मातृका पोखरेल समकालीन नेपाली प्रगतिवादी साहित्यका सशक्त सर्जक हुन् ।
कविता, कथा, निबन्ध आदि विधामा कलम चलाउने मातृका पोखरेलको मुख्य सिर्जना
क्षेत्र भने कविता हो । उनका तीनवटा कवितासङ्ग्रह र एउटा कथासङ्ग्रह
प्रकाशित छन् । सिर्जनाका साथै नेपाली प्रगतिवादी साहित्यिक–सांस्कृतिक
आन्दोलनमा सक्रिय रहेका पोखरेल यस आन्दोलनका नेता पनि हुन् । यहाँ उनै
मातृका पोखरेलको पहिलो पुस्तकाकार कृति ‘अनुहारहरू’ (कवितासङ्ग्रह–२०६४) का
बारेमा सङ्क्षेपमा चर्चा गरिएको छ । ‘अनुहारहरू’ कवितासङ्ग्रह धवलागिरि
साहित्य प्रतिष्ठान, बागलुङले प्रकाशित गरेको हो । यो कृति काजी रोशन
पुरस्कार, २०६४ बाट पुरस्कृत भएको छ । यस सङ्ग्रहमा तेइसवटा कविताहरू
सङ्कलित छन् । यसमा लेखकको मन्तव्य, डा. ताराकान्त पाण्डेयको भूमिका र
प्रकाशकीय पनि छापिएको छ । यस सङ्ग्रहमा ‘सर्त, नयाँ वर्ष २०६१, राजमार्ग र
चिन्तित मनहरू, नयाँ शताब्दीको थोत्रो मान्छे, अनुहारहरू, उसको मृत्युमा,
कविताको विषय, फरकफरक मुर्दाघाटहरू, कसको जमिन, सबै कुरा साँचो हुनेछ, ऊ
बगर; खडेरी पर्खन्छ, टुकुचा, टोपआतङ्क, बाँझो जमिन र हलीहरू, अचेल
मान्छेहरू, उनीहरूले सोचेका भए, भोलिको तस्बिर, भोलि, म खोज्दैछु अर्को
अमलेखगन्ज, सिंहदरबार, समय, वनफूल र सपना’ तथा ‘उदयपुर’ शीर्षकका कविता
सङ्कलित छन् । सङ्ग्रहमा समेटिएको ‘सर्त’ कविताले परिवर्तनको महान्
यात्रामा सही विचार र सशक्त नेतृत्वको आवश्यकता बोध गरेको छ ।
भविष्यद्रष्टा कुशल नेतृत्वले मात्र प्रगतिको यात्रालाई सही गन्तव्यमा
पु¥याउन सक्छ र त्यस्तै नेतृत्वको पछि मात्र लाग्न सकिन्छ भन्ने कविको
चाहना ‘सर्त’ शीर्षकको कवितामा प्रस्टसँग आएको छ । यस कवितामा कविले आगामी
दृष्टिकोणलाई ‘आँखा’, अग्रगामी यात्रालाई शिखर चढ्ने कुरा र सबल नेतृत्वलाई
झर्झराउँदा आँखाहरू र सबल खुट्टाहरू भएको मान्छेको रूपमा प्रस्तुत गरेका
छन् । यस सङ्ग्रहमा सङ्कलित दोस्रो कविता ‘नयाँ वर्ष–२०६१’ हो । यस कवितामा
देशभित्र एक वर्ष (२०६०) मा भएको राज्यआतङ्क तथा जनप्रतिरोध, संसारभर
साम्राज्यवादी अमेरिकाले फैलाएको आतङ्क र जनदमनको स्मरण गर्दै आउन लागेको
वर्षचाहिँ योभन्दा भिन्न शोषितपीडित जनताले चाहेअनुसारको परिवर्तनशील भएर
आए हुन्थ्यो भन्ने कामना गरिएको छ । ‘राजमार्ग र चिन्तित मनहरू’ कवितामा
आधाशताब्दी लामो नेपाली कम्युनिस्ट आन्दोलनको प्रतीतको रूपमा ‘थोत्रिँदै
गएको सडक’ लाई उभ्याइएको छ । नेपाली कम्युनिस्ट आन्दोलनले अपेक्षित
परिवर्तनको अगुवाइ गर्न नसकेकोमा कविको चिन्ता ‘चिन्तित मनहरू’ का रूपमा
प्रकट भएको छ । तर पनि कवि निराश भने छैनन् । उनी लेख्छन्ः–
शताब्दीयौंपछिको सहर–बस्तीलाई सुहाउने सुन्दर सडकको पूर्वाधार काममा छ ।
(पृ.५) ।यस सङ्ग्रहमा सङ्कलित ‘नयाँ शताब्दीको थोत्रो मान्छे’ शीर्षकको
कवितामा नेपालको राजतन्त्र र त्यसको नाइके राजालाई प्रतीकात्मक रूपमा
उभ्याइएको छ । नेपालको राजा कफ्र्यु नलागेको दिन र जुनेली रात दुवैसँग
डराउँछ भन्दै ‘गरिब देशको धनी मान्छे’, ‘नयाँ शताब्दी थोत्रो मान्छे’,
‘द्वापर युगको मान्छे’ जस्ता प्रतीकद्वारा उसको (राजाको) चरित्रलाई
प्रस्ट्याउने काम गरिएको छ । यस कविताले राजा ज्ञानेन्द्रद्वारा गरिएका
जनदमन, कुकृत्य र उसको चरित्रको भण्डाफोर गरेको छ । यस सङ्ग्रहकै शीर्षकका
रूपमा रहेको ‘अनुहारहरू’ शीर्षकको कविता यस सङ्ग्रहको एउटा सशक्त कविता हो ।
यस कवितामा नेपाली जनताको मुक्ति आन्दोलन, त्यसमाथिको शासकीय दमन र
शोषितपीडित वर्गप्रतिको पक्षधरताको चित्रण छ । शासक वर्ग क्रुर र निर्मम
ढङ्गले जनदमनमा उत्रिएको छ, नेपाली जनताहरू प्रतिरोध गरिरहेका छन् । त्यहाँ
शासकको अनुहार बाहिरबाट हेर्दा जतिसुकै सफा र सज्जापूर्ण देखिए पनि उसको
भित्री अनुहार भने ज्यादै बर्बर, हिंस्रक र डरलाग्दो छ । कविले यस्तो
अनुहारप्रति तीव्र घृणा प्रकट गरेका छन् । कविलाई अन्याय, अत्याचारको
प्रतिरोध गरिरहेका श्रमजीवी शोषितपीडित जनताका मैलाधुस्रा अनुहारहरू राम्रा
र सुन्दर लाग्छन् । यसरी यस कविताले कविको वर्गीय दृष्टिकोण र वर्गीय
पक्षधरतालाई प्रस्ट पारेको छ । यस सङ्ग्रहमा सङ्कलित ‘उसको मृत्युमा’
शीर्षकको कवितामा एक जना क्रान्तियोद्धाको सहादतको प्रसङ्ग उल्लेख गरिएको छ
। यसले जनयुद्धमा सहादत हुने कृष्णसेन ‘इच्छुक’हरूको सम्झना गराउँछ । यस
सङ्ग्रह सङ्कलित ‘कविताको विषय’ शीर्षक कवितामा नेपालमा सङ्कटकाल लागेको
बेला अभिव्यक्ति स्वतन्त्रतामाथि भएको नाङ्गो हस्तक्षेप र प्रतिबन्धप्रति
विरोध, आक्रोस र व्यङ्ग्य गरिएको छ । ‘फरकफरक मुर्दाघाटहरू’ शीर्षक कवितामा
२०६१ भदौ १५ गते इराकमा बाह्रजना नेपालीको हत्या भएको विषयलाई मार्मिक
रूपमा चर्चा गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘कसको जमिन’ शीर्षक कवितामा
नेपालको सिमाना र सार्वभौमसत्तामाथिको वैदेशिक हस्तक्षेपको विरोध गरिएको छ ।
‘सबै कुरा साँचो हुनेछ’ शीर्षक कवितामा जनचेतना र जनप्रतिरोध नभएस्म्म
अन्याय, अत्याचार, शोषण, दुष्प्रचारहरू कायम रहन्छन् भन्ने भाव व्यक्त
गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित ‘ऊ बगर; खडेरी पर्खन्छ’ शीर्षक कवितामा
कहिल्यै सुख, खुसी र सन्तुष्टि भोग्न नपाउने, पीडितहरूको जीवन यथार्थलाई
खडेरी पर्खने बगरसँग तुलना गरिएको छ । ‘टुकुचा’ शीर्षक कवितामा ‘टुकुचा’
नदीको दुर्गन्धित अवस्थाको चित्रण गर्दै यसको इतिहासको सफा र सुन्दर
पक्षको स्मरण गरिएको छ । यस कविताले विगतमा जनताको लागि, परिवर्तनका लागि
त्याग, समर्पण गरेका नेताहरू सत्ता र कुर्सीको मोहमा फसेर जनविरोधी भएको
तथ्यलाई प्रतीकात्मक रूपमा चित्रण गरेको छ । यस सङ्ग्रहमा सङ्कलित ‘टोप
आतङ्क’ शीर्षक कवितामा जनदमनमा उत्रिएको शासकको कुकृत्यलाई देखाइएको छ । यस
कविताले २०६१ माघ १९ पछि राजा ज्ञानेन्द्रले पुराना पञ्चहरूलाई अगाडि
सारेर जनदमनमा उत्रिएको सन्दर्भलाई साधारणीकरण गरेको छ । यस सङ्ग्रहको
अर्को कविता ‘बाँझो जमिन र हलीहरू’ हो । यस कवितामा जनआन्दोलनलाई साथ नदिने
कुनै समूह वा पार्टीविशेषलाई सङ्केत गर्दै केही समूह वा पार्टी विशेषले
छाड्दैमा जनआन्दोलन रोकिँदैन भन्ने कविको उद्घोष व्यक्त भएको छ । यस
सङ्ग्रहमा सङ्कलित ‘अचेल मान्छेहरू’ शीर्षक कवितामा सहिद विजय ढकाल
‘विश्वास’ को सहादतको प्रसङ्गबाट मुक्तियुद्धमा संलग्न योद्धाहरूको सहादतको
महिमागान गाइएको छ । ‘उनीहरूले सोचेका भए...’ शीर्षकको कवितामा अन्याय,
अत्याचार, शोषण, सदाकाल टिक्दैन । जनताहरू परिवर्तनका लागि उठेपछि
अन्याय–शोषणको अन्त्य भइछाड्छ भन्ने भाव व्यक्त गरिएको छ । यसमा नेपालमा
सामन्ती शासनव्यवस्थालाई ‘इतिहासले बोकेको एउटा गलगाँड’ का रूपमा लिँदै
त्यसबाट छुटकारा पाउने उद्घोष गरिएको छ । यसमा नेपालको राजतन्त्रलाई नेपाली
जनताको दुस्मनका रूपमा चित्रित गर्दै अब त्यसलाई हटाउने उद्घोष गरिएको छ ।
यस सङ्ग्रहमा सङ्कलित ‘भोलिको तस्बिर’ कवितामा नयाँ पुस्तामा मौलाउँदै
गएको उपभोक्तावादी पश्चिमा संस्कृतिले सिर्जना गर्ने एकलकाँठे र
व्यक्तिवादी चिन्तनप्रति चिन्ता व्यक्त गरिएको छ । उपभोक्तावादी–पुँजीवादी
संस्कृतिको प्रभावमा मान्छेले आफ्ना मान्यजन र अग्रजहरूप्रति श्रद्धाभाव
व्यक्त गर्ने प्रवृतिलाई भुल्ने खतरा रहेको कुरालाई यस कवितामा कलात्मक
रूपमा प्रस्तुत गरिएको छ ।यस सङ्ग्रहमा सङ्कलित ‘भोलि’ शीर्षकको कवितामा
सुन्दर र विकसित नयाँ नेपालको परिकल्पना गरिएको छ । भोलिको नेपालमा अन्याय,
अत्याचार, शोषण, अभाव, गरिबी आदिको अन्त्य हुनेछ र नेपाल र नेपालीहरू
प्रगतिको शिखर चुक्न सक्नेछन् भन्ने विश्वास व्यक्त गरिएको छ । यस
सङ्ग्रहमा सङ्कलित ‘म खोज्दैछु अर्को अमलेखगन्ज’ शीर्षक कवितामा राजनीतिक
स्वतन्त्रता मात्रैले जनताको कल्याण हुँदैन । राजनीतिक स्वतन्त्रतासँगै
पराधीन र पराश्रित चिन्तनबाट मुक्त भएर स्वाधीन र स्वाभीमानी मान्छे बनेर
मात्र जनताले साँच्चिकै स्वतन्त्रता र मुक्तिको महसुस गर्न सक्छन् । यसर्थ
अब हामीले स्वाधीन र स्वाभीमानका लागि सङ्घर्ष गर्नुपर्दछ भन्ने यस कविताको
भाव रहेको छ । नेपालका नेताहरू सत्ताबाहिर रहँदा र सत्तामा नपुग्दासम्म
जनताका मित्र देखिन्छन्, तर सत्ता (सिंहदरबार) मा पुगेपछि जनविरोधी बन्न
पुग्छन् । यही यथार्थलाई यस सङ्ग्रहमा सङ्कलित सिंहदरबार कवितामा राम्ररी
उजागर गरिएको छ । यसमा सङ्कलित ‘समय’ शीर्षकको कवितामा शान्ति र परिवर्तनका
पक्षमा देखिएका नयाँ सम्भावनाहरू आशाप्रद छन् तर तिले पूर्णता पाउँछन् वा
पाउँदैन भन्ने आशङ्का छ भन्ने भाव व्यक्त गरिएको छ । यस सङ्ग्रहमा सङ्कलित
‘वनफूल र सपना’ शीर्षकको कविताले जनआन्दोलन–२ मा सहादत हुने सहिद सेतु
सुनारको सन्दर्भबाट शोषित–पीडित नेपाली जनताहरूले परिवर्तनको आन्दोलनमा
निर्णायक भूमिका पूरा गरेको तथ्यलाई प्रस्ट्याएको छ । यस सङ्ग्रहमा सङ्कलित
‘उदयपुर’ शीर्षकको कवितामा कविको आफ्नो जन्मभूमि उदयपुरको दीनहीन अवस्थाको
चित्रण गर्दै आउँदा दिनमा उदयपुरजस्ता नेपालका सबै गाउँबस्तीहरूमा
अग्रगामी परिवर्तन हुनेछ र समग्र नेपालको प्रगति उन्नति हुनेछ भन्ने आशा
व्यक्त गरिएको छ । यस सङ्ग्रहका सबै कविताहरूमा नेपाली समाजको यथार्थ
चित्रण भएको छ । यस सङ्ग्रहका कवितामा शोषित–उत्पीडित वर्गको वर्गीय
पक्षधरता व्यक्त भएको छ । यस सङ्ग्रहका सबै कविता यथास्थितिको विरुद्ध
अग्रगामी परिवर्तनको पक्षपाती छन् । यसर्थ यस सङ्ग्रहका कविताको
मूलप्रवृत्ति प्रगतिवादी रहेको छ । यस सङ्ग्रहमा सङ्कलित तेइसवटै कविता
गद्यलय (मुक्त छन्द) मा रचिएका छन् । यसमा सङ्कलित सबै कवितामा नेपाली
समाज, इतिहास, राजनीति, संस्कृति र प्रकृतिका सरल र स्वाभाविक बिम्ब र
प्रतीकहरूको प्रयोग गरिएको छ । कविता कलाका दृष्टिले नेपाली प्रगतिवादी
कवितामा देखिने कमजोरीबाट यस सङ्ग्रहका कविताहरू धेरै मुक्त छन् । यो यस
सङ्ग्रहका कविताहरूको सबल पक्ष हो । ‘प्रगतिवादी कविताहरूमा कला हँुदैन,
नारा हुन्छ’ भन्नेहरूका लागि यस सङ्ग्रहमा सङ्कलित कविताहरूले राम्रो जबाफ
दिएका छन् । यसका लागि कवि मातृका पोखरेल स्याबासीका पात्र बनेका छन् ।
कहीँ कतै निराशा देखिनु र नेपाली जनताको बलिदानी सङ्घर्षको विराट स्वरूपलाई
प्रस्ट देखाउन नसक्नुजस्ता कमजोरीहरू रहँदारहँदै पनि यो कविताकृति नेपाली
प्रगतिवादी कवितायात्राको एउटा सफल कृति बनेको छ ।
No comments:
Post a Comment