Tuesday, November 8, 2016

स्रष्टाहरूले कसलाई दाँजे कुकुर र बाँदरसँग ? -प्रतिभा कँडेल



संविधान निर्माण, राजनीतिक सहमति र शान्तिका लागि दबाब सिर्जना गर्न पारिजात स्मृति केन्द्रको आयोजनामा स्रष्टाहरूले नेताहरूको निवासमै गएर काव्यात्मक खबरदारी गरिरहँदा निर्धारित समयमा संविधान बन्न नसक्ने अभिव्यक्ति आएपछि स्रष्टाहरू चिन्तित बनेका छन् ।
सँगसँगै निर्वाचनमा जाने, संविधानसभाको आयु लम्ब्याउने सत्ताको हानथाप गरिरहने तर संविधान बन्न नसकेको कारणचाहिँ जनतालाई थाहा नदिने दलहरूको निर्लज्जतापूर्ण व्यवहार र बोलीले मुलुकको स्वाधीनता नबचाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत नगर्ने प्रस्टिँदै आएको उनीहरूको कथन छ । स्रष्टाहरू स्नेह साय्मि, पूर्णविराम, मातृका पोखरेल, रायन, अस्मिता मानन्धर, राजेन्द्र शलभ, सन्ध्या पहाडी, गीता कार्की, महेश मास्के, अतृप्त पाण्डे, केशव सिलवाल, हीरा महर्जन, तिलक चाम्लिङ, लक्ष्मी माली, वासुदेव अधिकारी, कुसुम ज्ञवाली, भावना पोखरेल र सुकन्या वाइबाले आफैं मिल्न नसक्ने, मिलाइदिनका लागि तेस्रो शक्तिको खोजी गर्नैपर्ने यी दलहरूका कारण मिलाइदिने शक्ति नै र्सवशक्तिवान हुँदै गइरहेको र दलहरूको असमझदारीको फाइदा लिई मुलुकलाई अँध्यारोतिर धकेल्न त्यही शक्तित उद्यत् भएको दाबी पनि गरेका छन् । रोटीका लागि झगडा गर्ने कुकुरहरूलाई न्याय दिलाइदिनेका नाममा आफंैले सबै रोटी खाइदिने बाँदर न्यायाधीशको कथासँग दाँज्दै उनीहरूले दलहरू मुलुकको निर्णायक शक्ति आफैं ग्रहण गर्नुको सट्टा कुनै मालिकलाई सुम्पेर आफू त्यसैको आदेशमा खट्न तयार देखिएको आरोप लगाएका छन् ।
संविधान नबनाउने, राजनीतिक सहमति भाँड्ने र शान्ति-प्रक्रियालाई तार्किक निष्कर्षमा नपुर्‍याउने कुनै पनि बहानाबाजी अब नेपाली जनतालाई स्वीकार्य छैन भन्दै छोटो समयमै मुलुकलाई अग्रगामी निकास दिनेगरी सहमति जुटाउन, निर्धारित समयभित्र संविधान निर्माण सम्पन्न गर्ने दिशातिर अग्रसर हुन, हालसम्म संविधान निर्माण गर्न नसकेकोमा नैतिक जिम्मेवारी लिई जनतासँग माफी माग्न र तोकिएको कामका लागि आर्थिक र भौतिक लाभ ग्रहण गरेकोमा सो कार्य पूरा नभएकोमा सबै सुविधा र लाभहरू फिर्ता गर्न प्रधानमन्त्री, मन्त्रीहरू, संविधानसभा सदस्यहरू एवम् लाभ-सुविधा लिने सबैलाई अबउप्रान्त नलिन आग्रह पनि उनीहरूले गरेका छन् ।

-प्रतिभा कँडेल

No comments:

Post a Comment