Tuesday, November 8, 2016

साहित्यिक सभा गन्हाउँदा – मधुसूदन पाण्डेय



केही दिनअघि एक अज्ञात स्थानमा एउटा सभाको आयोजना गरिएको रहेछ। सायद त्यो कुनै प्रतिष्ठान थियो। आयोजक को थियो थाहा नभए पनि एकजना वरिष्ठ साहित्यकार मित्रले फोनबाट आमन्त्रण गरेकाले म पनि सहभागी भएको थिएँ। त्यहाँ मैलेमात्रै चिनेका, तर उनीहरूले मलाई नचिनेका साहित्यकार कमल दीक्षित, विमल निभा, सरुभक्त, नारायण वाग्ले, निनु चापागाईं, सीता पाण्डे, बानिरा गिरी, धीरेन्द्र प्रमेर्षि, मातृका पोखरेल, दिल साहनी, पाण्डव थापा, पद्म सुन्दास, गेलु शेर्पा, अशोक थारूदेखि लिएर मसँग दोहोरो परिचय भएका डा.तुलसी भट्टराई, विश्वनाथ पाठक, कोषराज न्यौपाने, प्रह्लाद पोखरेल, पूर्णप्रकाश नेपाल यात्री, डा.गोविन्द भट्टराई दाङका गिरिराज शर्मा, रामप्रसाद ज्ञवाली, मित्रलाल पंगेनी आदि मैले नचिनेका ठूलो संख्याका साहित्यकारहरूको सभा चलिरहेको थियो।
वरिष्ठ साहित्यकारदेखि कनिष्ठ साहित्यकार सबैलाई दुई दुई मिनेट बोल्न अवसर प्रदान गरिएको थियो। सभाका सञ्चालक थिए, सुमधुर स्वरका धनी रसिला, मीठा कविताका रचनाकार तथा भर्खरै एक साप्ताहिकमा लेख लेख्दै अमुक पार्टीमा डेरा सरेका साहित्यकार मित्रलाल पंगेनी। त्यो सभामा मैले साहित्यकार तथा भाषाशास्त्री प्राध्यापक डा.माधव पोखरेललाई पनि देखिरहेको थिएँ। उनी त सभाका सभापति नै रहेछन्। उनीसँग मेरो परिचय दोहोरै छ, तर उनी जतिपटक भेट हुँदा पनि नाममात्रै सोधी रहन्छन्। यो सभामा पनि मेरो नाम अवश्य सोध्लान् भन्ने लागेको थियो।
त्यहीं पुगेरमात्रै मैले थाहा पाएँ सभाको आयोजनाको विषय र औचित्यका बारेमा। सभामा बोल्ने अधिकांशका मुखबाट एउटै गुनासो पोखिँदै थियो ‘सभा गनायो।’ ‘सभामा दुर्गन्ध आइरहेको छ।’ केको दुर्गन्ध हो यो? धूप बालेर दुर्गन्ध हटाउँ। आदि, इत्यादि।
प्रा.डा.माधव पोखरेलजीले त खुलेरै चेतावनी दिनुभयो आयोजकलाई ‘कि यो दुर्गन्ध यदि हटाइँदैन भने आयोजकले ठूलो हानि बेहोर्नुपर्नेछ। ‘आयोजक खाल्डोमा पर्नेछन्।’ उनको चेतावनीले आयोजक आत्तिएछन् र सभा हलभित्र बाहिर, वरिपरि जताततै बत्ती बालेर फोहोरको खोजी गर्न थाले। फोहोर कतै देखिएन र गन्हाउन पनि छाड्या हैन। त्यसैबेला मैले पूर्वघटित घटनालाई सम्झें।
एकपटक पञ्चायतकालमा संयुक्त राष्ट्रसंघको निमन्त्रणमा भाग लिनका लागि तत्कालीन मन्त्री पशुपतिशमशेर राणाले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा अर्का एकजना सहायक मन्त्री हीरालाल विश्वकर्मा पनि थिए। राष्ट्रसंघको सभा चलिरहेका बेला त्यहाँ पनि यसैगरी गन्हाएछ। त्यो नेपाली शैलीको मौलिक भएकाले अन्य राष्ट्रका प्रतिनिधिहरूले थाहा पाए या पाएनन् थाहा भएन, तर पशुपति राजालाई चाहिँ असैह्य हुने गरी गन्हाए छ। उनलाई आशंका त भइसकेको रहेछ कि के गन्हाएको हो। सभा सकिएर डेरामा फर्किएपछि पशुपति राणाले आशंका गरेका हीरालाल विश्वकर्माका मोजा सुँघेछन् नभन्दै महासभामा गन्हाएको दुर्गन्ध र उसको मोजाको दुर्गन्ध ठ्याक्कै मिलेछ। त्यसपछि उनले हीरालाललाई हकार्दै नयाँ एकजोर मोजा किनिदिएछन्। भोलिपल्टको सभामा पनि पशुपतिका नाकमा हिजोकै दुर्गन्ध आएछ। उनले बुझिहाले कि हीरे मोराले फेरि त्यही गन्हाउने मोजा लगाएछ। यसलाई बेलुका जान्या छु। सभा सकिएर उनीहरू डेरामा आएपछि पशुपति खनिए हीरालालमाथि ‘किन फेरि फोहोर मोंजा लगाइस’ भन्दै। हीरालाल भन्छन्– ‘लगा छैन हजुर, फोहोर मोजा। हजुरले हिजो किनिदिएको नयाँ मोजा नै लगाएको छु। पशुपति सोध्छन्– ‘उसो भए किन सभा गन्हायो त? हीरालाल जवाफ दिन्छन्– ‘हेरिस्योस, ती फोहोर मोजा त यहाँ राख्या’छु’ भन्दै कोटको खल्तीबाट निकालेर देखाए छन्। पशुपतिले फेरि गाली गर्नुसम्म गरेछन्। तेस्रो दिनको सभामा जानुपूर्व हीरालालको कोटका खल्ती, पेन्टको खल्ती, ब्याग सबै खानतलास गरेरमात्रै सभा लगेछन्। त्यो दिन सभा गन्हाएन।
मलाई पनि डा.माधव पोखरेलको चेतावनीपछि मेरै मोजा पो गन्हाएछ कि भनी जुत्ताभित्र चोर औंला हाली औंला सुँघे। अहं त्यस्तो केही छैन। त्यसपछि मैले विचार गरें, आफ्नो बोल्ने पालो आयो भने सबैलाई आ–आफ्ना मोजा चेक गर्न आग्रह गर्नेछु। मेरो पालोभन्दा पहिले डा.गोविन्द भट्टराईको बोल्ने पालो थियो। मैले भनुँला भनेको कुरा उनैले भनिदिए। सभामा हाँसोको फोहोरा छुट्यो। के गन्हाएको छ भन्नेबारेमा सञ्चालक पंगेनीजीलाई पनि राम्रोसँग थाहा थियो, तर उनी आफू डेरा सरेको नयाँ घरबेटी रिसाउलान् कि भनेर मनभित्रै गुम्साएर बसेका थिए। गन्हाएको वस्तुका बारेमा पंगेनी, पोखरेल, भट्टराईद्वय, कालीप्रसाद रिजाल, जगदीश घिमिरे, कमल दीक्षितलगायत अधिकांशलाई थाहा रहेछ। उल्लु चाहिँ हीरालालको कथा सुनेकाले आफ्नै मोजा सुँघ्दै थिएँ। मिल्ने भए अरुका पनि सुँघेर ‘युरेका’, ‘युरेका’ भन्दै उफ्रिन्थे होला। भएको के रहेछ भने एकजना किराँती समुदायका मन्त्रीले सभामा उपस्थित रामेश श्रेष्ठ, ईश्वरचन्द्र ज्ञवाली, भुपाल राई, अरवीन्दकुमार लाल, माइला लामा, बालकृष्ण राई, बाबुलाल पुनमगर, उमाशंकर साह, मदन चित्रकार, विश्वनाथ पाठकलगायतका ठूलो संख्याका साहित्यकारका कोटका गोजीमा उनले स्कुले जीवनदेखि मन्त्री पदसम्म पुग्दाका बेलासम्म प्रयोग गरेका, नधोएर प्लास्टिकको थैलामा पोको पारेर राखेको डुङडुङ गन्हाउने एक एक जोर मोजा खुसुक्क हालिदिएका रहेछन्। विचरा नवोदित साहित्यकारहरूलाई के थाहा कि मन्त्रीजी यस्तो अभद्र खालको ठट्टा गर्नमा खप्पिस छन्।
सभा सकियो। दुर्गन्धको कारण थाहा पाएकाहरूले मुख खोलेनन्। खल्तीबाट दुर्गन्ध आइरहेको ती साहित्यकारले थाहा पाएनन्। जलपान सकिएपछि मुख पुछ्न भनी जब रुमालको आवश्यकता पर्यो, तब बल्ल भेद खुल्यो। रुमालको सट्टा सबैका हातहातमा त गन्हाउने मोजा पो छन्। एकै ब्रान्डका सबै। त्यसपछि हाँसोको सीमा रहेन। पंगेनीजी मुसुमुसु हाँस्दै थिए।

No comments:

Post a Comment