Monday, August 27, 2018

शान्तदासलाई देवकोटा लु–सुन प्रज्ञा पुरस्कार


काठमाडौं । अग्रज प्रगतिवादी साहित्यकार शान्तदास मानन्धरलाई २०७५ साल भाद्र ९ गते  यस वर्षको ‘देवकोटा लु–सुन प्रज्ञा पुरस्कार’ प्रदान गरिएको छ । राजधानीमा शनिबार देवकोटा लु–सुन प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा मानन्धरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ५० हजारसहित ताम्रपत्रले सम्मान गरे । उनले आफूले साहित्यकार मानन्धरलाई सानैदेखि पढेको एक सरल लेखक र सहज अनुवादकका रुपमा चिनेको बताए ।  

मन्त्री अधिकारीले कला र साहित्यले समाजलाई सही दिशामा लैजान भूमिका खेल्ने भएकाले यसको महत्वलाई सबैले गम्भिर रुपमा लिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘समाजवादको उद्देश्य भनेको जनताको समृद्धि भएको हो । अबको साहित्यिक यात्रा समृद्धितर्फ केन्द्रित हुनुपर्छ । कला, संस्कृति र साहित्यको कसरी विकास र उत्थान गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर रहेको छ र यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको छ ।’ 

सम्मानित व्यक्तित्व मानन्धरले आफूले निष्ठा र आस्थाका साथ सिर्जनात्मक लेखन र अनुवाद कर्मलाई अगाडि बढाएको बताए । उनले भने, ‘साहित्यलाई सहज ढंगले जनतासम्म पु¥याउनुपर्दछ । समाज रुपान्तरणमा साहित्यको भूमिका अहम् हुने भएकाले जनतालाई सचेत र जागरुक बनाउन पनि कला साहित्यको महत्व रहन्छ ।’ बालबालिकामा बाल साहित्यको पहुँच र विस्तार पु¥याउन विद्यालय–विद्यालय पुगेर पठन संस्कृतिका पक्षमा लामो समयसम्म अभियान चलाएका मानन्धरको ‘बालकोसेली’ बालबालिका माझ निकै लोकप्रिय कृतिका रुपमा चिनिन्छ । 

साहित्य, राजनीति, अनुवादलगायतका क्षेत्रमा विशिष्ट पहिचान बनाएका मानन्धर बालसाहित्यलेखन र अभिनयसहितको बालकथा वाचनमा समेत निपुर्ण मानिन्छन् । नेपाल भाषा र नेपाली भाषामा साहित्यसिर्जना गर्ने, प्रकाशन र प्रसारणका माध्यमबाट योगदान गर्ने मानन्धरले प्रगतिशील साहित्यिक आन्दोलन र वैचारिक चेतनानिर्माणमा विशिष्ट योगदान दिएका छन् । उनले शिक्षणसेवा तथा वडाध्यक्ष भई काम गरेका छन् । नयाँदेखि पुराना पुस्तासम्मलाई समन्वय गरेर, लोभलालच कहिल्यै नगरेर नेपाली प्रगतिवादी साहित्यमा र बालसाहित्यमा गहकिलो योगदान दिएका छन् ।  

कार्यक्रममा मानन्धरको कृतित्व र व्यक्तिका बारेमा साहित्यकार डा. रामप्रसाद ज्ञवालीले भने, ‘बहुआयामिक व्यक्तित्वका धनी शान्तदास आफ्नो विचारमा प्रतिबद्ध र काममा निरन्तर खट्ने व्यक्तित्व हुनुहुन्छ ।’ उक्त कार्यक्रममा साहित्यकार प्रा डा चूडामणि बन्धुले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक चिन्तन र वैचारिक विकास’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा बन्धुले महाकवि देवकोटाको सामाजिक पृष्ठभूमि, नेपाली साहित्यमा उनको योगदान, साहित्यिक मान्यता, वैचारिक विकास, जीवनको पूर्वाद्र्ध, उत्तराद्र्ध कालका रचनाका बारेमा चर्चा गरेका छन् । 

लेखक तथा प्राज्ञ डा अमर गिरीले देवकोटाको वैचारिक चिन्तनका बारेमा प्रा डा बन्धुले मिहिनेत गरेर कार्यपत्र तयार पारेको बताए । कार्यपत्रमाथि टिप्पणी गर्दै डा गिरीले केही वैचारिक पक्षलाई सुधार गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष रामबाबु सुवेदीले नेपाली साहित्यमा मानन्धरले दिएको योगदान अतुलनीय रहेको बताए । प्रतिष्ठानले नेपाली कला र साहित्यका क्षेत्रमा देश विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै उनले भने, ‘महाकवि देवकोटा र चिनियाँ साहित्यकार लु सुनलाई नेपाल तथा चीनमा चिनाउने उद्देश्यका साथ प्रतिष्ठानको स्थापना गरिएको हो ।’ 

नेपालका साहित्यकारको अग्रसरतामा नेपाली साहित्यका महाकवि देवकोटाको योगदान र चिनियाँ साहित्यमा लु–सुनको योगदानलाई नेपाल र चीन दुवै देशमा उत्तिकै महत्वका साथ प्रचारप्रसार गर्ने उद्देश्यले प्रतिष्ठानको स्थापना गरिएको अध्यक्ष निनु चापागाईले बताए । 

कार्यक्रमको सन्दर्भ पारेर साहित्यकार तथा प्राज्ञ मातृका पोखरेलले देवकोटाको ‘स्वतन्त्रता हो मानवता रे’ कविता र सीता शर्माले लु सुनको ‘नेपोलियन र जेनर’ निबन्ध वाचन गरेका थिए । लु–सुन छिमेकी देश चीनका आधुनिक र प्रगतिशील साहित्यका अग्रज व्यक्तित्वका रुपमा चिनिन्छन् । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले लु सुनलाई चीनको सर्वहारा सांस्कृतिक क्रान्तिका सर्वोच्च कमान्डर मानेका छन् । चीनका गोर्की भनेर पनि चिनिने गरेका यिनको नाममा चीन सरकारले लु सुन साहित्य पुरस्कारसमेत स्थापना गरेको छ ।


www.samachardainik.com बाट साभार 




No comments:

Post a Comment