Wednesday, December 7, 2016

अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाचौ राष्ट्रिय सम्मेलन सम्पन्न

अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेकपा (माओवादी) का महासचिव कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक भव्य कार्यक्रमका साथ उद्घाटन गर्नुभएको पाचौं राष्ट्रिय सम्मेलन २०७३ साल कात्तिक ३० र मङ्सिर १ गते गरी २ दिनसम सञ्चालन भएको थियो ।

नेकपा (माओवादी) का महासचिव कमरेड विप्लवले मैनबत्ती बाले उद्घाटन गर्दैगर्दा अखिल नेपाल लेखक सङ्घका तर्फबाट शोभा दुलालले कविता वाचन, अखिल नेपाल जनकलाकारका कमरेडहरूले साङ्गीतिक धून, अखिल नेपाल ललितकलाकर्मी सङ्घका कमरेडहरूले सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ र चुनु गुरुङको प्रोटेट तस्बिरको प्रदर्शन र अखिल नेपाल चलचित्रकर्मी सङ्घका कमरेडहरूले राष्ट्रिय स्वाधीनताका पक्षमा सशक्त अभिनय गरेका थिए ।

शुभकामना मन्तव्य दिदै विप्लवले दलालीकरणका विरुद्ध प्रगतिशील स्रष्टाहरूले सशक्त रूपमा निरन्तर बोल्नुपर्ने बताउनुहुदै क्रान्ति अलमल परेको बेला बाटो पहिल्याउने र क्रान्ति अगाडि बढेको बेला क्रान्तिको सेवा गर्ने प्रगतिवादी साहित्यकर्मीहरूको मुख्य अभिभारा भएको बताउनुभएको थियो । साथै, नेपालमा जनवादी साहित्य र संस्कृतिको अवमूल्यन भएको भन्दै जनकलाकारहरूले यसका विरुद्ध सशक्त आवाज उठाउनुपर्ने कुरामा जोड दिदै अग्रज जनकलाकार, साहित्यकारको उचित सम्मान गर्दै व्यवस्थापनमा सहयोग गर्ने बताउनुभएको थियो ।

उद्घाटन कार्यक्रममा माओवादी केन्द्रनिकट सांस्कृतिक मोर्चाका अध्यक्ष सरल सहयात्री, प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेल, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का अध्यक्ष बन्धु चन्द, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पूर्णबहादुर सिंह, जनवादी गीतकार तथा कवि मणि थापा, जनवादी गीतकार खुशीराम पाख्रिन, वरिष्ठ संगीतकर्मी तथा साहित्यकार शरद पौडेललगायत अतिथिहरूले शुभकामना दिनुभएको थियो । कार्यक्रममा नेकपा (माओवादी) का स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, सन्तोष बुढा, पोलिटब्युरो सदस्य ओम पुनलगायत केन्द्रीयस्तरका नेताहरूको ठूलो उपस्थिति रहेको थियो ।

महासङ्घका संयोजक टेकबहादुर बलम्पाकीको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन कार्यालय सदस्य खेम थपलिया र स्वागत मन्तव्य कार्यालय सदस्य कुशल बोगटीले दिनुभएको थियो । सम्मेलनको बन्दसत्रले सांस्कृतिक विधान तथा प्रतिवेदन आवश्यक सुझावसहित पारित गरेको थियो । देशैभरिका झन्डै डेडसय प्रतिनिधि पर्यवेक्षकहरूको सहभागिता रहेको उक्त सम्मेलन टेकबहादुर बलम्पाकीको अध्यक्षतमा ३३ सदस्यीय अखिल नेपाल जनसांस्कृतिक महासङ्घको नया नेतृत्व चयन गरेको छ ।


http://www.bishwadeepweekly.com बाट साभार 



No comments:

Post a Comment