Wednesday, November 9, 2016

मञ्चमा बहुलाको डायरी


काठमाडौ, आश्विन ३० – मानिस के कारणले बहुलाउँछ ? व्यक्तिगत कारण या सामाजिक सांस्कृतिक र राज्यले थोपरेको विसंगतिका कारण ? सोमबार पर्यटन बोर्डमा भने पुरानो चिनियाँ समाज र सत्ताको परिवेश बोकेको एउटा बहुला पात्रलाई स्टेजमा उतारियो । ऊ साँचो बोलिरहेको हुन्थ्यो, तर समाज र ऊ हुर्केको राज्यको चेतनाले उसलाई बहुला ठान्थ्यो । अर्थात् त्यो पात्र बहुलाएको नाटक गर्दै समाजको तीतो यथार्थलाई नांगेझार बनाउन तम्सिन्थ्यो ।

त्यो पात्रलाई धेरैअघि प्रख्यात चिनियाँ साहित्यकार लु सुनले कथामा उतारेका थिए । तिनै लु सुनको कथा ‘बहुलाको डायरी’ लाई शैली थिएटरले नेपाली स्टेजमा उतारेको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ र कवि वैरागी काइँलाको ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’ कविताको भावसँग मेल खाने लु सुनको यो कथाको पात्रले तत्कालीन सामाजिक अव्यवस्था र मानसिकतालाई व्यंग्य गर्छ ।

शैली थिएटरका प्रेम पौडेलको एकल अभिनय रहेको नाटक एक घन्टा लामो थियो, एउटा खाट, झुत्राझाम्रा ओढ्ने ओछ्याउने र सामान्य कोठाको सेटमा उनले काम गरेका थिए । एकल अभिनय भए पनि उनको हाउभाउ र संवादका कारण कोठाभित्र अन्य पात्रको पनि अनुभूति हुन्थ्यो ।

लु सुनको कथालाई साहित्यकार हरिगोविन्द लुइँटेलले नाट्य रूपान्तरण गरेका हुन् । सन् १९१८ मा लेखिएको कथामा पुरातन चिनियाँ समाज र सत्ताको सिर्जनात्मक विरोध गरिएको छ । ‘त्यति बेलाको चिनियाँ समाज जस्तो थियो, अहिले हामी त्यस्तै अवस्थाबाट गुजि्ररहेका छौं,’ हरिगोविन्दले नाटक मञ्चनपछि भने, ‘हाम्रो सन्दर्भसँग मिल्ने भएकाले यसलाई नाट्य रूपान्तरण गरी प्रस्तुत गरेका हौं ।’

नाटक मञ्चनसँगै ‘देवकोटा-लुसुन प्रज्ञा प्रतिष्ठान’ स्थापना गरिएको छ । प्रगतिवादी समालोचक निनु चापागाईंको अध्यक्षतामा खोलिएको प्रतिष्ठानकै औपचारिक उद्घाटन क्रममा नाटक मञ्चन गरिएको

थियो । चिनियाँ राजदूत याङ होउलानले नेपाल र चिनियाँबीच निकै पुरानो सांस्कृतिक सम्बन्ध रहेको स्मरण गर्दै महाकवि देवकोटा र लु सुनको साहित्यिक चरित्रसमेत मिल्ने उल्लेख गरे । ‘देवकोटा र लुसुन उस्तैउस्तै लाग्नुहुन्छ,’ राजदूतले भने, ‘किनकि उहाँहरूले साहित्यमार्फत आ-आफ्ना मुलुकको परिर्वतनको लागि काम गर्नुभयो । दुवैको लक्ष्य समाज परिवर्तन रहेको देखिन्छ ।’ निनुले दुई मुलुकबीच संस्कृति, भाषा र साहित्य आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान खोलिएको बताए । प्रतिष्ठानका महासचिव एवं लेखक रणेन्द्र बरालीले प्रतिष्ठानको उद्देश्य र योजना सुनाए । कार्यक्रममा देवकोटाको कृतित्वबारे डा. रामप्रसाद ज्ञवालीले बोलेका थिए भने साहित्यकार शान्तदास मानन्धरले लु सुनबारे प्रकाश पारे । साहित्यकार रामबाबु सुवेदीले लु सुनको कृति पढेर सुनाए । प्रतिष्ठान सचिवमा हरिगोविन्द लुइँटेल र कोषाध्यक्षमा कवि कृष्ण प्रसाईं छन् । बाबा बस्नेत, मातृका पोखरेल, इस्माली, जीवन शर्मा, रामबाबु सुवेदी र महेश पौडेल सदस्य छन् ।

कान्तिपुर
मंगलबार, २०६९ आश्विन ३०

No comments:

Post a Comment