Monday, December 5, 2016

साहित्यकार न्यौपाने र अधिकारी पुरस्कृत




बागलुङ, २५ कात्तिक – धौलागिरी साहित्य प्रतिष्ठान बागलुङले दुई–दुई बर्षमा प्रदान गर्ने काजीरोशन साहित्य पुरस्कार बुधबार प्रदान गरिएको छ । तनहुँ जिल्लाका साहित्यकार काशीनाथ न्यौपानेलाई २०७२ सालको र बागलुङका अधिकारकर्मी तथा साहित्यकार गंगाधर अधिकारी ‘चिन्तन’लाई २०७० सालको पुरस्कार प्रदान गरिएको हो ।
प्राध्यापक डा. कुशुमाकर न्यौपानेले एक समारोहका बीच दुवै जनालाई पुरस्कार प्रदान गर्नुको साथै सम्मान पनि गरेका थिए । तनहुँको स्याम्घा–६ का न्यौपानेले लेखेको ‘आत्मघात क्रान्ति’ नामक उपन्यासको मूल्यांकन गरेर पुरस्कार दिइएको अध्यक्ष काजी रोशनले जानकारी दिए ।
हरेक २/२ बर्षमा दिइने यो पुरस्कारमा १५ हजार नगद र साहित्यकारको कृति प्रकाशित गरिन्छ । आगामी बर्षदेखि भने पुस्तक प्रकाशित नभई नगद पुरस्कारै दिने व्यवस्था गरिने पनि उनले बताए ।
धौलागिरी साहित्य प्रतिष्ठानमार्फत संचालित यो पुरस्कार देशभरका कृतिकारको कृति मूल्यांकन पछि वितरण गरिंदै आएको हो । अधिकारीले विद्यावारिधीका लागि तयार गरेको शोधपत्रमा ‘नेपाली साहित्यमा धौलागिरी साहित्य प्रतिष्ठानको योगदान’ विषयक कृति प्रकाशित गरेका थिए ।
उक्त पुस्तक प्रतिष्ठानले प्रकाशित गरिदिएको हो । मानवअधिकार तथा शान्ति समाज र अन्य विभिन्न सामाजिक क्षेत्रमा अधिकारी क्रियाशिल छन् । पुरस्कृत न्यौपानेका एकदर्जन साहित्यीक कृति प्रकाशित छन् ।
२०४१ सालमा स्थापित पुरस्कारबाट देशभरका १३ स्रष्टा पुरस्कृत भैसकेको सचिव राम थापा ‘अविरल’ले बताए । अहिलेसम्म यो पुरस्कारबाट बानियाँ कान्छा, अविनाश श्रेष्ठ, कृष्णप्रसाद शर्मा, साधना प्रतिक्षा, इन्द्रकुमार श्रेष्ठ, हरिप्रसाद भण्डारी, जगतबहादुर जोशी, मातृका पोखरेल, गायत्री परिरोशनी, बनिता जोशी लगायतलाई पुरस्कृत गरिसकिएको छ ।
प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, सचिव राम थापा ‘अविरल’को संचालन र संस्थापक सदस्य श्याम श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कुशुमाकर न्यौपाने, पुरस्कृत व्यक्तिहरु न्यौपाने र अधिकारी, साहित्यकार प्रेम छोटा, सहप्राध्यापक हरिप्रसाद गौतम, समाजसेवी देवबहदुर श्रेष्ठ, पत्रकार महासंघका कोषाध्यक्ष ताराप्रसाद शर्मा लगायतले बोलेका थिए । कार्यक्रममा अधिकारले लेखेको उक्त पुस्तकको विमोचन पनि गरिएको थियो । धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक हरिप्रसाद पाण्डेयले पुस्तकको टिप्पणी गरेका थिए ।

http://www.janamanch.com बाट साभार
बिहिबार, कार्तिक २५, २०७३ मा प्रकाशित

No comments:

Post a Comment