Saturday, May 13, 2017

स्थानीय तह निर्वाचनबारे के भन्छन् यी लेखक ? - आस्था केसी




बैशाख ३०, २०७४ काठमाडौँ : 
बैशाख ३१ गते तोकिएको पहिलो चरणको निर्वाचन आउन अब १५ घन्टा मात्र बाँकी छ। चुनाव होला कि नहोला भनेर अनेक आँकलन गरिए पनि अन्ततः पहिलो चरणको निर्वाचन संघारमै आइपुगेको छ। आइतबार हुन लागेको स्थानीय तहको चुनावलाई कसरी हेर्नुभएको छ? भनेर थाहाखबरले केही लेखकलाई सोधेको थियो। पढौँ, उनीहरूको जवाफ उनीहरूकै शब्दमा: 

शारदा शर्मा : उपन्यासकार 
प्रजातन्त्र र लोकतन्त्रको लागि निर्वाचन जहिले पनि महत्त्वपूर्ण हुन्छ। निर्वाचन आफूले चाहेका गरेका प्रतिनिधि चुन्ने एउटा अवसर हो। यो बीस वर्ष निकै लामो अवधि हो। स्थानीय सरकारको अभावमा धेरै किसिमका समस्या पैदा भएका थिए। अहिले हुन लागेको स्थानीय तह निर्वाचनका लागि निकै उत्साहको वातावरण देखिरहेकी छु। स्थानीय तहको निर्वाचन हुने कुराले स्थानीय सरकार निर्माणको लागि माहोल तताउने काम गरेको छ। 

अहिले विकल्पहरू पनि नयाँनयाँ आएका छन्। नयाँ पार्टीहरूले नयाँनयाँ उम्मेदवार अगाडि सारेका छन्। पुराना पार्टीले आआफ्ना उम्मेदवार अगाडि सारेका छन्। जनताको लागि प्रशस्त विकल्प छन्। यो बेलामा निर्वाचनमा कस्तो व्यक्ति छान्ने भनेर निकै बहस पनि भएको छ। विकासमा पनि निकै ठूलो बहस भएको मैले सुनिराखेकी छु। उम्मेदवार छान्दा त्यो कस्तो पृष्ठभूमिको मान्छे हो, उसले के गर्न सक्छ, के गर्न सक्दैन भनेर पनि मानिसहरूमा छलफल हुने गरेको देख्छु। 

सबैका कुरा सुनेर जनताले योग्य र राम्रो उम्मेदवारलाई जिताउनेछन् भन्ने मलाई लागेको छ। हामीकहाँ संविधान त बन्यो तर कार्यान्वयन हुन सकिरहेको थिएन। स्थानीय तहको निर्वाचनपछि बन्ने स्थानीय सरकारले संविधान कार्यान्वयनलाई अगाडि बढाउनेछ भन्ने मलाई लागेको छ। म यसमा निकै खुसी छु। 

मतदाताहरू अहिले धेरै सचेत भइसकेका छन्। आफूले विगतमा भोट दिएर जिताएका उम्मेदवारहरूले कति काम गर्नसके, जनताका कति अपेक्षाहरू पूरा भए कति हुन सकेनन्? यो कुराको मूल्यांकन गरेर जनताले योग्य उम्मेदवार छान्नेछन् भन्ने कुरामा मलाई विश्वास छ। 

 मातृका पोखरेल : अध्यक्ष, प्रगतिशील लेखक संघ 

मानिसहरूले भन्ने गरेजस्तो यो चुनाव २० वर्षपछि हुन लागेको स्थानीय निकायको चुनाव होइन। यो त पहिलो पटक हुन लागेको राज्यको पुनर्संरचनासहितको स्थानीय तहको चुनाव हो। अहिले हामी नितान्त नयाँ प्रकारको राज्य सञ्चालन प्रणालीमा छौँ। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता ठूला परिवर्तन देशमा आइसकेका छन्। पहिलेको स्थानीय निकायको भौगोलिक इलाकाभन्दा फरक ढंगले भूगोलको संरचना बनाइएको छ। त्यसकारण अहिले हुन लागेको निर्वाचन नेपालको इतिहासमा पहिलो निर्वाचन हो। अहिले हामी परिवर्तनको नयाँ लहरमा प्रवेश गरेका छौँ। यो परिवर्तनलाई स्वीकार गर्ने खालको नेतृत्व आउँछ कि अस्वीकार गर्ने खालको नेतृत्व आउँछ भन्ने कुरो सबैभन्दा महत्त्वपूर्ण र चिन्ताको विषय हो।

हामी परिवर्तनलाई संस्थागत गर्ने चरणमा छौँ तर निर्वाचनपछि आउने नेतृत्वले परिवर्तनलाई स्वीकार नै गरेन भने सबैभन्दा बढी चिन्ताको विषय यहीँनेर हुनेछ। अहिलेको चुनावबाट परिवर्तनको विरोधी शक्ति आउने, परिवर्तनभन्दा पर रहेको शक्ति आउने भयो भने यो निर्वाचनलाई सफल निर्वाचन मान्न सकिँदैन। यो मुलुकको व्यवस्था परिवर्तनका लागि जसले जिउ ज्यानको बाजी थापेर आन्दोलनको नेतृत्व गरेको छ, जसले परिवर्तनलाई काँध थापेर ल्याएको छ, उही शक्तिले जित्यो भने मात्र परिवर्तनको संस्थागत विकास हुनसक्नेछ। 

मलाई चिन्ता लागेको अर्को कुरा, युवाहरूमाझ राजनीतिक परिवर्तनको सन्देश पुर्‍याउन सकिएको छैन। आन्दोलनबाट आएको नेतृत्वले स्थानीय सरकारको जिम्मेवारी पायो भने मात्र हामीले बनाउन खोजेको नयाँ नेपाल एउटा बाटोमा जानेछ। अन्यथा परिवर्तन संकटमा पर्नेछ। जनता पहिलेभन्दा निकै सचेत भएका छन्। उनीहरूले सही नेतृत्व चुन्नेछन् भन्ने मलाई लागेको छ। 

 श्यामल : कवि तथा लेखक 

हामीले लोकतन्त्रलाई राजनीतिक व्यवस्थाको रूपमा स्वीकार गरेको र नेपाली जनताले संघर्ष गरेर ल्याएको ०४६ सालपछिको आन्दोलनलाई हामीले एक पटक स्मरण गर्नु जरुरी छ। त्यसयता पनि धेरै आन्दोलन भएका छन्। ती आन्दोलनबाट आएका परिवर्तनलाई नेपाली जनताले आत्मसात गरेका छन्। 

नेपालका राजनीतिक दलहरूले यो आन्दोलनबाट प्राप्त उपलब्धिलाई महत्त्वपूर्ण ठानिरहेको जस्तो, आत्मसात गरेको जस्तो मलाई लाग्दैन। तर नेपाली जनताले यो कुरालाई निकै गहिरोसँग आत्मसात गरेका छन्। 

आफ्नो सरकार आफैँ बनाउने, आफ्नो शासन आफैँले गर्नेजस्तो चेतना नेपाली जनताले पाएका छन्। त्यसैले यो पटकको स्थानीय चुनावलाई जनताले एउटा पर्वकै रूपमा लिएका छन्। दुई चरणमा गर्नुपर्ने केही प्राविधिक बाध्यता छन्। केही राजनीतिक असजिलाहरू छन्। तैपनि जनसमुदायमा प्रशन्नता छाएको छ। एउटा खालको तरंग आएको छ। 

२० वर्षपछि उनीहरूले आफ्ना इच्छा आकांक्षाहरू प्रतिनिधिमार्फत् प्रकट गर्ने माध्यम पाएका छन्। आमचुनाववाट माथि गएकाहरू माथिल्लो तहकै भए। यसले जनताको स्तरमा खासै प्रभाव पार्न सकेन। जनताले पहिलो पटक आफ्नो लागि शासन गर्ने प्रतिनिधि चुन्दै छन्। त्यसैले यो चुनाव एउटा पर्व जस्तै भएको छ। 

विकास अवरुद्ध भएको थियो। दलीय भागवण्डा भनेको छ। यो सहमति गरौँ भनेको छ। फेरि एकातिर कुरो मिलाउँदा अर्कोतिर कुरो बिग्रँदै गएको छ। सर्वसम्मति भनेको छ। यसो गर्दाखेरी जनताको विकासको प्रक्रिया रोकिएको थियो। तर अब जुन पार्टीको उम्मेदवारले जिते पनि जनताको प्रतिनिधिको रूपमा काम गर्नेछन्। जनताको काम सजिलोसँग हुनेछ। त्यसैले यो चुनावमा म निकै आशावादी छु। उत्साहित छु। 

आस्था केसी / थाहा संवाददाता 
केसी राजनीति र सामाजिक क्षेत्रमा कलम चलाउँछिन्।

http://thahakhabar.com बाट साभार 

No comments:

Post a Comment