Wednesday, November 9, 2016

सम्बन्ध बिस्तारमा संस्कृतिकर्मी


३० चैत २०७१ , काठमाडौं,

नेपाल र बंगलादेशबीचको सांस्कृतिक सम्बन्ध बढाउनका लागि दुई देशीय साहित्य, कला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो । बंगलादेशको ढाकामा अप्रिल ११ र १२, २०१५ तारिखमा भएको सो कार्यक्रमको जरा फाउण्डेशनको संयोजन सम्पन्न भएको थियो । सो कार्यक्रमको बंगलादेशका समाज कल्याण राज्यमन्त्री प्रमोद मानकिन, नेपाली राजदूत हरिकुमार श्रेष्ठ र प्राज्ञ मातृका पोखरेलले संयुक्त रूपमा सो कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा जरा फाउण्डेसनका अध्यक्ष कवि कृष्ण प्रसाई, कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, कलाकार नगेन्द्र प्रसाद पौड्याल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालका अध्यक्ष राधेश्याम लेकाली, मधुपर्कका सम्पादक एवं सहित्यकार श्रीओम श्रेष्ठ रोदन, समालोचक महेश पौड्याल, गायक तथा सङ्गीतकार प्रदीप बमजनलगायतका स्रष्टाहरू सहभागी भएका थिए । रूट बंगलादेश, ओइका लिमिटेड र जरा फाउन्डेसनको संयुक्त आयोजनामा भएको दुईदिने कार्यक्रममा बंगलादेश तथा नेपाली कलाकारद्घारा विविध सास्ंकृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । दुवै देशको राष्ट्रगानबाट सुरू गरिएको कार्यक्रममा गायक तथा संगीतकार प्रदीप बमजनले नोबेल पुरस्कार विजेता रविन्द्रनाथ टेगोरको प्रसिद्घ गीत बंगला भाषामा गाएका थिए ।
दोस्रो दिन संस्कृति मामिला मन्त्रालय, बंगलादेशका सचिव डा.रन्जित विश्वासले बंगलादेशको साहित्यमा छोटा कथा र समालोचक महेश पौडेलले समकालीन नेपाली साहित्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कलाकार नरेन्द्रबहादुर श्रेष्ठले काठेकलासम्बन्धी प्रस्तुुति र कलाकार नगेन्द्र पौड्यालले दुई देशबीचको सम्बन्ध झल्काउने चित्रकला रचना गरेका थिए ।
दुईदिने सास्ंकृतिक तथा साहित्यिक कार्यक्रममा कवि कृष्ण प्रसाई, राधेश्याम लेकाली, मातृका पोखरेल, श्रीओम श्रेष्ठ ‘रोदन’, सीमा आभास, डा. नीरज भट्टराई र सिलगुढीका लतिका जोशीले कविता वाचन गरेका थिए । बंगालादेशका तर्फबाट राष्ट्रिय कवि परिषदका अध्यक्ष रफिक आजाद, मोहम्मद सलाउदिन कुटु, हनिफ खानलगायत दुई दर्जन कविले कविता वाचन गरेका थिए । कार्यक्रममा कलाकार अस्मिता भण्डारी, प्रमिशा श्रेष्ठ थापा, पवन पाठक र नित्या कोइरालाले नृत्यकला प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बंगला एकेडेमीका प्रमुख सामसुजामन खान, सभासद काजी रोजी, समतो सांस्कृतिक केन्द्रका प्रमुख गुलाम कुद्देश, रूट बंगलादेशका अध्यक्ष सेली सेनगुप्ता, ओइको लिमिटेडका अध्यक्ष इम्दादुल हक र जरा फाउण्डेशनका अध्यक्ष कृष्ण प्रसाईले नेपाल र बंगलादेशबीच सम्पन सांस्कृतिक तथा साहित्यिक आदानप्रदान कार्यक्रमले दुई देशको सम्बन्ध थप सुदृढ हुने विचार व्यक्त गरेका थिए ।

No comments:

Post a Comment