वि. सं. २०८२ साल असार ३१ गते काठमाडौँमा भएका छुट्टाछुट्टै कार्यक्रममा चार साहित्यिक पत्रकार पुरस्कृत र सम्मानित भएका छन् । नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा सङ्घको १९ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकारद्वय शशि पन्थी र रामप्रसाद साहलाई नगदसहित सम्मान गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले विसं २०३० देखि साहित्यिक पत्रकारितामा क्रियाशील पत्रकारद्वय पन्थी र साहलाई नगद, सम्मानपत्रसहित सम्मान गर्नुभयो । कार्यक्रममा सङ्घका अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रिका चलाउन साहित्यिक पत्रकारको साहस र मेहनतको आवश्यकता पर्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरू पुरुषोत्तम दाहाल, मातृका पोखरेल, ईश्वरचन्द्र ज्ञवाली, बियोगी बुढाथोकी, गणेश वाम्बुले राईलगायतले पनि मन्तव्य राख्नुभएको थियो ।
यसै गरी नेपाल प्रज्ञा–प्रतिष्ठानले सोही दिन वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल र वीरबहादुर चन्दलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कार प्रदान गर्दै प्रविधिको छरितो विकासले छापा माध्यम छायामा परिरहेको समयमा पनि निरन्तर मेहनत र लगनका साथ साहित्यिक पत्रकारिता गर्ने पत्रकारको कदर गर्न प्रतिष्ठानले गत वर्षदेखि साहित्यिक पत्रकारलाई पुरस्कृत गर्न सुरु गरेको बताउनुभयो । नेपाली भाषा र डोटेली भाषाको साहित्यिक पत्रिकाका सम्पादकद्वय दुवाल र चन्दलाई पुरस्कृत गर्न पाउँदा प्रतिष्ठान परिवारलाई खुसी लागेको बताउँदै कुलपति राईले यसबाट साहित्यिक पत्रकारको हौसला बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरू पुरुषोत्तम दाहाल, मातृका पोखरेल, ईश्वरचन्द्र ज्ञवाली र नरेन्द्र बहादुर श्रेष्ठ अतिथि हुनुहुन्थ्यो ।
000
No comments:
Post a Comment