Friday, August 21, 2015

जननृत्य गुरू हरिकृष्ण दर्शनधारीको सम्झना

जननृत्य गुरू हरिकृष्ण दर्शनधारीको सम्झना
२०७२ साउन ३० । नेपाली भाषाको सिम्मा, कहाली र बुहारीदेखि नेपालभाषाको ‘लसय् हंगु विरोध’जस्ता गीति नाटकका निर्देशक रहेका हरिकृष्ण दर्शनधारीलाई शनिबार कीर्तिपुरमा सम्झना गरिएको हो ।
समाजलाई दिने बाहेक लिने कुनै चासो र चिन्ता नभएका जनकलाकारको व्यक्तित्व बनाएका र जननृत्य गुरुका रुपमा स्थापित रहेका हरिकृष्ण दर्शनधारीको सम्झनामा चौथो स्मृतिसभा आयोजना गरिएको हो । ६७ वर्षको उमेरमा २०६८ सालमा देहान्त भएका दर्शनधारीको स्मृतिसभामा कलाकारहरु राधेश्याम प्रधान, नारायणदेवी प्रधान, रायन श्रेष्ठसँगै प्राज्ञ एवं साहित्यकार मातृका पोखरेल र पूर्व राज्यमन्त्री दिलिप महर्जनले मन्तव्य राखेका थिए ।
इन्द्रेणी सांस्कृतिक समाज [इसास]का सस्थापक अध्यक्ष रायन श्रेष्ठले आफ्ना निकटका मित्र हरिकृष्ण दर्शनधारीसँग लामो समय सँगै क्रियाशील रहेको सम्झना गरे । दर्शनधारीसँग अहंकार नरहेको र उनी निष्क्रिय भएर रहनै नचाहने व्यक्तिको रुपमा रहेको श्रेष्ठले बताए ।
सांस्कृतिक क्षेत्रलाई अगाडि लैजान उनी हरपल क्रियाशील रहेको, त्यसमाथि पनि कीर्तिपुरमा नृत्य सिकाउने भनेपछि उनी निकै उत्साहित हुने गरेको स्मरण गर्दै श्रेष्ठले भने, ‘जजसले उनीबाट नृत्य सिक्नुभएको छ, अब उनीहरुले हरिकृष्ण दर्शनधारीको सीप र कलालाई जीवित राख्न म हार्दिक अनुरोध गर्दछु ।’
हरिकृष्ण दर्शनधारीलाई स्मरण गर्दै कलाकार राधेश्याम प्रधानले उनको योगदानको चर्चा गर्दै उनी एक मिलनसार, सहयोगी, कहिले पनि नरिसाउने व्यक्तिको रुपमा रहेका बताए ।
आफू धेरै समयसम्म उनी सँगसँगै विभिन्न कार्यक्रममा संलग्न रहेको सम्झँदै प्रधानले उनी राजनीतिक मुद्दामा कुरा गर्नु भन्दा पनि कसरी सांस्कृतिक फाँटलाई बलियो पार्ने भन्ने बारेमा चिन्तित रहने गरेको बताए ।
कलाकार नारायणदेवी प्रधानले हरिकृष्ण दर्शनधारीलाई आँखामा राख्दा पनि नबिझ्ने व्यक्तिको रुपमा रहेको बताइन् । राट्रिय प्रज्ञा प्रतिष्ठानको उद्घाटनमा उनको सहभागिताले निकै चर्चा पाएको सम्झँदै प्रधानले दर्शनधारी हरेक परिस्थितिमा पनि हाँसिराख्ने र अरुलाई पनि हँसाउने व्यत्तिाmको रुपमा चिनिएको जानकारी दिइन् ।
‘घरमा जस्तोसुकै समस्या भए पनि कार्यक्रम भनेपछि उनी सहभागी नभएको कार्यक्रम नै सायद छैन होला । त्यसैले आज हाम्रो अगाडि उनको भौतिक शरीर नभए पनि उनले सांस्कृतिक क्षेत्रमा गरेको योगदान जीवित रहेको छ,’ उनले बताइन् ।
हरिकृष्ण दर्शनधारीको अतीतबारे बोल्दै प्राज्ञ मातृका पोखरेलले उनले जीवनको सम्पूर्णजसो कालखण्ड कला, सगीत र नृत्य क्षेत्रमा बिताएको कुरा प्रस्ट पारे । उनले अब हरिकृष्ण दर्शनधारीका योगदानलाई समेटेर स्मृतिग्रन्थ निकाल्नुपर्ने, त्यसबाट पछिल्लो पुस्ताले उनको जीवनबारे थाहा पाउन सक्ने विचार राख्दै त्यस्तो असल काममा आफू पनि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
कीर्तिपुरको मंगल उच्च मा.वि.को प्रांगणमा सम्पन्न स्मृतिसभाको शुरुमा स्वर्गीय दर्शनधारीको तस्बिरमा फूलमालाले श्रद्धाञ्जली अर्पण गरिएको थियो भने उनको सम्झनामा स्वागतगीत पनि प्रस्तुत गरिएको थियो ।
जननृत्य गुरूका रुपमा स्थापित हरिकृष्ण दर्शनधारी लामो समयसम्म आबद्ध रहेको इसास, कीर्तिपुर र इसास, पाटनको आयोजनामा स्मृतिसभा भएको थियो । कलाकार वदन शर्माको सभापतित्वमा भएको सभाको सञ्चालन कलाकार वीरप्रसाद भन्सारीले गरेका थिए ।
http://esamata.com बाट साभार 

No comments:

Post a Comment