Saturday, December 13, 2025

उपन्यासकार धर्मेस पोखरेलको उपन्यास 'भोगाइ' को परिचर्चा कार्यक्रम

वि. सं. २०८२ साल मंसिर २७ गते  शनिवार पद्मोदय विद्यालय, रामशाहपथ, पुतलीसडकमा उपन्यासकार धर्मेस पोखरेलद्वारा लिखित उपन्यास भोगाइको परिचर्चा कार्यक्रम सम्पन्न भयो । 

साहित्यकार, प्राज्ञ संस्कृतिकर्मीहरूको  बिचमा भएको परिचर्चा कार्यक्रममा वरिष्ठ पत्रकार महेश्वर दाहालले भोगाइ उपन्यासमा नेपाली समाजमा जमेर बसेको कुरिति, कुसंस्कार,र भोगाइहरुको संगालो छताछुल्ल भएको र लेखक आफैले भोगेका सास्तीहरूलाई उनेर तयार पारिएको कथा रहेको छ भनेर टिप्पणी गर्नुभएको थियो । 

कार्यक्रममा  वरिष्ठ साहित्यकार  मातृका पोखरेलले भोगाइ उपन्यासमा लेखक आफै जीवनमा पल-पल कसरी तडपिदै, पिडा सहँदै, फेरि पनि कसरी जिवन सुन्दर बनाउन, समाज सुन्दर बनाउन सकिन्छ भनेर गहिरो संघर्षमा झ्वाम्म हामफालेका छन् भन्नुहुदै उपन्यास मा प्राविधिक कमजोरीहरू रहे पनि विषयवस्तुका हिसावले उपन्यास सवल  रहेको धारणा राख्नुभयो ।  

वरिष्ठ संस्कृतिकर्मी डा. पुष्करराज  भट्टले आफूले उपन्यास नपढेको भए पनि भोगाइ शिर्षक रहेकोले पक्कै पनि जी वन र समाजका भोगाइहरू नै यसमा  उनिएको हुनुपर्छ भन्नुभयो।  साथै उहाँले  साहित्यकारहरूको संगठनलाई धेरै मजवुत बनाएर अघि बढ्नुपर्छ भन्ने धारणा  राख्नुभयो । 

त्यसैगरी अर्का वक्ता जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष भीम कुमाखीले उपन्यासकार धर्मेस पोखरेल यस उपन्यास भित्र कतै रूनुहुन्छ त कतै  हास्नु हुन्छ भन्दै  जीवनको संघर्षमा होमिदै बिभिन्न खाले आन्दोलनमा समाहित हुदै दशवर्षे जनयुद्धसँग  जोडिन पुग्नुहुन्छ भन्नुहुँदै जीवनमा  आशावादी हुँदै अगाडि बढ्नुपर्छ  भन्ने सन्देश उपन्यासले दिएको छ भन्ने धारणा राख्नुभयो । 

अर्का वक्ता नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले उपन्यासमा प्रसस्त प्राविधिक कमजोरी भएको छ र त्यसलाई सच्याएको भए अझै उत्कृष्ट सिर्जना बन्न सक्थ्यो भन्दै उपन्यासकार लाई उपन्यास पस्किएकोमा बधाई दिनुभएको थियो । 

अर्का वक्ता साहित्यकार पुण्यप्रसाद  आचार्यले यस उपन्यासले सामाजिक जीवनको बारेमा नेपाली समाजमा रहेको होचोअर्घेलो, उथलपुथलको बारेमा गहिरो जानकारी दिएको छ भन्नु भयो ।

अन्त्यमा उपन्यासकार धर्मेस पोखरेलले बरिष्ठ साहित्यकार एवं प्राज्ञहरूले औल्याएका गल्ती कमजोरीहरुलाई हृदयङ्गम  गरी  अगाडि बढ्ने  प्रण गर्दै सबै साहित्य अनुरागी मित्रहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

कार्यक्रम अखिल नेपाल लेखक संघको व्यानरमा बातालाबाको  ३६ औं  श्रृंखला अन्तर्गत सम्पन्न भएको थियो । उक्त कार्यक्रम बातालाबाका  संयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अगिव बनेपालीले संचालन गर्नुभएको थियो  । 

000 

समाचार स्रोत : धर्मेश पोखरेल 















No comments:

Post a Comment