहेछ । कविको
अनुसार यो चटके हो रङ्ग बदल्छ, अनुहार बदल्छ । साँच्चै एउटा अनुहार लिएर
पसेको मान्छे अर्कै अनुहार लिएर फर्कन्छ । नुन बोक्ने ढाकर दिएर पठाएको
नाइके ढाकरभरि सुन बोकेर निस्किन्छ र छेवैमा डेरा जमाउँछ । जिल्लाराम
पर्छन् प्रतिनिधि पठाएका गाउँ–बस्तीहरू । यो इतिहासदेखि प्रमाणित हुँदै
आएको कटुसत्य हो । त्यसैले अहिले सहिदका केसको बक्खु ओढेर सहिदका लाशमाथि
टेक्दै सिंहदरबारभित्र पस्न सफल भएकाहरू पनि त्यसरी नै फर्किने हुन् कि भनी
सन्त्रस्त आँखाले गेटैतिर हेरिरहेका छन् कवि । यहाँ कविले सम्पूर्ण
देशवासीको मनको कुरा सुन्दर शिष्ट भाषामा बोलिदिएर एउटा अग्रगामी
चेतनायुक्त नागरिक कविको कर्म पूरा गरेका छन् । हेरौँ शब्दचित्र –
मलाई, सिंहदरबार र जादुगर
उस्तै उस्तै लाग्छ
सहिदको केसबाट बनेको
एउटा बक्खु ओढेर
उनीहरू सिंहदरबार पसे
यतिबेला म, त्रस्त आँखाले
सिंहदरबारको गेटमा हेरिरहेछु
हिजोझैँ
उनीहरू फर्कंदा
ब्वाँसोको छाला ओड्छन् कि ओड्दैनन् ? (सिंहदरबार)
सिंहदरबारको यो परिचय इतिहासदेखि वर्तमानसम्म कत्ति पनि फेरिएको छैन ।
षड्यन्त्रका तानाबाना बुन्दै घातक बाण चलाएर जनताका सपनाको हत्या गर्ने,
मान्छेको किनबेच, धोका, षड्यन्त्र सबै हुन्छ यहाँ, यो कविको ठहर हो ।
सामान्यतयाः हामीले अमलेख वा मुक्ति उत्पीडित वर्गको लागि आवश्यक ठान्छौँ
तर कविले यहाँ अर्कै खालको अमलेखको आवश्यकता देखिरहेछन् । त्यो हो दास बन्न
आसक्त मनहरूको अमलेख । कवि परिवर्तनका बाधक केही कृतदासहरूको अमलेख भएपछि
मात्र देश अमलेख हुने बाटो खुल्ने देख्छन् । भन्छन् –
पुरानो एउटा भूतघरलाई
आफ्नो आस्था ठानेर
केही टाउकाहरू
प्रदूषण बाँडिरहेका छन्
र अघि बढिरहेको घडीको सुईलाई
सिक्रीले बाँधेर, पछिल्तिर तानिरहेका छन्
म यतिबेला खोज्दैछु
तिनै टाउकाहरूका लागि
एउटा नयाँ अमलेखगञ्ज । (म खोज्दैछु अर्को अमलेख गञ्ज)
त्यस्तै ‘टुकुचा’ कवितामा कवि निरङ्कुश सत्ता र एमालेलाई समेत सङ्केत
गर्दै पहिले–पहिलेजस्तो स्वच्छ नभई समयसँगै टुकुचा फोहोर, दुर्गन्धित हुँदै
गएको सिंहदरबार बसेर शासक बनेपछिका झनै कुहेर दुर्गन्धित हुँदै गएको
यथार्थको बिम्बात्मक प्रस्तुति गरेका छन् ।
सहिद तथा अन्याय र उत्पीडनमा परेर मृत्यु हुनेप्रति सम्मान र सहानुभूति
प्रकट गरेर लेखिएका कविता कविलाई सम्वेदित बनाउने अर्को विषय महान् आस्थामा
समर्पित देश र जनताको निम्ति जीवन नै आहुति दिने सहिद तथा उत्पीडनमा परेर
मर्नेहरू रहेका छन् । देश र जनताको लागि आहुति दिने महान् मान्छेहरू सधैँ
नै आदरणीय हुन्छन्, अमर र स्मरणीय हुन्छन् । उनीहरूको त्याग र समर्पणबाट
बाँच्नेहरूले सिक्ने कुरा धेरै हुन्छ । उसको मृत्युमा, अचेल मान्छेहरू,
वनफूल र सपनाहरू फरक–फरक मुर्दाघाटहरू यसै कित्ताका कविताहरू हुन् ।
सहिदहरू मरेर पनि अमर हुन्छन्, सुगन्धित हुन्छन् अनि घाम र जून भएर प्रकाश
छरिरहन्छन् भन्ने अभिव्यक्ति छ यी कवितामा । ती असल मान्छेलाई यसरी सम्झना
गर्छन् –
मैले सुनेकै थिएँ
माटोको माया गर्ने मान्छे
मृत्यु पछि पनि बास आउँछ
घाम र जूनमा रूपान्तर भएर
सिर्जनाको एउटा बत्ती अस्तिमात्र निभ्यो
तिमीले देख्यौ कि देखेनौ ?
एउटा असल मान्छे म¥यो । (उसको मृत्युमा)
‘अचेल मान्छेहरू’ कविता जनयुद्धको समयमा आर्मीद्वारा विभत्स ढङ्गले मारिएका
क्रान्तिकारीयोद्धा विजय ढकालको सम्झनामा लेखिएको शब्द चित्र हो । एउटा
झर्झराउँदो रातो लालीगुराँसको फूल हामीबाट हराए पनि ऊ अजर अमर भएको र
सदियौँसम्म टाढाटाढासम्म बास्ना फैल्याइरहने विश्वास गर्छन् कवि ।
… ऊ धर्तीको फुलेको फूल
कसैले गोडमेल नगरेको
कसैले पानी नहालेको
कुनै मालीले हेरचाह नगरेको
ऊ गुराँस फूल !
हावा हुन्डरीको बीच फक्रेको
खडेरीसँगै जुधेको
अचेल, टाढा–टाढाका मान्छेहरू भन्छन्
सझीको जङ्गमा हराएको एउटा गुराँस
पर–परसम्म बास्ना छर्छ । (अचेल मान्छेहरू)
दोस्रो जनआन्दोलनका क्रममा नेपालगञ्जमा गोली लागी सहिद भएकी सेतु
बि.क.को सम्झनामा लेखिएको कविता ‘वनफूल र सपना’मा पनि सहिद विजय ढकालजस्तै
फूलको प्रतीक बनाएर सम्बोधन गरिएको छ । वनफूल वनैमा फुल्छ बनैमा मर्छ कसैले
हेर्दैन, कुनै स्याहारसुसार पनि पाउँदैन । सदियौँदेखि खाडलमा परेकी
वनफूलले खाडलबाट माथि आउन विद्रोह गरिन् । निरङ्कुशताको विरोध र जनताको
पक्षमा लड्दालड्दै जीवन आहुति दिएकी उनको आफ्नो भन्ने केही छैन, सबै देश र
जनता हुन् भन्ने भावना व्यक्त छ । ‘फरक–फरक मूर्दाघाटहरू’चाहिँ वैदेशिक
रोजगारका लागि इराक पुगी आफ्नो रगत अर्कैको भूमिमा पोख्न बाध्य युवाहरूको
सम्झनामा लेखिएको भावुक अभिव्यक्ति हो ।
तुलनात्मक रूपमा यो कित्ताका कविताहरू विचार, भावना, कला, बिम्ब आदि पक्षमा केही कमजोर देखिन्छन् ।
गरिब, उत्पीडित वर्गप्रतिको पक्षधरता प्रकट गरेर लेखिएका ‘कसको जमिन’, ‘ऊ
बगर खडेरी पर्खन्छ’ जस्ता कवितामा मार्मिक अभिव्यक्ति छ । ‘कसको जमिन’
गरिखाने र बसिखाने वर्गको बीचको विषम खाडल सुन्दर बिम्ब र प्रतीकको
प्रयोगद्वारा सम्प्रेषण गर्न सफल कविता हो । जसको पसिनाले माटो भिज्छ उसैले
मेरो भन्न पाउँदैन अर्कै भिजिलान्तेले दावी गर्छ, त्यसैले त्यो जमिन
सप्रमाण आफ्नो भन्न आग्रह गर्छन् कवि पसिना पोख्ने मङ्गलमानलाई –
खै त उसको पसिना ?
तर उही भनिरहेछ मेरो जमिन,
… … …
तिमी देखाऊ आफ्ना पुर्खाको आलो पसिना
र भन मङ्गलमान
सप्रमाण भन
अब यो धर्तीमा
हामीले आर्जेको हाम्रो जमिन भन! (कसको जमिन)
सुन्दर भोलिको कामना गरेर लेखिएका कविता– भोलि, भोलिको तस्बिर, समय, नव
वर्ष २०६१, उदयपुर आदि कविता सुन्दर भोलिको चाहना र चिन्ता व्यक्त गरी
लेखिएका कविताहरू हुन् । लामो समयदेखि देश द्वन्द्वयुक्त, अराजकता, सरकारको
अकर्मण्डता, अव्यवस्थारूपी भूमरीमा फसिरहेकोले लामो समयदेखि भोगिरहेको
‘आज’ निकै कष्टपूर्ण रह्यो । धेरै उकाला भङ्गाला र काँडाहरूमा यात्रा गर्दा
थाकिसक्यौँ ।
अबको भोलि त सुन्दर, सुरक्षित, व्यवस्थित, बस्न लायक हुनुपर्छ । त्यस्तो
भोलि सुनिश्चित हुनुपर्छ भन्ने उत्कट चाहना व्यक्त छ कविको । भोलि कवितामा
कवि आज भाइ–भाइको युद्धमा रगतले मुछिएको कविमजको झन्डा बनाउँदै जुलुस
निकाल्ने त्यही विजयको धागोले सन्तान गुमाएका आमाहरूको च्यातिएको मनहरू
सिउने भन्दै यस्तो योजना कोर्छन् –
हामी भोलि,
घरको बेथिति सबै मिलाउने
वरिपरिका फोहरहरू जलाउने
सताब्दियौँदेखि हामी सबैको घाँटीमा झुन्डिएको छ
काउछोको माला
बस्तीको चौतारो खोजेर
त्यसको थुप्रोमा डढेलो सल्काउने
र, हामी नयाँ–नयाँ चन्द्रमा छुने
हामी भोलि नयाँ नेपाल जन्माउने । (भोलि)
‘भोलिको तस्बिर’ यस्तो पनि देखेर चिन्तित छन् कवि मार्क्स, लेनिन, बुद्ध,
गान्धी साथै गाउँमा एक्लो जीवन बाँचिरहेका आमा–बाबुका तस्बिर भित्तामा
टाँसेर त्यसमुनिको सोकेसमा ल्ब्याक लेबल र चाँदीका रिकापीहरू राखेर त्यसैको
रङ्गमा रमाउने आजको पुस्ता भोलि कस्तो होला ? उसैको शब्दमा–
हिजो मान्छेलाई प्रेम गर्थे मान्छेहरू
अहिले सहरमा
तस्बिरलाई प्रेम गर्छन् मान्छेहरू
हाम्रा सन्तानको पालामा
भोलि के होला ?(भोलि)
‘उदयपुर’ ले पनि अहिलेसम्म नउदाएको आस्थाको सूर्योदय पर्खिरहेछ । ‘नव वर्ष
२०६१’ कवितामा बितेका धेरै वर्षहरू देश द्वन्द्वयुद्धको चपेटामा परेकोले
कैयौँ मरूभूमि सिउँदोहरू उजाडिए, स्वजनहरूका वियोगले विह्वल भए मनहरू,
चहर्याइरहे आला घाउहरू पीडामा छटपटाए सबै–सबै अनि सचेत वर्गले
जङ्गबहादुरको विरूद्धमा उठाइरहे मुठीहरू, अबको नयाँ वर्ष त उनी भन्छन् –
धेरै–धेरै वर्ष भयो सोचेको
नयाँ वर्ष नयाँ भएर आए हुन्थ्यो
हामी धेरै– धेरै उठाइसक्यौँ
आस्थाका सगरमाथाहरू
नयाँ वर्ष
विश्वास भएर आए हुन्थ्यो । (नयाँ वर्ष २०६१)
यसरी सुन्दर भोलि विश्वास भएर आए हुन्थ्यो भन्ने चाहनाको रागात्मक
अभिव्यक्ति छ यहाँ । यो कविको मात्र नभएर सम्पूर्ण देशवासीको चाहना हो ।
लामो समयदेखि निरन्तर साधनारत कवि मातृकाको निरन्तर परिस्कारको कविता
यात्रा जारी छ । साहित्यले समाजको आमूल रूपान्तरणको लागि भूमिका खेल्नुपर्छ
भन्नेमा विश्वास गर्ने वर्ग सचेत कवि मातृकाले विचारलाई कलाको आवरण दिएर
सुन्दर अभिव्यक्ति पस्किन सफल छन् । उनका कवितामा उपयुक्त शब्द चयन, बिम्ब,
प्रतीकको प्रयोग, कोमलता, लयात्मकता र मिठास, शब्द र वाक्यलाई तौली–तौली
सचेततापूर्वक बडो मिहिनेत गरेर प्रयोग गर्ने कुशलता आदिले अभिव्यक्तिलाई
सुन्दर बनाएका छन् । खासगरी प्रखर समयचेत र जनजीवन सुन्दर र कुरूपको भेदन,
उत्पीडनप्रति घृणा र उत्पीडितप्रति सहानुभूति, परिवर्तन, नयाँ भोलिप्रति
आस्था र विश्वास यो कवितासङ्ग्रहको सार हो ।
पूर्णता भन्ने कुरा त कतै पाइँदैन । यो त एउटा अथक प्रयत्नको निरन्तर
यात्रा मात्र हो । कवि मातृका त्यही प्रयत्नका अथक यात्री हुन् भन्ने कुरा
सहजै बुझिन्छ । सिक्दै र सुधार गर्दै अगाडि बढ्नु नै पूर्णताको बाटोमा
हिँड्नु हो । सङ्ग्रहका कविताहरू पढ्दै जाँदा कही कतै यस्तो भइदिएको भए
भन्ने पनि लाग्छ । यहाँका राम्रा कविताको तुलनामा केही कमजोर कविता पढ्दा
यी कविता यस सङ्ग्रहमा नभइदिएको भए भन्ने पनि लाग्छ । मोटामोटी अध्ययन गरेर
श्रेणीबद्ध गर्ने हो भने समयको कटु यथार्थ सबैको ध्यान आकर्षित भएको विषय
निरङ्कुश शासक, सत्ता र गरिब उत्पीडित वर्गलाई लक्ष्य गरेर लेखिएका कविता
भाव, भाषा, विचार, कला, बिम्ब आदि सबै हिसाबले सबल छन् । सुन्दर भोलिको
कामना गरेर लेखिएका कविता दोस्रो र सहिद तथा उत्पीडनमा परेर मर्ने
मारिनेप्रति संवेदित भएर लेखिएका कविता तेस्रोमा पर्ने कविता हुन् ।
राजमार्ग र चिन्तित मनहरू जस्ता कवितालाई समय सम्झी गम्भीर बौद्धिकतापूर्वक
अथ्र्याउन पर्ने हुँदा सामान्य पाठकले सजिलै बुझ्न गाह्रो पर्छ ।
सिमान्तीकृत वर्ग, महिला, दलित, जनयुद्धजस्ता फरक–फरक विषयको विस्तृत फाँट
फैलिएको भए साथै पाठकलाई तान्ने, चस्स घोच्ने, भावुक वा क्रुद्ध बनाउने,
कल्पनाको उडानमा केही फैलिन पाउने तत्व अझै सबल भइदिएको भए राम्रो हुन्थ्यो
। निरन्तर परिस्कारको कविता यात्राले यी पक्षहरूमा सुधारको सङ्केत स्पष्ट
देखिन्छ ।
कौशिकी मासिक, वर्ष- ८, अङ्क- ७, पूर्णाङ्क -३३ २०६५ चैत
No comments:
Post a Comment