Sunday, June 4, 2017

प्रज्ञामा श्यामप्रसादको स्मृतिमा श्रद्धाञ्जलि सभा



इसमता संवाददाता
काठमाडौँ, २०७४ जेठ १६ । 
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आइतबार प्रतिष्ठानका आजीवन सदस्य एवम् शीर्षस्थ स्रष्टा श्यामप्रसादको स्मृतिमा प्रज्ञाभवनमा श्रद्धाञ्जलि सभाको आयोजना गरियो ।
श्रद्धाञ्जलि सभाका सभाध्यक्ष कुलपति उप्रेतीले साहित्यिक, सांस्कृतिक र राजनीतिक फाँटका शीर्षस्थ अभियन्ता श्यामप्रसादका विचार, भावना र व्यवहारलाई सँगालेर तिनको सूक्ष्म विश्लेषण गर्दै हाम्रा व्यवहारमा लागु गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा व्यक्त गर्नुभयो ।

“श्यामप्रसाद आफ्नो आस्थालाई अविचल रूपमा बोक्ने व्यक्ति हुनुहुन्थ्यो” कुलपतिले भन्नुभयो, “उहाँका विचार, अभियान र योगदानलाई जीवन्त राख्दै आउने पुस्तालाई ती चिज सुन्दर र सुरक्षित रूपमा हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी र कर्तव्य पनि हो ।”
कार्यक्रममा प्राज्ञ डा. अमर गिरीले श्यामप्रसादको व्यक्तित्व तथा कृतित्वबारे प्रकाश पार्दै श्यामप्रसाद सङ्घर्षको पर्याय भएको विचार राख्नुभयो । उहाँले श्यामप्रसाद मूलतः शीर्षस्थ निबन्धकार भएको प्रस्ट्याउनुभयो, “नेपाली निबन्ध साहित्यमा श्यामप्रसादजस्ता निबन्धकार पाउन मुस्किल पर्छ ।”

त्यसै गरी नेपाली लेखक सङ्घका अध्यक्ष एवम् प्राज्ञ श्रवण मुकारुङले जनताको भाषा बुझेर लेख्न र बोल्न सक्ने लेखक श्यामप्रसादलाई कुनै वाद वा सिद्धान्तसँग जोडेर हेर्नुभन्दा उहाँलाई राष्ट्रिय बिम्बका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
प्रगतिशील लेखक सङ्घका अध्यक्ष एवम् प्राज्ञ मातृका पोखरेलले श्यामप्रसाद विचार, सिद्धान्त र निष्ठाको पाठशाला भएको बताउनुभयो । “सरल जीवन र शैलीका उहाँबाट सिक्नुपर्ने कुराहरू धेरै छन्” पोखरेलले भन्नुभयो ।

प्रतिष्ठानका आजीवन सदस्य तथा साहित्यकार मोदनाथ प्रश्रितले सरल व्यवहार र व्यक्तित्वका धनी श्यामप्रसादका कृतिहरूलाई सङ्कलन गरेर प्रकाशित गर्नुपर्नेमा जोड दिँदै सिङ्गो जीवन साहित्य, संस्कृति र सङ्गठन विस्तारमा बिताउनुभएका श्यामप्रसाद शर्माको जीवनशैलीबाट सबै प्रभावित रहेको विचार राख्नुभयो ।

कार्यक्रममा बालसाहित्यकार शान्तदास मानन्धरले भन्नुभयो, “मेरो दाइ, साथी र गुरू रहनुभएका स्रष्टा श्यामप्रसाद राम्रा नराम्रा हरेक घटनाबाट शिक्षा लिने गर्नुहुन्थ्यो । उहाँ हरेक समय, घटना र अवस्थाको नियम बनाएर काम गर्ने व्यक्ति हुनुहुन्थ्यो ।”
अल्जाइमरबाट पीडित प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्षसमेत रहनुभएका श्यामप्रसादको ८८ वर्षको उमेरमा वैशाख २४ गते निधन भएको थियो । 

http://esamata.com बाट साभार 


No comments:

Post a Comment