Sunday, March 5, 2017

बनारसमा पुग्दा, घुम्दा र कार्यक्रममा रमाउन पाउँदा… - मोहन दुवाल

नेपाल साहित्यिक पत्रकार संघ, केन्द्रीय समितिको आयोजनामा बनारसमा पुगेर नेपाली भाषा–साहित्यको उत्थानमा साहित्यिक पत्रकारिताको माध्यमबाट योगदान पु¥याउनुहुने वरिष्ठ साहित्यिक काशीबहादुर श्रेष्ठद्वारा प्रकाशित तथा सम्पादित ‘उदय’ साहित्यिक मासिकका लागि काशीबहादुरको दिवंगतपछि पनि निरन्तर प्रकाशन गरिरहेकै कारणले सम्पादक दुर्गाप्रसाद श्रेष्ठको सम्मान गर्न जाने संघबाट निर्णय भएको थियो । २०७३ फागुन १ गतेको एक्सप्रेस बसबाट बनारस पुग्ने योजना भए  अनुसार काठमाडौंबाट जाने २४ जना र चितवनबाट चढ्ने दुईजना साहित्यिक पत्रकारहरुका लागि बस व्यवस्थापन गर्ने जिम्मा मैले लिएकोले काभ्रेका मित्र सूर्यप्रसाद लाकोजूको विशेष सहयोगमा मञ्जुश्री बस सेवा समिति, कारखानाचोकबाट प्रत्येकलाई रु.४४००।– तिरेर जाने–आउने बसको टिकट मिलायौं । एकमुष्ठ रु.१,१०,०००।– (एकलाख दशहजार) को टिकट केही दिन अगाडि नै काटेर बनारस जाने टुङ्गो लगाइयो । मैले बोकेको विशेष अभिभारा स्वरुप प्रत्येक व्यक्तिसँग रु.५०००।– उठाउने कार्य पनि गरियो । संस्थाबाट पनि केही रकम खर्चको लागि निकाल्न लगाइयो । र हामी जाने तयारीमा जुट्यौं ।

              २०७३ फागुन १ गते ६ः०० बजे नै काठमाडौं बसस्टपमा पुग्नका लागि सूर्यप्रसाद लाकोजू र ध्रुवकृष्ण ताम्राकार पनौतीबाट मोटर लिएर मेरो घरछेउमा आइपुगे । भारती र म पनि मोटर चढ्यौं । ६ः००  बजेतिर नै बस रहेको ठाउँ कारखानाचोकमा ओर्लियौं । ७ः०० बजेभित्र नै साथीहरु आइसक्नुपर्ने भनेकोले ठीक समयमा सबै साथीहरु पनि आइपुगे । काठमाडौंबाट बस चढ्ने साहित्यिक पत्रकारहरुमा नगेन्द्रराज शर्मा (अभिव्यक्ति), रोचक घिमिरे (रचना), मातृका पोखरेल÷ निनू चापागाईं (वेदना), रामप्रसाद पन्त (दायित्व), नवराज पुडासैनी (कल्पतरु), मोहन दुवाल÷ भारती श्रेष्ठ (जनमत), चेतनाथ धमला (कौशिकी), यादव भट्टराई (दायित्व), होमशङ्कर बास्तोला (अन्तर्बोध), वियोगी बुढाथोकी÷ शकुन्तला बुढाथोकी (शिवपुरी सन्देश), अर्जुनबहादुर तामाङ (तामाङ डाजाङ), आर.एम. डंगोल (शब्द संयोजन), गणेश राई (लिब्जु भुम्जु), ठाकुर शर्मा भण्डारी (वैजयन्ती), माधव पोखरेल ‘गोज्याङ्ग्रे’ (नव सिर्जना), लक्ष्मी भट्टराई (शाल्मली), सूर्यप्रसाद लाकोजू÷ ध्रुवकृष्ण ताम्राकार (अक्षरमार्ग), नरेन्द्रबहादुर श्रेष्ठ÷ निरु श्रेष्ठ (सल्लाहकार÷श्रीमती), रामेश्वर राउत मातृदास (विद्युतकर्मी) गरी जम्मा २४ जना साहित्यिक पत्रकारहरु थियौं । मुग्लिनमा पुग्दा रातको साढे दश बजिसकेकोले खाना त्यही खायौं । चितवनबाट साहित्यिक पत्रकारहरु डी.आर. पोखरेल (हाम्रो सिर्जना) र गायत्रीकुमार चापागाईं (संगम अभियान) रातको १ः०० बजे नारायणगढ, पुल्चोकबाट बस चढे । हामी २६ जना साहित्यिक पत्रकारहरु भारत पुग्ने धोको बोकेर बसमार्फत् कुदिरह्यौं ।

              कोही सुतेर आनन्दमा सपना देखेर, कोही ‘छक्कापञ्जा’ व्यङ्ग्य सिनेमा हेरेर, कोही आफू–आफूमा गफमा मस्त रमेर, कोही मनमा तर्कना बोकेर ड्राइभरहरुको एकनासको हँकाइमा हामी सबै कुदिरह्यौं, कुदिरह्यौं । जाडो त्यति महसुस भएन; तर पनि हामी सबैजना जाडोबाट बच्न आ–आफ्नो ढङ्गले सतर्क भयौं । सुनौली नाकामा पुग्दा विहानको ४ः३० बजे भयो । ६ः०० बजे नभइकन नाका नखुल्ने भनेकोले छेउकै होटेलमा चिया पिउँदै समय बितायौं । ६ः०० बजे नाका खुल्नासाथ भारतीय प्रहरीहरु नाकामा सक्रिय हुन थाले । २६ जनाको हाम्रो नेपाली टोली कार्यक्रम विशेषमा बनारस जान लागेका हौं, हामी सबैजसो साहित्यिक पत्रकारहरु रहेको जानकारी गराउँदै सूचना विभागबाट प्राप्त मेरो नामको परिचय–पत्र देखाएपछि सजिलै चेकजाँच नगरिकन भारतीय भूमिमा हामी प्रवेश ग¥यौं । विहानको खाना गोरखपुरमा खायौं ।

              सांझ ५ः३० बजे बनारस बसपार्कमा हाम्रो बस रोकियो । हामी सबैजना आ–आफ्ना लगेजहरु डो¥याउँदै जगदम्बा धर्मशाला, दूधविनायक गल्लीमा पुग्यौं । बस्ने–खाने टुङ्गो लगाइएको सो धर्मशालामा हामीभन्दा अगाडि लक्ष्मी उप्रेती (वनिता) दिल्लीबाट आइसकेकी रहिछन् । ९ वटा कोठाहरुमा हामी विभाजित भएर गयौं । धर्मशालाका प्रमुख सेवक काशी अधिकारीको परिवारले पकाएको खाना रमाएर मात्र खाएनौं, मिठो मानेर खायौं । महिलाहरुको कोठामा रात बिताउन भारती  गइन् । सूर्यप्रसाद र ध्रुवकृष्णसँग एउटै कोठामा रात छल्न म पनि गयौं । निन्द्रा मज्जाले लाग्यो । सधैं झैँ विहान ४ः०० बजे नै निंद खुल्यो । विस्तारै सबै साथीहरु आ–आफ्नो कोठाबाट उठ्न थाले । आजको कार्यक्रम दिनको ३ः०० बजेमात्र हुने भनिएकोले विहान घुम्न जाने निधो ग¥यौं । नरेन्द्रबहादुर श्रेष्ठ, निरु श्रेष्ठ, सूर्यप्रसाद लाकोजू, ध्रुवकृष्ण ताम्राकार, भारती श्रेष्ठसँग भएर म पनि गंगाजी घुम्न जाने टुङ्गो लगाइयो । विहानको ७ः३० तिरको समयमा हामी ६ जना गंगाजी छेउ पुग्यौं । त्यहाँ पुग्दा थुप्रै खालका ठाउँ–ठाउँबाट आएका धार्मिक मनहरु, पर्यटकहरु यत्रतत्र छरपष्ट घुमिरहेका देख्यौं । ८० वटा घाटहरु रहेको उक्त गंगाजीको भूगोलमा कोही डुङ्गामा शयर गर्दै रमाउँदै छन् । कोही लाश जलाएर आफूहरुलाई शोकमा डुबाइरहेछन् । कोही लुगा धोएर आफूलाई टक्टक्याइरहेछन् । कोही पानीमा डुबाएर आफूलाई चोखो बनाउँदै छन् । गंगा नदी पश्चिमबाट पूर्वतिर एकनासले बगेकी देखिन्छ । ‘वरुण’ र ‘असी’ नदीको नाम जोडिएर ‘वाराणसी’ भएको यस ठाउँको अन्य नामहरुमा ‘बनारस’ र ‘काशी’ पनि हुन् । विश्वकै पुरानो शहरमध्येको यो शहर इतिहासमा लिपिवद्ध भएको धार्मिक शहरका रुपमा प्रसिद्ध छन् । निकै रमाइलो लाग्यो गंगाजी घुम्न पाउँदा । ५०० भारुमा मेसिनबाट चल्ने डुङ्गामा हामी ६ जना चढ्यौं । पश्चिमबाट पूर्वतिर करिव १ घण्टा डुङ्गामा बसेर गंगाजीको पानी हेरेर कुदिरह्यौं । गंगाजीको पानी लिएर आउने धुनमा साथीहरुले तीनवटा जर्किन किनेर त्यसमा जल भरे । नरेन्द्रबहादुरजी कलाकार पनि भएकोले एउटा प्लाष्टिकमा बालुवा भर्न थाले । र बालुवा कति सफा रहेछ भनी मख्ख भए । तर हामी चढेको डुङ्गाका चालकले यहाँको बालुवा कसैले लाँदैन, केहीगरि लाने हो भने केही न केही चिज चढाएर लानुपर्ने भनेकोले मित्र नरेन्द्रले बालुवा गंगाजीमा नै फालिदिए । डुङ्गामा चढेर व्यापार गर्नेहरु पनि थुप्रै रहेछन् । हामीले २० रुपैयाँको स्याउरोटी किन्यौं । उक्त टुक्रा रोटीहरु पानीमा फालिदिँदा सयौं सेता परेवाहरु हानथाप गर्न आउने दृश्यहरु निकै मनमोहक छन् । हेरिरहूँ जस्तो लाग्ने परेवाका हूलहरु गंगाजीको तरङ्गमा कति मज्जाले स्याउ टिप्न होडबाजी गर्दा रहेछन् – हेर्दैमा आनन्द लाग्ने कस्तो मनोरम दृश्य मनमा कैद भयो ।

              गंगाजीको पानीमा छरपष्ट हुने गरी रातो सूर्यको किरण फिँजियो, क्यामेरामा कैद गरियो । डुङ्गा दक्षिणतिर ओराल्ने भयो र हामी ओर्लियौं । बालुवाका बगरहरु भएकै ठाउँमा पसलहरु पनि छन् ।  हामी त्यहाँ डुङ्गाबाट झ¥यौं । घोडा चढाएर व्यापार गर्न रुचाउनेहरु मान्छेको खोजीमा छन् । सूर्य र ध्रुवले घोडा चढे । बालुवाकै बाटोमा केहीक्षण यत्रतत्र गरेर रमाए; फोटो खिचे – रमाइलो भयो । दश्वमेघ घाट, हरीशचन्द्र घाट, त्रिपुरा भैरवी घाट, मणिकर्निका घाट लगायत ८० वटा घाटहरुको नाम मेरो नोटबुकमा टिपेँ । विहानको यस दिनको समय निकै रमणीय ढङ्गले बितायौं ।

              इतिहासमा सिद्धार्थ गौतमले पनि कोशीको सारनाथमा आएर धर्मचक्र परिवर्तन गरेको भनी राहुल सांकृत्यायनले आफ्नो लेखमा उल्लेख गरेको देखिन्छ । गोर्खाका राजा पृथ्वीनारायण शाहले काशीबाट डोला झिकाई त्यहाँका राजपुत अहिनारायण सिंहकी छोरी नरेन्द्रलक्ष्मीसँग विवाह गरी काशीसँग सम्बन्धलाई जीवन्त बनाएको देखिन्छ । भक्तपुरका राजा रणजीत मल्ल, राजा रणबहादुर शाह रानीसहित, वी.पी. कोइराला, कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, मोहनविक्रम सिंह, निर्मल लामा, मोदनाथ प्रश्रित, डा. बाबुराम भट्टराई, आदि थुप्रै राजनीतिज्ञहरु यसै ठाउँमा रहेर राजनीतिक गतिविधि गरेको देखिन्छ । मसँग पनि करिव ४३ वर्ष अगाडि बनारस पुगेको सम्झना छ । निर्मल लामाको चिठ्ठी बोकेर मोहनविक्रम सिंह भेट्न गएको र त्यही दूधविनायकमा सातदिन मोहन विक्रमको कोठामा उनीसँग कम्युनिष्ट शिक्षा–दीक्षा लिएको याद आइरहन्छ । वि.सं. २०३० सालतिर नेकपा (चौम) पार्टीका काभ्रे जिल्ला सचिव भएको बेला राजनीति कक्षा लिन गएको म व्यक्ति २०७३ फागुन २ गते नेपालका साहित्यिक पत्रकारहरुसंग केन्द्रीय महासचिव भएर बनारसमा साहित्यिक कार्यक्रम लिएर जान पाएको छु । र मलाई लाग्छ; बनारस नेपालीहरुका लागि धार्मिक स्थल मात्र नभई शैक्षिक, राजनीतिक, सांस्कृतिक र साहित्यिक भूमि पनि हो । आज हामीहरु बनारसबाट ‘उदय’ भएको साहित्यिक इतिहासको सम्मान गर्न बनारस पुगेका छौं ।

http://www.kavretimes.com.np बाट साभार 

No comments:

Post a Comment