Wednesday, April 12, 2017

कीचकवधको कचकच – रामप्रसाद पन्त


नियात्रा


हिजो झापा प्रवेश गरेदेखि नै मैले कीचकबधको कुरा उठाएको थिएँ । कसैले मेरो बोलीमा सही थाप्नुभएको थियो, कसैले मिलेसम्म जाउँला भनेर मेरो बोलीलाई सम्मान मात्र गर्नुभएको थियो । तर मेरो प्रस्तावलाई पूर्ण समर्थन गरेर ‘जानैपर्छ’ भन्ने मानिस भेटेको थिइनँ । 
भद्रपुरको क्याम्पसरोडमा अवस्थित नेपाल सामुदायिक विकास केन्द्र (आइसीडिसी) को भुइँतलामा बेलुकाको खाना खाएर सुत्नका लागि तलामा उक्लँदै गर्दा मैले आफ्नो प्रस्ताव फेरि दोहो¥याएको थिएँ— ‘भोलि ११ बजेमात्र कार्यक्रमको उद्घाटन हुन्छ, हामी बिहानै उठेर आठैबजे चिया नास्ता गरी हिँड्यौँ भने जाबो सत्र किलोमिटर बाटो पुगेर आइहालिन्छ दश बजेसम्म । अनि खाना आइवरी पुगिहाल्छौँ कार्यक्रमस्थलमा ११ बजे । त्यसकारण भोलि आठ बजेभित्र तल ओर्लिहालौँ । 
अर्काे दिन अर्थात् २०६९ सालको असोज १३ गते बिहानै उठेर नित्यकर्म सकी मेरा रुमपार्टनर ठाकुर शर्मा र म त्यस सामुदायिक भवनको बाहिर निस्कियौँ, टहलियौँ तर हामीसँगै गएका साथीहरुमध्ये कोही उठेको वा बाहिर निस्केको सङ्केत मिलेन । 
कोठामा पुग्दा हाम्रा अर्का रुमपार्टनर नरेन्द्रबहादुर श्रेष्ठ उठेर शरीर तन्काउँदै हुनुहुन्थ्यो । त्यसैबेला किस्तीमा चियाका कप राखेर हल्ला गर्दै आइपुग्यो एउटा मानिस । भन्दै थियो— ‘आयो आयो आयो ललितपुर भक्तपुर एक्सप्रेस आयो । उठ्नुस् उठ्नुस् तातो तातो चिया खानुस् ।’
उसको कुरा सुनेर मलाई रमाइलो लाग्यो । चियाको कप निकालेर सुप्की लिँदै भनेँ— ‘तिम्रो नाम के हो ?’
उसले भन्यो— ‘पुष्प राजवंशी ।’
हेरेँ — साँच्चै फूलजस्तै फक्रेको थियो राजवंशीको अनुहार । हँसिलो रहेछ केटो । 
कोही उठेकै छैनन् । कोही उठेर टहलिँदैछन् बाहिर चउरमा । कोही चिया खाँदै छन् परको छाप्रोमा । 
रोचक दाइले भन्नुभयो— ‘जाऔँ त्यहीँ अलि पर मेरा एकजना आफन्त छन्, भेटौँ, त्यहीँ चिया खाऔँ र बेर नगरेर फर्काैँ ।’
ठीकै छ, अरु उठेर तयार नहुँदासम्म त फर्किहालिन्छ नि !
तर म भन्दै थिएँ— ‘कीचकवध जान त ढीला गर्न हुन्न नि ! आठ बजेसम्म फर्किसक्नुपर्छ । 
‘ठीकै छ, अरु उठेर तयार हुँदासम्म त आइहालिन्छ नि !’ — रोचक दाइले विश्वास दिलाउनुभयो ।
हामीसँग ठाकुर शर्मा र नरेश श्रेष्ठ पनि थपिनुभयो । दशै मिनेटमा पुग्यौँ सम्बन्धित ठाउँमा । 
रोचक दाइकी जेठी सासूका छोरा किशोर चापागाईंको घर रहेछ त्यो । फलफूलका बोटले सुसज्जित घर, सफा शान्त र सुन्दर लाग्यो मलाई । कुरा गर्दै जाँदा किशोरले नाम लिए — दिलिप चापागाईंको । टाठा टाठा भए मेरा कान । सोद्धा थाहा भयो— मेरा साथी दिलिप उनका काका पर्दारहेछन् । 
एकैछिन भन्दाभन्दै आधा घण्टा बित्यो त्यहीँ । 
मेरो मन आत्तियो — अरु सबै तयार भएर हाम्रो बाटो हेर्दै होलान्, जाऔँ अब । 
हामी पुग्यौँ सामुदायिक विकास केन्द्रमा । आठ बज्नै लागेको थियो, तर न त ड्राइभर थियो, न त कीचकवध जाने अरु नै कोही तयारी अवस्थामा थिए । त्यसै बेला नरेन्द्रबहादुर श्रेष्ठले कुरा उठाउनुभयो— मेची आमाको । ‘मेरो ससुरालीको नातो छ मेची आमासँग । उहाँ त बितिहाल्नुभयो गतसाल, तर उहाँका छोरा नाति घरमै छन् । म आउँछु भनेको छु । अगाडि गएर एकछिन कुरा गर्दै गर्छु । कीचकवध जाने बाटो त्यही हो । गेटमा गाडी अड्याएर हर्न दिनुहोला म निस्किहाल्छु ।’
मेचीआमाको कुराले मलाई पनि तान्यो । म पनि उनको पछि लागेँ । सङ्गमचोकमा रहेछ मेचीआमाको घर । 
ताप्लेजुङमा जन्मेकी एउटी अनपढ केटी दीलकुमारी श्रेष्ठको संखुवासुभा चैनपुरका केटासँग विवाह भयो । पछि उनीहरु झापा झरेर भद्रपुरमा बस्न थाले । समाजसेवाको भावना भएकी दीलकुमारीले महिला हक हित र सामाजिक उत्थानका क्षेत्रमा मेची अञ्चलमै महत्वपूर्ण काम गरिन् र मेची आमाको उपाधिले चर्चित भइन् । उनी राजाको आँखामा पनि परिन् र राजसभा स्थायी समितिकी सदस्य पनि भइन् । 
अहिले उहाँका छोरा विश्वनाथ र नाति मनोज घरमै रहेछन् । जस्ती आमाका त्यस्तै समाजसेवी छोरानातिहरु । हामीलाई भात खाएरै जाने तीव्र दवाव आयो । तर हामी चिया बाहेक अरु खान तयार भएनौँ ।  किनभने गाडी आयो भने हामी चढिहाल्नुपथ्र्याे । हाम्रो लागि भात भान्साको तयारी सामुदायिक केन्द्रमा नै भइसकेको थियो ।
कहिले गाडी आउला र कीचकवध जाउँला भनी प्रतीक्षा गरिबसेका हामीलाई अकस्मात् फोन आयो— ‘गाडी तेल हाल्न गएको छ, तपाईंहरु यतै आउनुस् ।’
हामी पुग्दा सामुदायिक केन्द्रमा गाडी देखिएन । सोद्धा थाहा भयो—साथीहरु चूडामणि रेग्मीको घरमा छन् रे !
आठ बजिसकेको छ, घाम चर्किसकेको छ, गाडी चढेर कीचकवध जानुपर्ने बेलामा चूडामणि रेग्मीको घर ? यो के तरिका हो ? रेग्मीजीको घर त हामी बेलुका पनि जान सकिन्थ्यो ! 
मेरो मन भुटभुटियो— मानिसले समयको सदुपयोग किन गर्न जान्दैनन् ?
हामी पुग्दा साथीहरु रेग्मीजीको घरमा मोइ तन्काएर बसिरहेका थिए । फोटो खिच्न र गफगर्नमा मस्त थिए । पचासौँ वर्ष साहित्यिक पत्रकारिताको इतिहास बोकेका रेग्मीजीका कुराको टुङ्गो छोटो समयमा कहाँ लाग्न सक्छ र ? उहाँको पुरानो घर, छोराका पौरखले बनेको नयाँ घर, पुस्तकालय, पत्रपत्रिका र जुहीका कथाहरु कहाँ एकछिनमा सकिन्छन् र ?
घडी हेर्दाहेर्दै नौ बजिसक्यो । 
मेरो मन दुख्न थाल्यो, पेट पोल्न थाल्यो । तर कोही पनि एक शब्द उच्चारण गर्दैनन्, उठ्ने नाम पनि लिँदैनन् ? मानिसले समयको महत्व किन बुझ्दैन ? मौकाको फाइदा लिन किन जान्दैन ? मौका बारम्बार आइरहँदैन भन्ने कुरा किन आत्मसात् गर्दैन ?
नौ अङ्कको सुई क्रमशः उकालो लाग्दै गएपछि मेरा आशाका तन्तुहरु खुकुला हुन थाले । जति ढिला हुँदै गयो, त्यति शिथिलता र नैराश्यता बढ्दै गयो । 
सवा नौ भइसकेपछि साथीहरु उठे । भात खाने समय छ दश बजे । समर्थन कतैबाट आउँदैन भन्ने जान्दाजान्दै पनि दबाब पार्नका लागि कुरा उठाएँ — ‘हाम्रो योजना तुहियो कि जीवितै छ ?हामी गएर आउन भ्याउँछौँ कि भ्याउँदैनौँ कीचकवध ?’
‘अहँ ....भ्याइँदैन’ — मलाई साथ दिने एक जना पनि देखिएन । 
‘सकियो भने बरु बेलुका जाउँला’ — मातृकाजीले सम्भावना देखाउनुभयो । 
उहाँको भनाइलाई समर्थन गर्नुभयो — रोचक दाइ र मोहन दुवालले पनि । 
वास्तवमा विशेष जिम्मेवार व्यक्ति भनेका यिनै तीन जना हुन् यस यात्राका । यिनीहरुले चाहेमा जसो भन्यो त्यसै हुन्छ । यतिमात्र होइन, चाहेमा एक दिन बढ्न पनि सक्छ र हामी कीचकवध मात्र होइन, केचनाकलम, अर्जुनधारा र सतासीधाम जहाँ पनि पुग्न सक्छौँ भन्ने लाग्दै थियो मलाई । 
बिहानको योजना बतासिएपछि बेलुकाको सम्भाव्य योजना कति साकार हुने हो ? शङ्काले घोरिँदै थिएँ र सोच्दै थिएँ— मेची यात्रा त यसअघि पनि गरेकै हो, त्यसभन्दा भिन्न अनुभूति यस यात्राले गराएको पनि छ, तथापि कुनै ऐतिहासिक स्थलको अवलोकन गर्न पाए, त्यसबारे केही बुझ्ने र लेख्ने मौका मिल्थ्यो भन्ने मेरो अन्तर चाहना थियो । 
तर अहिले भने ममनभित्र उब्जेका यी तरङ्गहरुलाई मनमै राखेर ‘महाजनो येन गतः स पन्था’मा विश्वास गर्दै मान्यजन र बहुजनको पछि लाग्न बाध्य हुन्छु र सामुदायिक विकास केन्द्रकै भवनमा गएर खाना खाइवरी कार्यक्रम स्थलमा पुग्छु । 
११ बजे सुरु हुने भनिएको कार्यक्रमको माइक बाह्र बजेमात्र खोले— कृष्ण सुवेदी ‘निराकार’ले । बर्मा गए पनि कर्म सँगै भनेजस्तै आखिर नेपालीकै समय त हो, काठमाडौँबाट झापा गए पनि उस्तै ।
नेपाली साहित्यिक पत्रकार संघ झापा शाखाको आयोजना तथा केन्द्रीय अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सुरु भएको त्यस कार्यक्रममा प्रमुख अतिथि छानिए — चूडामणि रेग्मी र विशिष्ट अतिथिको रुपमा मञ्चमा बसे — गणेशबहादुर प्रसाईं । तर विशेष अतिथिको रुपमा बोलाइएका प्रजिअ. नरेन्द्रराज शर्मा र एलडिओ जीवनप्रकाश सिटौला देखिएनन् । सम्मानित अतिथिको रुपमा — डा. तुलसी भट्टराई, कुन्ता शर्मा, शेषराज शिवाकोटी र तेराख पनि मञ्चमा उक्ले । 
पूर्वाञ्चलमा नेपाली साहित्य र साहित्यिक पत्रकारिताको विकास नामक दुईवटा कार्यपत्र प्रस्तुत गर्नका लागि मञ्चमा बोलाइए— चूडामणि वाशिष्ठ र दधिराम सुवेदी । ती कार्यपत्रमाथि टिप्पणी गर्नका लागि बोलाइए — गोपाल भण्डारी र पुण्य खरेल ।
स्वागत गरे— झापा शाखाका अध्यक्ष विजय खरेलले र सम्मानित व्यक्तित्वका बारेमा परिचय दिए— मोहन दुवालले । 
जब सम्मान गर्ने बेला भयो, त्यसबेला एउटा रोचक दृश्य के देखियो भने सम्मानित हुने व्यक्तित्वहरुलाई लगाइदिने माला छैन झापामा । अर्थात् माला उन्ने खालको फूल फुलेको छैन झापामा । पचहत्तर जिल्लामध्ये सबैभन्दा बढी अन्न फल्ने जिल्ला झापा भनी गर्व गर्नेहरुले फूल फुलाउन किन नसकेका ? फूलको सट्टा फूलका गुच्छा र एक एकवटा ढाकाका गलबन्दीले स्वागत गरियो चारै जनालाई । अनि पालैपालो बोले चारै जना । पहिलो चरणको कार्यक्रम सकियो । 
दोस्रो चरणको कार्यक्रम चलाउने जिम्मा थियो — मातृका पोखरेलको । त्यसैकारण मैले उहाँलाई भनेको थिएँ— ‘हामीले जति चाँडो कार्यक्रम सक्छौँ, त्यति नै चाँडो हामी कीचकवध जान सक्छौँ । कार्यक्रमलाई लम्ब्याउने वा छोट्याउने ठूलो भूमिका हुन्छ— सञ्चालकको । अतः तपाईंले चार बजेसम्म सम्पन्न गरिसक्ने सोचाइमा जानुहोला ।’
वास्तवमा कार्यपत्र हात लाग्ने भएपछि सुनिरहनुको खासै औचित्य रहँदैन स्रोतालाई । तथापि कार्यक्रमको गरिमा घटाइदिनु पनि त भएन भनेर बसिरह्यौँ संस्थाका सदस्यहरु । तर धरान र विराटनगर जाने साहित्यकारहरु यातायातको समस्याले कार्यक्रम नसकिँदै हिँडे । 
‘झापाली साहित्यको इतिहास लामो छ, साहित्यमा झापा अग्रणी छ, झापाको साहित्यिक पत्रकारिताले लामो फड्को मारिसकेको छ’ भनेर कार्यपत्र कुर्लियो बेस्सरी ।तर समय लम्बिएपछि हल एकाएक खाली हँुदै थियो । लगातार चार घण्टाको कार्यक्रममा थकित पनि भइसकेका थियौँ हामीहरु । यसबाहेक मलाई छटपटी थियो— कीचकवधको । 
मातृकाजी पनि सकेसम्म कार्यक्रमलाई संक्षेपीकरण गर्ने प्रयासमा हुनुहुन्थ्यो । यति हुँदाहुँदै पनि समापन हुँदा बज्यो साढे चार ।
अब माइक्रो चढौँ र कुदिहालौँ भनेको त आधा पनि देखिँदैनन् साथीहरु । भारती श्रेष्ठलाई टाउको दुख्यो भनेर मोहन दुवाल समेत लजतिर जानुभएछ । लक्ष्मी उप्रेती, नरेन्द्रबहादुर श्रेष्ठ, हरि भण्डारी र ड्राइभर समेत बजारतिर घुम्दै छन् रे ! ए बाबा ! कीचकवध जाने भनिसकेपछि त सतर्क भएर बस्नुपर्छ नि ! के मैलेमात्र हेर्नुपरेको हो कीचकवध ? अरुको पनि चासोको विषय हुनुपर्ने होइन र कीचकवध ? कीचकवधको बारेमा कचकच गर्दा हैरान भएँ म । 
फोन सम्पर्क भयो । एकछिन समय लगाएर भए पनि आए साथीहरु । बाटोमा निस्केर प्रतीक्षा गर्ने भए दुवालदम्पतिले । 
जाने त भइयो, तर कीचकवध देखेको मानिस छैन कोही पनि । बाटो देखाउने मानिस भेट्टाउन गाह्रो भयो हामीलाई । अरु कोही नपाएपछि कृष्ण सुवेदीलाई अनुरोध ग¥यौँ हामीले । बिचरा सुवेदी ! एक जना आफन्त मरेका कारण केही पनि नखाएर भोकभोकै बसेका थिए । बेलुका उनीलाई निवासमा पु¥याउने सर्तमा हामी हिँड्यौँ कीचकवध । 
अब भने अलिकति ढुक्क भयो मेरो मन । पूरै ढुक्क हुन किन सकेको थिइनँ भने ‘बाटो कच्ची छ र अप्ठ्यारो पनि छ’ भन्दै थिए कृष्ण सुवेदी । 
हामी चन्द्रगढीस्थित जिविस परिसरबाट निस्क्यौँँ भद्रपुरतिर । 
म यसबेला अगाडिको सिटमा बसेको छु र मार्गदर्शक सुवेदीलाई साथमा राखेको छु । 
हामी भानुचोक पुगेछौँ ।
भानुचोकसँगै बायाँपट्टि रहेछ साहित्यिक पत्रकार भवानी घिमिरेको घर । रुखहरुको अन्तरकुन्तरबाट देखियो — भवानी दाइको पुरानो घर । 
भानुभक्तको सालिक स्थापना गर्ने काममा भवानी दाइको महत्वपूर्ण भूमिका रहेछ । हुन पनि त प¥यो, जसको नामबाट पत्रिका चल्यो सयौँ अङ्कसम्म र जुन पत्रिकाको नामबाट भवानीको नाम पनि जोडियो र पर्यायवाची बन्यो नाम— भानु र भवानी । मैले त एउटा लेखै लेखेँ— भानु कि भवानी ?
हो, वास्तवमा हामीले अग्रजहरुको सम्झना गर्न सिक्यौँ भने आफैँ सम्मानित हुन्छौँ । चन्द्रगढीका साहित्यिक पत्रकार चुडामणि रेग्मीलाई द्वारै अगाडि बसेर संरक्षण गरिरहेका रहेछन्— लेखनाथ बाले र भवानी घिमिरेको ढोकै अगाडि बसेर रखवारी गरिरहेका रहेछन् — भानुभक्त जिज्यूहजुरबाले । 
सहरको हिसाबले दुईवटा सहर — चन्द्रगढी र झापा । किलोमिटरको हिसाबले करिब दुई किलोमिटर मात्र । 
हामी सीधा दक्षिण लागेका छौँ र झापाचोक पुगेकाछौँ । पिचबाटो पछि सरिसकेको छ, कच्ची र धुलेबाटोले स्वागत गर्दैछ । 
कृष्ण सुवेदीले नाम लिँदैछन्— डा. ऋषिकेश उपाध्याय, हीरा आकाश र राधिका रायको । उनीहरुका घर यतै कतै पर्छन् रे ! 
अब त हामीले नगरपालिकालाई पनि पछि छाडेर महेशपुर गाविसमा प्रवेश ग¥यौँ रे ! यसै क्षेत्रसँग साइनो राख्छन् रे ! नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले । 
‘आधा भयो ?’ ‘भएको छैन ।’— साथीहरुको प्रश्नको जवाफ दिँदैछन् सुुवेदी । 
बाटो कच्चीमात्र नभइकन खाल्डाखुल्डी पनि परेको छ ।ज्यादै सुस्त गतिमा अगाडि बढेको छ माइक्रो । 
‘यो भन्दा बढी कुद्न सक्तैन ?’ ‘सक्तैन, गाडीले भुइँ छुन्छ, ह्वील पावर छैन’ भनेर हाम्रो प्रश्नको जवाफ दिँदैछ चालक । 
‘बाटो यस्तै हो कि ! अगाडि राम्रो छ ?’ — जिज्ञासा राख्दैछन् साथीहरु ।
‘यो सीधा बाटो छाडेर कीचकवधतिर मोडिँदा अझ साँघुरो र अप्ठ्यारो बाटो आउनसक्छ’ — त्रास थपिदिन्छन् सुवेदी । 
‘त्यसो भए त फर्काैँहोला कसो !’ — मोहन दुवाल प्रस्ताव राख्छन् । 
म कोट्याउँछु सुवेदीलाई अरुले नदेख्ने गरेर ।
मेरो कुरा बुझ्छन् उनी । 
‘अब कति छ आउन ?’— फेरि प्रश्न आउँछ पछिल्तिरबाट ।
‘ऊ..... अगाडि आइहाल्यो देउनियापुल, त्यहाँबाट आधा ।’— सुवेदी जवाफ दिन्छन् ।
‘भो भइगो फर्काैँ ! फर्के कसो होला !’ — फेरि अरुको समर्थन लिन खोज्छ्न् दुवाल । 
मिश्रित प्रतिक्रिया आउँछ समूहबाट । तर ज्वरो आए पनि कीचकवध हेर्ने इच्छा भएर हो कि बोल्ने जाँगर नभएर हो चुपचाप छिन्— लक्ष्मी । गन्ड्याङगुन्डुङ बाटोमा गाडीबाट धोका पाइने पो हो कि भन्ने डर छ दुवाललाई । गाडीका जिम्मेवार व्यक्ति भएकाले उनी फर्कन चाहन्छन् । त्यसै भएर उनले सुवेदीको समर्थन लिँदैछन्— ‘सुवेदीजी ! फर्काैँ क्यारे होइन र ?’
‘बनारसको पेडा खाए पनि पछुतो, नखाए पनि पछुतो’ — जवाफ दिन्छन् कृष्ण सुवेदी । 
म फेरि कोट्याउँछु सवेदीलाई ।
उनले मेरो मनोभावना बुझ्छन् र हौसला थप्छन् — ‘आधा बाटो काटिसकियो, झन् राम्रो बाटो आउँदैछ, अब फर्कनु उचित हुँदैन ।’
‘आजको तेल खर्च पन्तजीको नाममा राख्नुप¥यो कि क्या हो !’— दुवालजी मेरो मन चोर्न खोज्छन् ।
‘भइहाल्छ नि !’— म समर्थन गर्छु । 
मनमनै भन्छु— मेरै विशेष जोडमा मेरै कारणले अरुले पनि कीचकवध देख्न पाउँछन् र त्यसको श्रेय म पाउँछु भने यस खुशियालीमा तेल खर्च मेरो जिम्मामा आए पनि म सहर्ष स्वीकार्न तयार छु । 
तर म गाडी नबिग्रियोस् र कतै नफसोस् भन्ने पुकारा गर्दैछु— भगवान्सँग । यस्तो कुनै दुर्घटना भइदियो भने त्यसको अपजस आउँछ ममाथि । 
सुवेदी फोन गर्दैछन्— विरही अधिकारीलाई । विशेष अर्थ छ सुवेदीले अधिकारीलाई फोन गर्नुमा । सुवेदीलाई धेरै कुरा थाहा छैन कीचकवधको पौराणिक महत्वका बारेमा । तर कीचकवध नजिकै सगरमाथा टोलमा बस्ने अधिकारीले कीचकवधका बारेमा धेरै कुरा बुझेका छन् र संस्कृतिसम्बन्धी नै अध्यापन गर्दैछन् । 
सीधै दक्षिण गएका हामी मोडिएर पूर्व लाग्छौँ । त्यहीँनेर उभिएका देखिन्छन्— विरही अधिकारी । अब हामीलाई गाइड गर्न थाल्छन् उनी । 
उनी भन्छन् — ‘यो पृथ्वीनगर गाविस । यहाँबाट सीधा दक्षिण गयो भने केचनाकलम पुगिन्छ । यतै हो केपी ओलीको गाउँ पनि ।’
पृथ्वीनगरको कुराले मलाई सम्झना हुन्छ २३ वर्ष अघिको घटना । 
सरकारी कामको सिलसिलामा म धरान गएको बेला तालुक मन्त्रालयको अफिसरको नाताले मलाई आवास कम्पनी झापाका साथीहरुले आफ्नो अफिसमा लगेर स्वागत गरेका थिए । स्मरण योग्य बनेको थियो एकरातको बसाईँ । 
त्यसबेला मलाई केचनाकलम वा कीचकवधको सम्झना भएन । यतिमात्र थाहा थियो कि मलाई अँध्यारोको समयमा म भद्रपुरबाट सीधा दक्षिण गएको थिएँ सरकारी गाडीमा पृथ्वीनगर र एक रात बसेर अर्काे दिन बिहानै फर्केको थिएँ । त्यसकारण मलाई पृथ्वीनगर बाहेक अरु कुरा केही थाहा छैन — त्यो आवास कम्पनी कहाँ थियो ?
मलाई जिज्ञासा हुन्छ पृथ्वीनगर र आवास कम्पनीबारे र सोध्छु विरहीलाई । 
उनी भन्छन् सीधै दक्षिण । 
म छक्क पर्छु उनको कुरा सुनेर । यस अर्थमा कि त्यस बेला बाटोको जुन अवस्था थियो, अहिले पनि उस्तै छ । पिच हुनुको के कुरा, उल्टै खाल्डाखुल्डी परेर बाटोको झन् दुरावस्था भएको छ । ठाउँसँग नाउँ जोडिएको छ— ओली र सिटौलाको । के गर्छन् राजनीति खै नेताहरु ! किन दिन्छन् कुन्नि भोट जनता पनि ? तर कीचकवधतिर जाने बाटो पछाडिभन्दा राम्रो देखेर प्रशन्नताबोध भएको छ मलाई । सुवेदीको भनाइ गलत निस्किरहेको छ त्यहाँ । यति सजिलो बाटोलाई झन् अप्ठ्यारो हुन सक्ने सम्भवना देखाएर हामीलाई तर्साउँदै थिए उनी  । तर बिचरा सुवेदी ! कति वर्षअघि आएका थिए कुन्नि ! 
हामी कीचकवध प्रवेशद्वारबाट छिरेर झन्डै पाँच सय मिटर अघि बढ्यौँ होला किचक मारिएको ठाउँमा पुग्न । तराईको समथल भूभागमा कुनै मानिस लमतन्न सुतेजस्तो गरी अलिकति चुलिएर बसेको भूभाग देखेर अनौठो लाग्दै थियो मलाई । विरहीले त्यहाँको अर्को विशेषता बताउँदै थिएँ— ‘तराईमा अन्यत्र पानीको एउटै सतह हुन्छ, यस्ता थुम्का परेका ठाउँमा खनेर पानी आउँदैन, सतह भेटिँदैन । तर यहाँ अलिकति खन्दासाथपानी आउँछ ।’
विरहीको कुरा सुन्दै हामी पुग्यौँ देउनिया नदीको किनारमा । पछाडि त्यही खोलाको पुल तरेर आइयो, फेरि आयो त्यही खोला ! अर्थात् घुमेर बगेको रहेछ त्यो खोला । 
रुखपातहरुले शोभायमान देखियो ऐतहासिक कीचकवध । जहाँ एकातिर एउटा देवीको मन्दिर छ, मानिस बस्ने एउटा सानो कुटी छ र अर्काेतर्फ खुल्ला ठाउँमा एउटा पेटीमाथि भीमसेनले कीचकलाई मार्दै गरेको खण्डित ढलौट मूर्ति छ ।
फुरफुर गर्दै यता र उता नाचेर फोटो खिच्न व्यस्त छन् — नरेश । 
पाण्डव वनबास भएको बेला विराट राजाको दरबार (विराटनगर)मा बस्दा राजाकै साला कीचकले द्रौपदीमाथि हातपात गरेपछि क्रुद्ध भएका भीमसेनले कीचकलाई लखेट्दै ल्याएर यसै ठाउँमा वध गरेका रे ! 
तर त्यो ऐतिहासिक थलोलाई घेरेर, सजाएर, आकर्षक बनाएर पर्यटक तान्ने सोचाइ गरिएको छैन । संरक्षक विहीन छ, परित्यक्त छ, पूरै क्षेत्र । विरही भन्दैछन्— ‘वर्षेनी बजेट आउँछ, उत्खनन पनि हुन्छ, निस्केका धातुका भाँडावर्तन र अन्य पुरातात्विक सामग्रीहरु गाउँलेको घरघरमा पुग्छन् । सङ्ग्राहलय स्थापना गरेर राख्ने व्यवस्था समेत छैन ।’
‘लामो समयसम्म यस क्षेत्रको संरक्षण गरेर बसेका भरत सर्वजित विश्वकर्माको मृत्यु भएपछि त यहाँको अवस्था झनै दयनीय भएको छ र बनेका संरचना पनि जीर्णशीर्ण हुँदै गएका छन् । ऊ त्यहाँ देउनीया किनारमा बनाइएको छ । विश्वकर्माको सालिक । र, त्यहीँ नजिकै बनाइएको छ भीमसेन पोखरी ।’
विरहीले अर्जुनधाराको कुरा पनि उठाए— ‘गाईले पानी खान पाएनन् भनेर वाण हानी पानी निकालिएको भन्ने विश्वास गरिएको त्यस अर्जुनधाराको हालत पनि त्यस्तै छ । एकातिर अर्जुनले बाण ताकिरहेको र अर्काेतिर बाण प्रहार गरिएको ठाउँबाट निस्केको पानी गाईले खाइरहेको मूर्ति बाहेक अरु संरक्षण केही पनि छैन ।’
म कोचिलाको कुरा उठाउँछु— ‘कोचिलाको अर्थ के हो ?’
विरही भन्छन्— ‘पहिले कोच राजाको राज्य थियो—कोसीदेखि आसामसम्म । अनि भन्न थालियोध— यस क्षेत्रलाई कोचिला ।’
उनले चोर औँलो तेस्र्याए पूर्वतिर — ‘उ.... त्यो मेचीनदी । अलिकति माथि पर्छ मेची पुल । तर अहिले यहाँ तलबाट पनि अर्काे पक्की पुल बन्दैछ । यो निर्माणाधीन पुल पनि मेची पुल जत्तिकै लामो (५६० मिटर) हुन्छ । मेची पुलले भारतको पूर्वी बङ्गाललाई जोडेजस्तै यस पुलले गलगरिया (विहार)लाई जोड्छ । गलगलिया पुल बनेपछि भारतबाट आउने पर्यटकहरुको संख्या यस क्षेत्रमा बढ्न सक्छ, तर यसै अवस्थामा पर्यटक आउलान् भनेर सोच्नु दिवास्वप्न मात्र हुन्छ ।’
हो, वास्तवमा हामीले माल पाएका छौँ, चाल पाएका छैनौँ । विदेशीहरुले कति मिथक कुराहरुलाई जोडेर, प्रचारबाजी गरेर, ठाउँको विकास गरेर, पर्यटक बढाएर कति अर्थाेपार्जन गरिसके । हामी भने भएका तथ्यपरक कुराहरुलाई पनि सार्वजनिक गर्न नसकेर पछि परेको परै छौँ । प्रकृतिले हामीलाई अनमोल रत्न दियो तर हामीले त्यो रत्न कुँदेर प्रयोगमा ल्याउन सकेनौँ । अर्थात् गहना बनाएर आफू सिँगारिन सकेनौँ । 
कीचकवधको दुर्दशा देखेर हराउँछु म त कल्पनालोकमा । साथीहरु फर्केर परै पुगिसकेछन् । माइक्रो बस पनि उनीहरुलाई पछ्याउँदै परै पुगिसकेछ । 
विरहीले विरहका अरु गीत पनि गाउँछन् कि ! म त्यो गीत सुन्नबाट वञ्चित पो हुन्छु कि ! भन्दै दगुरेर मिसिएँ त्यसै भीडमा । 
‘कीचकवध कोचिला द्वार’बाट हामी माइक्रो चढ्यौँ र अँध्यारो भइसक्दा पुग्यौँ भद्रपुर । 
कीचकवधको कचकच सकियो । 
मैले दुई वटा खुशी अनुभूत गरेँ — 
पहिलो, कीचकवधबाट म वध हुनुपरेन । 
दोस्रो, माइक्रोले आफ्नो शक्ति गुमाएन । 

No comments:

Post a Comment