000
कवि मातृका पोखरेल कविताको आकाशमा चिनाइरहनु पर्ने नाम होइन । सरल जीवनशैली,शालिन व्यक्तित्व,प्रगतिशिलधारका पृष्ठपोषक । उनी कहिल्यै निराश देखिन्नन् । आशावादीताको लाममा सदैव उभिने पोखरेल आफ्नो विचारमा जहिल्यै दृढनिश्चयी भावमा देखिन्छन् । विभिन्न संघसंगठनमा समेत उनको जिम्मेवारी र क्रियाशिलताले उनको लेखनी वाहेकको बहुआयामिक व्यक्तित्वलाई प्रष्ट पार्दछ ।
यसअघि सेतो दरवारको छेउबाट ,यात्राको एउटा दृश्य, अनुहारहरु कवितासंग्रह र सन्त्रस्त आँखाहरु, घाम झुल्किनुअघि कथा संग्रह प्रकाशित गरिसकेका कवि मातृका पोखरेलको कृतिका हिसावले मित्रताको आकाश छैठौं कृति हो । यसभित्र मित्रताको आकाशदेखि मान्छेहरुको भर्यांग गरि २६ वटा विभिन्न शिर्षकका कविताहरु उनिएका छन् ।यी कविताहरुले जीवनप्रतिको आशावादीता दर्शाउँछन् उनी । जसरी उनी आफ्नो राजनीतिक आस्था र विचारमा दुढ छन् उसरी नै आफ्ना कविताहरु मार्फत विचारको खेती गरेका छन् ।उनका विचारलाई कविता मार्फत सगरमाथा र्झै चुलाएका छन् । उनले तय गरेको समाजको परिवर्तनको बाटो हजारौं हजार माइल लामो छ त्यहि लामो यात्रामा लामवद्ध एक अगुवा यात्री हुनुको नाताले उनले कविता मार्फत पथ प्रर्दशकको काम पनि गरेका छन्। सुनाखरी फुल झै फुलाएका छन् । कवितामा किंचित कल्पनशिलताले वास गरेका छैनन् । उनका कविताका विषयवस्तु यहि समाजका वरपर हुने गरेका यथार्थ कुराहरु छन् । यथार्थसँग जोडिएका कविताका अन्र्तवस्तुले हाम्रो समयको प्रतिनिधित्व गरेको छ । कविता छोटा छन् तर यिनले दिएका सन्देशले समाजलाई सकारात्मक रुपान्तरणतर्फ दिशावोध गर्छन् । जनहरुका मनका पोथ्राहरुको पिडा र छटपटि ओकल्छन् । प्रगतिवादी चेत र भावनाले भरिपूर्ण कविताहरुले वर्गियताको पक्षधरता लिएका छन् । वर्गिय समाजमा वर्गिय माया मात्र चोखो हुन्छ भन्ने कुरामा प्रष्टता छ कविमा र त अनेकानेक बिम्बहरु प्रस्तुत गरेर कवितामा विद्रोहचेत ओकलेका छन्। उनका सबै कविताको आधारभूमी हाम्रो समाज नै हो । मिहेनतकस बर्गको दुखपिडा, समाजका अनेकौं विसंगत वस्तुस्थिति र तिनले सृजना गरेको परिवेश नै उनका कविताका विषयवस्तु हुन् । उनका कविताका विषयवस्तु र प्रवृति हेर्दा उनमा परिवर्तनको लालसा र भोक धेरै लागेको अन्दाज गर्न कुनै कठिनाइ पर्दैन ।
कवि पोखरेलका कविताको वैशिष्ट्यता भन्नु नै प्रगतिवादीता हो । यसै विचारले प्रभावित कविताहरुले यहाँ स्थान पाएका छन् । शव्द चयनका हिसावले पनि अव्बल लाग्छन् अनि विचार संप्रेषणको हिसावले उत्तिक्कै उम्दा देखिन्छन् । युगिन चेतनाको तीव्रतर अनुभूति भएका पोखरेलका कवितामा कलात्मक बिम्महरुको समुचित प्रयोगले पठनिय बनाएको छ । विषयगत विविधता कविताको अर्काे पक्ष हो । यसमा समेटिएका कविताहरुमा युगवोधको जीवन्त चित्रणले भरिपूर्ण छन् । कतै प्रतिकात्मक शैलीमा प्रस्तुत गरेका छन् भने कतै आलोचनात्मक दृष्टिले हेरेका छन् । यसरी विभिन्न भावशैलीमा उनको विचार प्रस्तुत भएको छ । यसैले भन्न सकिन्छ कवि मातृका पोखरेलका कविताहरुको भावअभिव्यक्तिमा विशिष्टता देख्न पाइन्छ ।
पहिलो शिर्षक कविता ुमित्रताको आकाशुमा कवि जीवन र जगतप्रतिको प्रष्ट दृष्टिकोण बोकेर समाजवादको सपना बोकेर लागिपरेको र त्यसलाई विथोल्न हरयत्न गर्ने बीचको मित्रताको दुरीलाई मापन गर्न खोजिएको छ ।
मैले खोजेको थिएँ
सानासाना चुहुने खण्डहर झुप्राहरु मिलाउँ
र एउटा नयाँ सुरक्षित घर बनाउँ,
उ सँगसँगै मैले
राष्टलाई एउटा घर बनाउने
सपना त्यागेको घोषणा गर्न सकिनँ । (मित्रताको आकाश)
वर्तमान समयका राजनीतिक दलका केही नेताहरु जंगबहादुर बन्न खोजेको प्रवृद्धि प्रति जंगबहादुरको बिम्बमा ब्यंग प्रहार गरेका छन् उनले ।
हामी सबै जंगबहादुरबाट घेरिएका छौं
जताततै सडकमा
सरकारी कार्यालयहरुमा
नीति निर्माणका तहहरुमा
पार्टीको पोलिटव्यूरो र स्थायी समितिहरुमा
कहाँ छैनन् जंगबहादुरहरु ?(जंगबहादुर)
वर्तमान उत्तरआधुनिकतावाट उनी दिक्क देखिन्छन् । समाजलाई हेर्ने दृष्टिचेतमा भ्रम भएपछि ,भनाई र गराइमा पृथकता भएपछि जुनसुकै विचारको चस्मा लगाएपनि केही हुन्न भन्ने उनको तर्क छ । यसैले जीवन र जगतप्रतिको प्रष्ट दृष्टिकोण देख्न सकिन्छ उनमा ।वर्तमान समाजमा दृष्टिभ्रम छर्ने थुप्रै कुराहरु भएकोले तिनवाट मुक्त हुन चस्माको बिम्ब प्रयोग गरेका छन् ।
तिम्रो वजारवाट किनेको चस्माबाट
कालो र सेतो रंग
उस्तै उस्तै देखियो ।
कहीँ केही छुट्टिएन ।(चस्मा)
ऐना उनको बलशाली कविता हो । यसले गहन विषयवस्तु उठान गरेको छ । प्रतिकात्मक रुपले लेखिएको छ ।
शहरमा माक्र्सवाद कविताले आजकल कम्यूनिष्ट पार्टीहरुमा आएको वैचारिक विचलनलाई संकेत गरेको छ । पहिरोले यथास्थितिवाद र प्रतिगमनलाई बोध गरेको छ । यसमा प्रतिगमनका हिमायतीहरुप्रति प्रहार गरिएको छ । नयाँ प्रतिभाको खोजीमा विचारप्रति दृढ,लक्ष्यप्रति प्रतिवद्ध पात्रको चित्रण गरिएको छ । दिल्लीका मच्छरहरुमा नेपालको हरेक कुराम दिल्लीको नजर लाग्ने गरिएको प्रति कटाक्ष गरिएको छ । यस कवितामा नेपालको हरेक क्षेत्रमा दिल्लीको अप्रत्यक्ष हस्तक्षेप भएको वर्तमान परिस्थितिको यथार्थ चित्रण गरिएको छ । युद्धको नाट्यशालामा अदृश्य इश्वर नामको शक्तिप्रति कटाक्ष सहितका शब्दका गजब बिम्बहरुले प्रयुक्त कविता बनेको छ । हिजो जनताका सपनाहरुको हत्या गर्ने राजवंश प्रति केन्द्रित छ नागार्जुनको सर्प । सर्पको बिम्बद्धारा उसको चरित्र चित्रण गरिएको छ ।
समाजवोधले कविलाई छुन्छ र त समाजप्रतिको सकारात्मक भावमा प्रस्तुत हुन्छन् उनी एउटा प्रतिनिधि पात्र कन्चन मार्फत सपना र टर्चलाइटमा । अभाव र छटपटिमा वाँचेको गाँउ र गाँउलेहरुलाई ति समस्याहरुवाट मुक्त पार्न ,समाजमा उज्यालो चेत जगाउन अगुवाइ गर्ने कामरेड कन्चनको पलायनता ? वा वेपत्ता को वर्णनयुक्त यो कविता प्रतिकात्मक र भावनात्मक छ । यसमा संग्रहित मैले उतिबेलै भनेको थिंए कविता मलाई मन परेको सुन्दर कविता हो । हाम्रो समाज राजनीतिक अन्धता र नेतृत्वलाई देवत्वकरण गर्ने मामलामा धेरै अगाडी छ,यसैले जनताले पटक पटक धोका पाएको अवस्था छ । यस्तो नगर्न सचेत गराँउछन् कवि ।
मेरो साथीहरुलाई देवता बनाउन पनि रहर
देवता फुटाउन पनि रहर
यात्रा गर्न पनि हतार
पछुताउन पनि हतार
मैले उतिबेलै भनेको थिएँ
सबै काम सोचेर गर्नु
उनीहरु रिसाएका थिए त्यसबेला । (मैले उतिबेलै भनेको थिएँ)
साँच्चै कति मिठो छ यो । अनि यथार्थपरक उत्तिक्कै । नेपाली समाजको चरित्र चित्रण साह्र्रै राम्रो । हतारोको निर्णय र फुर्सदको पछुतो । नेपालमा झाँगिंदो भिडतंन्त्रलाई उजागर गरेको छ यस कविताले ।
समाज परिवर्तनको लागि निरन्तर लागि रहेको पात्र हो नरेश शाक्य । तर उ नेताहरुको लागि भरेंग मात्र भएको छ । संघीय गणतन्त्रको अभ्यासमा मुलुक अगाडी बढीरहँदा पनि नरेश शाक्यको भूमिकाको कुनै मुल्याँकन छैन् । यहाँ यस्तै छ । हजारौं नरेश शाक्यहरु यहाँ परिवर्तनको आभाषसम्म महसुस गर्न नसकि उत्तिक्कै चुपचाप गुमनाम बस्नु परेका उदाहरण छन् यहाँ । यसैको मार्मिकतापूर्ण चित्रण छ नरेश शाक्यका आँखामा । बुढो माकुरोसँग बस्ने अभ्यस्त यो महानगरीमा कैयन नरेश शाक्यहरु हिड्ने गोरेटोहरु आज पनि उस्तैछन् । उनीहरुको सपनाको सत्तासिनहरुले हत्या गरेका छन् भन्ने कुरालाई साहै्र नै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
अनेकोट जहाँ जनयुद्धताका कलिला साँस्कृतिक योद्धाहरुको हत्या भएको थियो त्यो सँग सम्बन्धित रहेर ुअनेकोटले हेर्ने आँखाु सृजना गरिएको छ । कविलाई अनेकोटको त्यो विभत्स अनि क्रुर हत्याले छोएको छ । साँस्कृतिक योद्धा माइला लामा,च्यागंबा लामाहरुको रहर पुरा हुन नपाँउदै मारिनुपरेको पीडाले कवि भावुक बन्छन् । तर आस्था किंचित विचलित हुन्न कविका । उनीहरुका सपना र आफुले देखेको सपना एकै भएकोमा कवि उत्तिक्कै विश्वस्त छन् । र उनी अनेकोटलाई माया गर्छन ।
यस्तै यस्तै अभावमा परेका मान्छेहरुका पीडा,परिवर्तनका सपना,समाजका ठालु प्रवृद्धि विरुद्धको आक्रोस, नेताहरुको अदुरदर्शिता र ब्यक्तिगत पदलोलुप प्रतिको कटाक्ष,युगवोधको जिवन्तता, समाज र जीवन प्रतिको प्रगतिशिल दृष्टिगोचर नै मित्रताका आकाशमा अटेका विषयहरु हुन् । एकाध कविताम भेटिएका विषयवस्तुका अपूर्णता बाहेक कविताहरु जीवन्त लाग्छन् । उनी जस्तो छन् त्यस्तै खुला ह्रदयले अभिव्यक्ति दिन्छन् भन्ने कुराको राम्रो सबुद लाग्छ यो कृति । बिम्बविधानको आवश्यकता अनुरुपको प्रयोगले कविताहरु मिठासयुक्त छन् । प्रगतिवादी कवि हुनुका नाताले समाज प्रतिको विंह्गम दृष्टिचेतले भरिएका कविताले यहाँ स्थान पाएका छन् । तितामिठा अनुभूति,समाज र जीवनप्रतिको जटिलता, राजनीतिक नेताहरुका गलत चिन्तन प्रतिको दुखेसो,गुनासो,आक्रोस सबैको इमान्दार अभिव्यक्ति बनेको छ मित्रताको आकाश । नेपाली कविहरुको भीडमा स्पष्टदृष्टिचेत सहितको अनुहार कवि मातृका पोखरेललाई हार्दिक बधाई । ।
No comments:
Post a Comment