Sunday, March 5, 2017

नेपाल–कोरिया साहित्य, संस्कृति, कला महोत्सव समापन

काठमाडौँ /राजधानीमा जारी नेपाल–कोरिया साहित्य, संस्कृति, कला महोत्सव समापन भएको छ । महोत्सव बुधबारदेखि शुक्रबारसम्म तीन दिन चलेको थियो । प्रज्ञाभवन कमलादीमा शुरु भएको महोत्सवको स्वास्थ्यमन्त्री गगन थापाले उद्घाटन गरेका थिए । पहिलो दिनको कार्यक्रममा स्वास्थ्यमन्त्री थापा, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँला, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यय र प्रगतिशील लेखक सङ्घका अध्यक्ष एवम् प्राज्ञ मातृका पोखरेलले महोत्सव पूर्ण सफलताको कामना गर्दै यसले दुई देशीय सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । सोही दिन मन्त्री थापाले कला प्रदर्शनीको समेत शुभारम्भ गरेका थिए ।
आयोजक नेपाली लेखक सङ्घका अध्यक्ष श्रवण मुकारुङ, महासचिव रत्नमणि नेपालका साथै कोरियाली आयोजक संस्था युरेसिया कल्चर फोरमका महासचिव दाइ की जुङले महोत्सव आयोजनाको उद्देश्यमाथि प्रकाश पारेका थिए । सो अवसरमा फोरमका अध्यक्ष हु ते सिकले नेपालका करिब ३५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई नेपाली लेखक सङ्घमार्फत् कोरियाली छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा नेपालका विभिन्न जातजातिका सांस्कृति झाँकीहरूको प्रदर्शनीका साथै दुवै देशका कलाकारहरूले नृत्यहरू प्रस्तुत गरेका थिए ।
महोत्वको दोस्रो दिन नेपालका युवाकविहरूले नेपाल–कोरियाका चित्रकलाहरू अवलोकन गर्नुका साथै काव्यवचान गरेका थिए । महोत्सवको अन्तिम दिन महोत्सवमा जारी ‘कोरिया–नेपाल समकालीन चित्रकला आदानप्रदान प्रदर्शनी’माथि अन्तरविमर्श गरियो । चित्रकला प्रदर्शनी कार्यक्रमका संयोजक एवम् नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य धनबहादुर याक्खाको सभापतित्वमा सम्पन्न अन्तरविमर्श कार्यक्रममा कलाकार तथा तथा प्राज्ञ मुकेश मल्ल र कलासमीक्षक रमेश खनालले महोत्सवमा प्रदर्शनी गरिएका कोरियाका चित्रकलाहरू प्रविधि, शिल्प र कलाले उच्च भएको विचार व्यक्त गरे । कोरियाका तुलनामा नेपालका कलाकृति अलि कमजोर भएको हो कि भन्ने लागेता पनि आफ्नै मौलिकता नेपाली चित्रकलामा पाइने वक्ताद्वयले उल्लेख गरे । प्रविधि र स्तरीयतामा चाहिँ नेपाली कलाकृति अलि पछाडि परेको उनीहरूको धारणा थियो ।
महोत्सवको समापन गर्दै ‘नेपाल–कोरिया साहित्य, संस्कृति, कला महोत्सव’को नेपाली आयोजक संस्था नेपाली लेखक सङ्घका अध्यक्ष प्राज्ञ श्रवण मुकारुङले लेखक सङ्घ र युरेसिया कल्चर फोरम, कोरियाबीच साहित्य, संस्कृति एवम् कलाको विकास, प्रवद्र्धन तथा दुई देशीय सम्बन्धबारे दीर्घकालीन सम्झौता भएको बताए । उनले भने, ‘महोत्सव हामीले सोचेभन्दा धेरै राम्रोसँग सम्पन्न भएको छ र यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि नेपाल र कोरिया दुवैतिर आलोपालो आयोजना भइरहने छन्, जसले गर्दा नेपाली साहित्य, संस्कृति र कलालाई विश्वस्तरमा फैलाउन मद्दत पुग्नेछ ।’
आगामी जुलाईमा करिब तीन दर्जन कोरियाली चित्रकलाकारले नेपाल भ्रमण गरी स्थलगत चित्रकला सिर्जना गरी प्रदर्शनीसमेत गर्ने कुरा कल्चर फोरमले बताएको महासचिव रत्नमणि नेपालले सुनाए । नेपालका अनुसार मार्चमा दुवै देशका कवि तथा कथाकारहरूका रचनाहरू सङ्कलित पुस्तकको विमोचन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा सहभागी हुन नेपाल आएका कोरियन कलाकार तथठा साहित्यकारहरूले नेपालबाट आफूहरू साहै्र प्रभावित भएको बताएका थिए ।
http://rastrapukar.com बाट साभार 

No comments:

Post a Comment