Saturday, May 13, 2017

प्रगतिवादी साहित्यका धरोहर - शशी लुमुम्बू






वैशाख ३०, २०७४- अन्तत: प्रगतिवादी साहित्य जगत्का एक गौरवशाली धरोहर श्यामप्रसाद हामीमाझ रहेनन् । २०७४ वैशाख २४ गते आइतबार बिहान सबेरै उनी सदाका लागि यस दुनियाँबाट टाढा भए । उनको भौतिक शरीर अनन्तमा विलिन भयो । हो, अब यस जुनीमा उनलाई सशरीर कहीँ कतै देखिने छैन । तर दर्जनौँ सार्थक कृतिले हामीलाई उनी यसै जगत्मा भइरहेको सुखद आभास दिइरहनेछन् ।

श्यामप्रसाद सरल जीवन र उच्च विचारका एक उदाहरण थिए । अमर उज्यालोका खातिर अँध्यारो विरुद्ध निरन्तर कलम चलाइरहने एक अथक स्वप्नजीवी र साहसी कलमयोद्धा थिए । उनी साहित्यमा जस्तो लेख्थे व्यवहारमा पनि त्यस्तै अनुशरण गर्ने प्रयत्न गर्थे । अर्थात् उनी एक आदर्श र व्यवहारवादी स्रष्टा थिए । उनले लेखेका दर्जनौँ कृति यसका प्रमाण हुन्, उनले बाँचेका समग्र समय र उनी हिँडेका अनेक गोरेटा यसका दसी हुन् ।

श्यामप्रसादले जीवनभर सामाजिक उत्पीडन, शोषण, कुरीति, रुढिवादी र अन्धविश्वासका घना जङ्गलहरू फाँडेर समानताको उज्यालो जन्माउन निरन्तर सशक्त ढङ्गले कलम चलाए । राष्ट्र, समाज र मानवता नै उनका लेखनका मूल विषय हुन्थे । मानव जीवनलाई कसरी सार्थक बनाउन सकिन्छ ? उनको लेखनीको ध्येय यही नै हुने गथ्र्याे । माक्र्सवादी दर्शनलाई आत्मसात गर्दै जीवन तथा समाज उपयोगी साहित्य सिर्जनामा तल्लिन श्यामप्रसाद केही वर्षदेखि अल्जाइमर रोगबाट पीडित थिए । आखिर ८८ वर्षको उमेरमा उनी त्यसैको सिकार भए ।

प्रगतिवादी साहित्यका धरोहर यी श्यामप्रसादको जन्म मकवानपुरको मन्थलीमा पर्ने सोलीथुममा १९८६ असार ६ गते बुधबार भएको थियो । हुतकुमारीदेवी र जोगनाथ लामिछानेका एक्लो सन्तान थिए, उनी । उनी पाँच वर्ष छँदै उनकी आमाले सदाका लागि आँखा चिम्लेकी थिइन् । त्यसपछि जेठीआमाले उनको लालनपालन र स्याहारसुसार गरेकी थिइन् ।

छ वर्षमा उनी बुबासँगै वीरगन्ज पुगे । उनका बुबा वीरगन्जको श्रीपुरमा बहादुरशमशेर राणाको खेतीपाती रेखदेख गर्ने जागिरे थिए । श्यामप्रसादको बाँकी जीवन वीरगन्जमै बित्न थाल्यो ।

श्यामप्रसाद तेह्र वर्षमा बुबाविहीन बन्न पुगे । घरमा कमाउने मूल मान्छे नै नरहेपछि पारिवारिक जीविका चलाउन उनकी जेठीआमालाई निकै ठूलो सकस पर्न गयो । तथापि जीवनरूपी डुङ्गालाई बाँकी यात्रामा डोर्‍याउनु त छँदै थियो । आमा–छोराले मिलेर वीरगन्जमा सेवा सदन नामक पुस्तक तथा पत्रपत्रिका पसल चलाउन थाले । श्यामप्रसाद आमालाई पसलमा सघाउँदै त्रिजुद्ध हाइस्कुल पढ्थे ।

१९९७ सालको सहिद काण्डबारे थाहा पाएपछि राजनीतिप्रति उनको कौतुहलता जाग्यो । २००४ सालको राणाशाही विरोधी सत्याग्रह आन्दोलनमा त उनी सहभागी नै भए । त्यही क्रममा प्रहरीद्वारा पक्राउ परी वीरगन्ज जेलमा थुनिएका बेला उनको सोही जेलका बन्दी युद्धप्रसाद मिश्रसँग चिनजानका साथै सङ्गत हुनपुग्यो । मिश्रको सङ्गतले उनको अभिरूचि लेखन तथा प्रकाशनतिर बढ्न गयो । फलस्वरूप उनले वीरगन्जबाटै एउटा साहित्यिक पत्रिका निकाल्न थाले । उनको सम्पादन तथा प्रकाशनमा निस्केको पत्रिका राजधानी उपत्यका बाहिर (मोफसल) बाट निस्किने पहिलो पत्रिका बन्न पुग्यो ।

प्रजातन्त्र प्राप्तिका लागि निरङ्कुश शासन व्यवस्था विरुद्ध देशमा नेपाली कांग्रेसले सत्याग्रह आन्दोलनको अगुवाइ गरिरहेको थियो । भारतको रक्सौलतिर निर्वासित रहेका कांग्रेस नेताहरूसँगको सङ्गतका कारण श्यामप्रसादको राजनीतिक चेतना फराकिलो बन्दै गयो । २००४ देखि ००७ सालसम्मको अवधिमा श्यामप्रसाद धेरैपटक प्रहरीद्वारा समातिँदै छाडिँदै गरिए । श्यामप्रसादले जेलभित्रै रहँदा पनि साहित्य सिर्जना, पत्रकारिताका अलावा सङ्गठनको कार्यलाई निरन्तरता दिइरहे । अनेक प्रतिकूल परिस्थितिका बाबजुद पनि उनले आफूलाई अविचलित राखिरहे । अझ जुझारु बनाइरहे ।

उनी देश, जनता र समाज रूपान्तरणका लागि राजनीति अपरिहार्य रहेछ भन्ने मनन गरेर राजनीतिमा पुरै होमिएका थिए । २००९ सालमा वीरगन्जमै उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरे । श्यामप्रसाद कामचाहिँ पार्टीको गर्थे, तर बाहिर भने पत्रकारका रूपमा प्रकट हुन्थे । २००९ सालमा उनकै अध्यक्षतामा प्रगतिशील लेखक सङ्घ स्थापना भएको थियो । त्यही सङ्घ अहिले नेपाली प्रगतिशील आन्दोलनको साझा मोर्चा बन्न पुगेको छ । यसबाट उनमा दीर्घकालीन सोचाइ र चिन्तन रहेको बुझ्न सकिन्छ । २०५० सालमा उनी पुन: सङ्घको अध्यक्ष चयन गरिए ।


देशमा प्रजातन्त्रको बहाली र पञ्चायती निरङ्कुश व्यवस्था अन्त्यका खातिर जनचेतना छर्दै जनजागरण गर्ने आन्दोलनमा लागेका उनले दुई बीसभन्दा बढी वर्ष भूमिगत जीवन बिताउनुपर्‍यो । २०४७ सालमा भूमिगत जीवनबाट सार्वजनिक जीवनमा फर्किएका श्यामप्रसादको शशीकलासँग प्रगतिशील प्रेमविवाह भएको थियो । तर उनको वैवाहिक जीवन लामो समय टिक्न सकेन । दुई छोरीका बुबा उनी जीवनभरि साहित्यिक, सांस्कृतिक एवं सामाजिक आन्दोलनमा लागिरहे ।

थुप्रै पुरस्कार र मानसम्मानद्वारा पुरस्कृत एवं सम्मानित भएका उनलाई प्रगतिवादी नेपाली साहित्य, संस्कृति र पत्रकारिताका क्षेत्रमा गरेको योगदान कदरस्वरूप एक वर्षअघि राजधानीमा भव्य अभिनन्दन गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्यसमेत रहेका उनलाई सो सम्मान अर्पण गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘श्यामप्रसाद आदर्श, सिद्धान्त र निष्ठाका एक स्तम्भ हुन् । प्रगतिवादी साहित्यिक फाँटका गौरवशाली धरोहर हुन् ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती भन्छन्, ‘श्यामप्रसाद नेपाली साहित्यका शीर्षस्थ स्रष्टा र प्रगतिशील लेखनका जनक हुनुहुन्छ । उहाँको निधनले प्रगतिशील साहित्यका क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।’

२०३८ सालमा पहिलो कृति ‘थुनुवाको डायरी’ प्रकाशन गरेका उनका ‘मेरा डायरीका पाना’ ६ भागसमम्म प्रकाशित छन् । यसैगरी उनका ‘लेखक कसरी बन्ने ?’ ‘तँ, तिमी, तपाईं, हजुर’, ‘संकृति सम्बन्धी दुई–चार कुरा’, ‘साहित्यका पात्रपात्रीहरू’, ‘जीवित साहित्यकारप्रति हाम्रो कर्तव्य’, ‘साहित्यमा सापेक्षता’, ‘साहित्यिक फाँटका मेरा केही धारणा’ र ‘मेरा समालोचना’जस्ता उनका निबन्ध, कथा, संस्मरण, विचार, समीक्षा लगायतका विधाका १ सय १२ कृति प्रकाशित छन् ।

‘साहित्य लोकहितका लागि हुनुपर्छ र त्यसमा प्रगतिवादी चिन्तन एवं चेतना हुनुपर्छ, यसो हुनसक्यो भने मानवजातिले छिटो प्रगति गर्न सक्छ’ भन्ने श्यामप्रसाद जनवादी संस्कृति, मानवतावादी चिन्तन र प्रगतिवादी साहित्यका एक धरोहर हुन् । प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेलले भनेजस्तै ‘प्रगतिशील साहित्यका मजबुत पाठशाला’ हुन्, श्यामप्रसाद । जसको भौतिक शरीर सधैंका लागि ढलेको छ, तर उनले ठड्याएको वैचारिक निष्ठा र सिद्धान्तको धरोहर भने कहिल्यै नडगमगाउनेगरी अटल उभिइरहनेछ, युगौंयुगसम्म ।

लुमुम्बू प्राज्ञ परिषद् सदस्य हुन् ।

http://kantipur.ekantipur.com बाट साभार

No comments:

Post a Comment