Friday, September 1, 2017

‘त्यसपछि फुलेन गोदावरी’ सार्वजनिक



भदौ १६, २०७४  काठमाडौँ :
समालोचक एवं अनुवादकको रूपमा चिनिएका साहित्यकार महेश पौड्यालको कथासङ्ग्रह ‘त्यसपछि फुलेन गोदावरी’ शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ। 
बीसवटा कथा संगृहीत उक्त कृतिमाथि समालोचक प्रा.डा. अभि सुवेदीले पौड्यालका कथाले समकालीन नेपाली सामाजको मनोवैज्ञानिक पक्ष समातेको बताए। 

संवेगपूर्ण कथाहरूमार्फत् उनले नेपाली कथायात्रामा एउटा नयाँ शैलीको सुरुवात गरेको बताए। समीक्षक कुमारी लामाले कृतिभित्रका कथामा नारी पात्रहरूले क्रमशः आत्महत्या गर्दै जानु अस्वाभाविक भएको बताइन्।

कार्यक्रमका प्रमुख अतिथि मातृका पोखरेलले आफूले पौड्यालको आख्यान पहिल्यैदेखि पढ्दै र प्रभावित पनि हुँदै आएको बताए। उनले पौड्यालका कथामा वर्ग सङ्घर्ष भएको र कथाले निम्न वर्गका पात्रहरूको बारेमा वकालत गरेको बताए। 


कार्यक्रमका सभापति, त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभागका प्रमुख प्रा. अम्माराज जोशीले पनि महेशका कथाले समाजको अँध्यारो पक्षलाई सतहमा ल्याएको टिप्पणी गरे। पौड्यालले भने समालोचनाले आफ्नो कठोर पक्ष मात्रै उजागर गरेको भन्दै कथामा आफ्नो हृदय पक्ष लेखेको बताए। 

कार्यक्रममा कवि डा. नवराज लम्सालको स्वरमा ‘नर्सरी’ शीर्षकको श्रव्यकथा पनि प्रस्तुत गरिएको थियो। ‘त्यसपछि फुलेन गोदावरी’ कृति ऐश्र्वय प्रकाशनले बजारमा ल्याएको हो ।

http://thahakhabar.com बाट साभार 

==========================================


निर्माणदेखि ध्वंशसम्मको कथा “त्यसपछि फुलेन गोदावरी”



काठमाडौं, भदौ १६ २०७४  । “त्यसपछि घरमा हामीले गोदावरीको फुलबारी जोत्यौं । त्यसपछि कहिल्यै फुलेन गोदावरी, हाम्रो घरको बगैँचामा ।”
माथिका दुई लाइन वाक्य जल्दाबल्दा समालोचक एवं अनुवादक महेश पौड्यालको आज सार्वजनिक कथा सङ्ग्रह “त्यसपछि फुलेन गोदावरी” को अन्तिम हरफ हो । जम्माजम्मी २० वटा कथाहरुलाई उभ्याईएको यो सङ्ग्रहको सुरुमै उनै पौड्यालले भोगेको वास्तविक घटनाक्रममा आधिरित “नर्सरी” कथा छ ।
यसैको दोस्रो अन्तिम अनुच्छेदतिर कथा भनिरहेका पौड्यालले एकजना चिया बनाउने केटालाई आफूसँगै जागिरबाट छुटाएर लान्छन्, अनि छोराकै दर्जामा घरमा राख्छन् । “हामीले आफ्नै बारीमा बोटबिरुवा, फलहरु र पूmलको नर्सरी लगाएका छौं ।” यो वाक्य पौड्यालकै भनाइ हो । तर अन्तिम तथा बिसौंमा सङ्ग्रहकै नाम “त्यसपछि फुलेन गोदावरी” भन्ने कथा समावेश छ ।
यसमा एउटा रमाईलो परिवारभन्दा बाहिरी पात्र “पुङ्किन” लाई गोदावरीको पूmलसँग तुलना गरि त्यहिअनुसारको हेर्ने दृष्टिकोण तयार हुन्छ तर उसले पनि संसार छोड्छ र उ हुँदै लगाएको “गोदावरी” जोतिन्छ । यसरी कथाले तय गरेको यात्रा निर्माणदेखि ध्वंशसम्म, आशादेखि चरम निराशासम्म पुग्छ ।
प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा कथा सङ्ग्रकको विमोचन गर्न आएका अनुभवी समालोचक प्रा.अभि सुवेदीले पौड्याल प्रयोगले पात्रमाथि अतिशयोक्ति गरेको र पात्रलाई सुझबुझ अपनाउन नसघाएको आरोप लगाए ।
कथाकार पौड्यालका गुरु समेत रहेका सुवेदीले उनलाई उर्जावान लेखकको संज्ञा पनि दिए । यहि सुझावलाई पछि पौड्यालले स्वीकार पनि गरे ।
प्राज्ञ मातृका पोखरेलले पनि कथामा पौड्याल शैलीको खुलरै प्रशंसा गरे । यस्तै कथा, कविता वाचन गर्न माहिर नवराज लम्सालले पौड्याल “चिन्ता धरै, चिन्तन कम” गर्नेहरुको भिडबाट अलि टाडा त छन् तर धेरै हैन् भन्ने वौद्धिक प्रतिक्रिया दिए । भाषाको प्रयोग, पात्रको चयन र पाठकलाई निर्णायकको भूमिका दिने मामलामा पौड्यालले अंगालेको मौलिकताको लम्सालले मज्जाले प्रशंसा पनि गरे ।
http://dainikeenews.com बाट साभार 
==============================================
अन्नपूर्ण पाेष्ट, २०७४ साल भाद्र १९ गते सोमबार 

कान्तिपुर दैनिक, २०७४ भाद्र १८ गते आइतबार 
नयाँ पत्रिका दैनिक, २०७४ साल भाद्र १७ गते आइतबार 
=================================

कायाकैरन दैनिक, २०७४ साल भाद्र १७ गते आइतबार 


===========================================
अन्तर्वार्ता 

'सिर्जना मेरो हृदयको गीत हो, समालोचना अरुले दिएको गृहकार्य हो'









खरीबोट




लेखक तथा समालोचक महेश पौड्यालको दोस्रो कथासंग्रह “त्यसपछि फुलेन गोदावरी” शुक्रबार काठमाडौंस्थित प्रज्ञाप्रतिष्ठानमा एक समारोहबीच लोकार्पण सम्पन्न भयो । ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको यस पुस्तकमा बीस कथाहरु समाविष्ट छन् । यसघि ११ वटा कृतिहरु प्रकाशित गरिसकेका पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागमा अध्यापनरत छन् । उनी अहिले श्रीमती रमा अधिकारी पौडयालसँग भक्तपुरमा बस्दै आएका छन् । प्रस्तुत छ लेखन र समालोचनाका साथसाथै अनुवाद र बालसाहित्यको क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्याउदै आएका पौड्यालसँग उनको नयाँ कृतिको सेरोफेरोमा रहेर खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको कथासंग्रह "त्यसपछि फुलेन गोदावरी" हिजो मात्रै सार्वजनिक भएको छ । लोकार्पण कार्यक्रम कस्तो रह्यो? पुस्तकबारे कस्ताखाले प्रारम्भिक प्रतिक्रिया पाइरहनुभएको छ?

विमोचन ऐतिहासिक रह्यो । यत्तिको उपस्थिति मैले मेरा कार्यक्रमहरूमा कहिल्यै देखेको थिइनँ । कतिपय प्रियजनहरू बस्न पाउनुभएन, उभिएरै कार्यक्रममा भागि लिइदिनुभो । कतिपय भने ढोकाबाट छिर्न नसकेर बाहिरबाट माया बाँडेर फर्कनुभएछ । म क्षमा याचना गर्छु । किताबका बारेमा समीक्षकहरूले उत्साहजनक प्रतिक्रिया दिनुभो । कथानकमा कतै कतै अतिशयोक्ति रहेको र नारी पात्र कथान्तमा कमजोर भएको टिप्पणी गर्नुभयो । तर पनि, यी कथाले नेपाली कथाको रजतपटमा एउटा नयाँ सुरुवात गरेको कुरा प्राध्यापक अभि सुवेदी र प्राज्ञ मातृका पोखरेलले बताउनुभयो । कुमारी लामाले यी समाज, मनोविज्ञान र पलायनका कथा भएको बताइन् भने प्राध्यापक अम्मराज जोशीले कथोपकथनको शिल्प र आख्यान शैलीको सराहना गर्नुभयो ।
 

पुस्तक प्रोमोसनका लागि अहिले निकै व्यस्त हुनुहुन्छ तपाईं ।  यो पुस्तक पाठकले किन पढ्ने ?

म विगतका करिब डेढ दशकदेखि लेखनक्षेत्रमा छु, र मेरा पाठकले मलाई पढिरहेकै छन् । पाठक बढिरहेकै पनि छन् ।  त्यसको अर्थ, उनीहरू मेरो लेखनमा केही न केही कुरा उनीहरूको रुचीको भेट्छन् । जहाँसम्म यस सङ्ग्रहको कुरो छ, यो छुटेको इतिहास र छुटेको समाजशास्त्रको कथा हो । परिवर्तन र क्रान्तिको कुरा गरिहँदा, न परिवर्तनले, न कुनै क्रान्तिले छोएका, आफ्नै परिधिभित्र बाँचेका एक्ला, विक्षिप्त अथवा अशक्त पात्रहरू पनि समाजमा छन्, जो हम्मेसि देखिँदैनन् । तर उनीहरूलाई छोडेर समाज अगाडि बढ्दा त्यो पूर्ण हुन्छ भन्ने म ठान्दिनँ । हो, त्यही छुटेको, छोपिएको वा ओझेलिएको समाजको एक झल्को पाउन मेरो कथा मद्दतगार हुनसक्छन् ।

कस्तो पृष्टभूमिमा संग्रह तयार भयो ?  कस्ता विषयवस्तु समेट्नु भएको छ कथाहरुमा ? कस्ता कुराहरुले तपाईंलाई कथा लेख्न प्रेरित गरे?
म दुई दशकदेखि कथा लेख्दै आएको छु । मेरा कथा, कथैको रूपमा अथवा उपन्यासिकाका रूपमा प्रकाशित हुँदै नै आइरहेका छन् । तर मैले व्यसायिक प्रकाशन्गृहमार्फत् पाठकहरूको बृहत्तर समाजमा मेरो कथा पुर्याउन नसकेकै हो । तर यासपालि कम्मर कसेकोछु । भारत र नेपालका विभिन्न परिवेशलाई मेरो कथाको कार्यपिठिका बनाएको छु । मेरो विषयवस्तु भनेको मान्छोको मनोविज्ञान हो । देख्दा एउटा देखिने, भित्र अर्कै जीवन बाँचिरहने पनि हुन्छ मान्छे । मेरो कथाका पात्रको भित्रपट्टिको पाटो मेरो कथामा बढी आएको छ । ठूलाले नबुझ्दा अन्यायमा परेका बालबालिका, सबलाङ्गले नबुझ्दा दुःखमा परेका विकलाङ्ग, जवानले नबुझ्दा दुखेका बूढापाका, सन्तानले नबुझ्दा दुःखी भएका बूढापाका, मालिकले नबुझ्दा पछि परेका नोकरहरू, समाजले नबुझ्दा तल परेका नारीहरू मेरो कथाका पात्र हुन्, र तत्तत् परिस्थितिमा न्यायको खोजी, मेरो कथाको मूल अभीष्ट हो ।

जहाँसम्म प्रेरणाको कुरा छ, समाजमा घुम्दा, जाँदा मैले खोज्ने गरेका पात्र वा घटना भेटेँ भने म कथा लेखिहाल्छु । नत्र लेख्दिनँ । टेबलमै टाउको ठठाएर कथा कहिल्यै फुरेन मलाई । पूरै काल्पनिक कथा म लेख्दिनँ । कल्पनै लेखे पनि एउटा कथाको भ्रूणचाहिँ कुनै वास्तविकता नै हुन्छ मेरो सम्दर्भमा ।

 समकालीन नपाली साहित्यमा उपन्यास बढी पढिन्छन् । कथासाहित्य उल्लेख्य रुपमा फस्टाउन सकेको देखिंदैन । आख्यानकारहरु पनि विशेषगरि उपन्यासतिरै आकर्षित हुन्छन् । यस्तो अवस्थामा कथासङ्ग्रह प्रकाशित गर्नु जोखिम नहोला ? तपाईंले अहिलेको साहित्य बजार कस्तो पाउनुभएको छ ?
 

विश्लेषण सही हो । तर, कथा लेखेको छु, कथै छाप्नुपर्यो । एक नम्बरमा नभए पनि उपन्यासपछि, बिक्रीको हिसाबमा कथा माथि नै छ ।  फेरि, कथोपकथनको परम्पराबाट आएको हाम्रो समाजको एउटा आफ्नै निर्मिति पनि हो कथा । एउटा सिँगो उपन्यासले एउटा विषयवस्तुलाई उठाउन सक्छ भने, त्यही आउतनको एउटा कथा सङ्ग्रहले, छोटा छोटा कथामार्फत्, बीसौँ विषयको उठान गर्न सक्छ । एउटै कथासङ्ग्रहभित्रै, आन्तरिक विविधता सम्भव छ, र एकैचोटि विविध चाखका पाठकहरूको रुचिलाई सम्बोधन गर्न सक्छ । मैले बजारको मनोविज्ञान बुझेको छ, र त्यसरी हेर्दा अलिकति जोखिन त छ । तर हेरौँ, के थाह । तपाईंहामीले नै निर्माण गरेको त हो बजारको रुचि पनि । फेरिन पनि त सक्छ ।  
यसअघि तपाईको उपन्यास "तादी किनारको गीत” प्रकाशित भयो, कस्तो प्रतिक्रिया पाउनुभयो पाठकहरुबाट? तादी किनारको गीतको फ्लेवर आउँछ कि आउँदैन तपाईंको नयाँ कथाहरुमा?
तादी किनारको गीतमाथि आएका प्रतिक्रियाबाट आह्लादित छु । जहाँ जहाँ पुग्यो र पढियो, त्यहाँ त्यहाँबाट अपार माया पायो कृतिले । तर, यसको प्रकाशकले बजार व्यवस्थापन पटक्कै राम्रो गरेन । दोलालघाट र नुवाकोटको कथा छ, ती ठाउँमै पुगेन । मेरो पाठक सबैतिर छन्, किताब कतै पुगेन । म पूर्वको मान्छे, पूर्व गएन । काठमाडौँ पनि साहित्य बेच्ने मूल गौँडामा किताब गएन । निराश छु । त्यैले गोदावरी अर्के प्रकाशन गृहबाट छाप्दैछु ।

कथा लेख्ने र भाषा खेलाउने मेरो एउटा शैली छ । त्यो शैली, गोदावरीमा पनि आउने नै भयो । फेरि मलाई नदी, पानी, नदीकिनार, माझी, डुङ्गा र बालबालिका असाध्य मनपर्छ । ती पात्र र विम्ब तादी किनारको गीतमा पनि थिए, गोदावरीमा पनि आएका छन् । तर, गोदावरीमा अन्य परिवेशका कथा पनि छन् र केही नयाँ, आजको समयका कुरा पनि छन्, । त्यसैले विविधता पनि पाइएला ।
तपाईं विशेषगरि नेपाली साहित्य क्षेत्रमा समालोचकको रुपमा चिनिदै आउनुभएको छ, अहिले आफैं लेखक भएर प्रस्तुत हुनुभएको छ । समालोचकबाट लेखक हुँदाका अनुभवहरु कस्ता छन् तपाईंसँग ?

म पहिले लेखक नै थिएँ, हुँ । मेरा ११ प्रकाशित कृतिमा सिर्जनाका दस, समालोचनाको एक । अब भन्नुस्, म के हुँ? मैले पत्रपत्रिकामा पुस्तक समीक्षा लेख्ने गरेकोले मलाई समालोचक भनेका हुन् । त्यसैले, सिर्जनामा निरन्तर लाग्दा मलाई आफ्नै घरमा बसेजस्तो लाग्छ । समालोचनामा लाग्दा मितबाका घर गएजस्तो लाग्छ ।
समालोचना अरुका लागि गरेँ, कथा आफ्नै लागि लेखेको हुँ । समालोचनामा जानी नजानी, कनीकुथी बौद्धिक हुने कोशिस गरेँ र हृदय लुकाए । कथामा हृदय लेखेको छु । मेरो भावपक्ष ल्याएको छु । मेरा आँसु र हाँसो लेखेको छु । सिर्जना मेरो हृदयको गीत हो । समालोचना अरुले दिएको गृहकार्य हो । दुवै प्रेमले गर्छु, तर सिर्जनामा जस्तो खुसी र आनन्दा समालोचनामा आउँदैन ।
तपाईं पहिलेदेखि नै कविताहरु लेख्नुहुन्छ ।  सामाजिक संजालमा तपाईंका धेरै कविताहरु पढ्न पाइन्छन् । अब तपाईंलाई कविको रुपमा कवितासंग्रह पनि पढ्न पाइएला ?
म दुई खाले कविता लेख्छु आयतनका हिसाबले — लामा, र छोटा । छोटा कविता त ५०० जति होलान् । सङ्ग्रह गर्ने हो भने, किताब बनिहाल्छ । लामा कविता (“लामा किवता” भनिने अर्थमा होइन, औसत लम्बाइका कविता) पनि ३० वटा जति छन् । केही थप, र केही काँटछाँट गर्दा सङ्ग्रह पुग्छ होला । अब हेरौँ, गोदावरीले मैदानमा गोल छिराउने हो कि आत्मघाती गोल गर्ने हो । बजारमा मेरो नाउँको स्वीकृति कस्तो हुन्छ, त्यो हेरेर म अगाडिका सङ्ग्रहको योजना बनाउँछु । कविता भने निरन्तर लेखि नै रहनेछु ।
http://kharibot.com बाट साभार

=============================================



कार्यक्रममा मन्तव्य राख्दै कथाकार महेश पौडेल 



कार्यक्रममा मन्तव्य राख्दै कथाकार एवं कार्यक्रमका प्रमुख अतिथि मातृका पोखरेल 

=============================================

कार्यक्रमका तस्विरहरू :-






























No comments:

Post a Comment