Thursday, December 8, 2016

असम र मणिपुरमा नेपाली श्रष्टा




इम्फाल, बैशाख १ सेतोापाटी संवाददाता

नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौँ र जरा फाउण्डेशन नेपालको संयुक्त तत्वावधानमा चार ख्यातिप्राप्त
नेपाली श्रष्टाहरूको टोलीलाई भारतको मणिपुरमा स्थानीय नेपाली भाषीहरूले भव्य स्वागत गरेका छन्। 

प्राज्ञ मातृका पोखरेल, प्राज्ञ सभा सदस्य विवश पोखरेल, जरा फाउण्डेशनका अध्यक्ष कृष्ण प्रसाई र
फाउण्डेशनका सल्लाहकार एलबी क्षेत्री सम्मिलित नेपाली टोलीलाई मणिपुरको नेपाली संस्कृति
सुरक्षा परिषदले शान्तिपुरमा स्वागर गरेको हो। 

नेपाली नववर्ष २०७३ को अवसरमा आयोजित भव्य सांस्कृतिक एवं द्विदेशीय साहित्यक कार्यक्रमका लागि
श्रष्टाहरू त्यहाँ पुगेका हुन्। स्थानीय विधायक श्री ख्वाइराक्पन देवेन्द्र सिंहको प्रमुख आतिथ्यमा आयोजित
उक्त कार्यक्रमका अवसरमा वृहत् सिर्जना वाचन कार्यक्रम पनि सम्पन्न गरिएको छ। बैशाख २
गते सोही परिषदसँगको सहकार्यमा साहित्य गोष्ठी सम्पन्न हुने स्थानीय साहित्यकार देवीप्रसाद थापाले
जानकारी दिएका छन्। गोष्ठीमा नेपाल–भारत साहित्यक आदानप्रदान तथा दुई देशका आख्यानका
विविध पक्षको बोरेमा गोष्ठीपत्र वाचन र परिचर्चा हुने थापाले बताए। 

मणिपुर पुग्नु अघि श्रष्टाहरूले चैत्र ३० गते असमको गुवाहाटीमा असमेली नेपाली साहित्यकारहरूका
बीच गोष्ठी र रचना वाचनको कार्यक्रम सम्पन्न गरेका थिए। असमको देउराली सामाजिक साहित्यक
सांस्कृति मञ्चको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ मातृका पोखरेलले दुई
देशका नेपाली भाषी श्रष्टा नागरिकताले फरक भए पनि भाषा र संस्कृतिले एक भएकाले एकअर्काका
सीमा र सामर्थ दुवैमा सँगै उभिनुपर्ने बताए। उनले नेपाल प्रज्ञाप्रतिष्ठान नेपाली साहित्यको अन्तर्राष्ट्रिय
विस्तारका लागि कटिबद्ध रहेको पनि बताए। 

बैशाख ३ गतेका दिन मणिपुरकै काङ्लातोङ्बीमा स्थानीय प्रकाशक संस्था गोर्खा ज्योति प्रकाशनसँग
संयुक्त साहित्यक गोष्ठी गरेर नेपाली टोली नेपाल फर्कने प्रकाशनकी व्यवस्थापिका डा. गोमा अधिकारीले
जानकारी दिइन्। 



प्रकाशित मिति: बिहीबार, बैशाख २, २०७३ 

http://global.setopati.com बाट साभार 

No comments:

Post a Comment