Tuesday, May 16, 2017

मैले भेटेका नौ बहिनी पारिजात - आहुति


आहुति 

१. जेठी पारिजात

वि.सं. २०४१ सालमा जब मैले पारिजातको बारेमा क्याम्पसमा कुराकानी भएको सुनें, त्यसपछि सिधा गएर मेरो पार्टीको जिल्लाको एक नेतालाई सोधें, ‘पारिजात भन्ने लेखिका कस्तो हो ?’ जवाफ यस्तो थियो, ‘हे त्यो काम लाग्ने मान्छे होइन; मञ्जुल, रायन भन्नेहरूसँग जोसँग पनि सुत्दै हिंड्ने मान्छे हो । ती राल्फा अभियानमा जे पनि गर्दै हिंड्ने हुन् ।’ एउटा भर्खर १७ वर्ष लागेको ठिटो जसले भर्खरै कम्युनिस्ट पार्टी भेटेको थियो, आफ्नो नेताले त्यतिबेलाको भूमिगतकालमा भनेको कुराको प्रभाव उसमाथि कस्तो पर्‍यो होला ? मेरो दिमागमा राल्फा शब्द पहिलोचोटि ठोक्किएको थियो । ‘यो राल्फा के हो नि ?’ मेरो यो प्रश्नको जवाफ यसरी दिए ती नेताले कि म कुनै सोध्नै नहुने कुरा सोध्दैछु, उनले भने, ‘राल्फासाल्फा हामीलाई चाहिएको कुरै होइन नि त्यो !’ पारिजातको एउटा पनि रचना नपढेको र हिन्दु परिवारको महिलाको आचरणसम्बन्धी सामन्ती नैतिक शिक्षाबाट प्रशिक्षित म पुरुषमा वास्तवमा पारिजात भनेकी एक बाइफाले चरित्रहीन लेखिका रै’छ भन्ने कुरूप बिम्ब त्यसरी रोपियो ।

त्यतिबेला यस्तै थियो ? हो, त्यस्तै थियो त्यतिबेला । भूमिगतकाल, आधा दर्जनभन्दा बढी कम्युनिस्ट समूहहरू । जानेबुझेका भनिने नेता को हुन्, कहाँ छन् थाहा हुँदैनथ्यो । आफूअगाडि जो उपस्थित हुन्थ्यो त्यही महान्, उसैले बोलेको सिद्धान्त अनि महान् सत्य ! आफ्नो पार्टीको नहुनेबित्तिकै त्यसप्रति आफ्नो कार्यकर्तालाई टाढा राख्न हुने–नहुने भए–नभएका सबै नै भनिन्थ्यो । ‘त्यो मोहनविक्रमको बाउले त आफ्नो दरबार जत्रो घर बनाउन भक्तपुरबाट बोलाएको कालीगढलाई ज्यालास्वरूप एउटी स्वास्नी नै दिएर पठाको रे, अब के कुरा गर्ने ?’, ‘निर्मल लामा त खासै नेता हैन, चौबिसै घण्टा रक्सी खानुपर्ने जँड्याहा हो, फेरि उसका त पञ्चहरू सबै साथी हुन् ।’, ‘झापाली त सबै सामन्तका छोराहरू हुन् ।’ ‘त्यो गोप्यवादी श्यामप्रसाद त आफ्नै नातेदार आइमाई बिगारेर भूमिगत भएको त… ।’, ‘पुष्पलाल त काङ्ग्रेसको दलाल हो नि ।’ सैद्धान्तिक बहसमा भाग लिनुभन्दा यस प्रकारको टिप्पणीबाट काम चलाउनेको सङ्ख्या त्यतिखेर पर्याप्तै हुन्थ्यो, पारिजातबारे म पनि यस्तै टिप्पणीबाज तोरीलाउरे नेताको फेला परेको रहेछु, जुन कुरा मलाई केही वर्षपछि राम्ररी ज्ञान भयो । पारिजातबारे आफ्नो नेताको त्यस्तो टिप्पणी दिमागमा भरेको मैले कोर्समा फेला पारें पारिजातको कथा ‘मैले नजन्माएको छोरो ।’ अब मलाई पुगिहाल्यो ।

२. माइली पारिजात

‘साहित्य सन्ध्या’मा कविता सुनाउन जब पुगें, प्रत्यक्ष मैले पारिजातलाई त्यहीं देखें । बुट्टे कुर्ता सुरुवाल अनि सलले टाउको ढाकेको लाम्चो गोरो अनुहारकी पारिजात हात अड्याउने नभएको काठको कुर्चीमा बसेर कविता सुन्दै थिइन् । उनी बेला बेलामा अगाडिका माथि पट्टिका दुई कप्टेरे दाँत देखाएर फिस्स फिस्स हाँस्थिन् । बसेको ठाउँबाट पटक्कै नउठी उनले ३५ भन्दा बढी कविता सुनिन् । त्यसपछि अन्त्यमा कार्यक्रम सकिएपछि उनलाई कसैले बोकेर मोटरबाइकको पछाडि राखेको देखें । मनमा एउटा नमीठो चिसो सिरेठो त चल्यो तर मेरो नेताले उनको बारेमा मेरो दिमागमा भरेको चरित्रहीन आइमाईको बिम्ब भने डेक उताउति भएन । लगातार जसो कार्यक्रममा देख्थें, अनि उनले रोकिई रोकिई बोल्ने शैलीमा गम्भीर कुराहरू बोलेको सुन्दै जाँदा, ‘मान्छे चाहिं गज्जबै रै’छ !’ भन्ने भाव मेरो मनमा आएरै छाड्यो । त्यो समय मेरो अध्ययन गर्ने जिब्रो सुँगुरकै जस्तो थियो, जे पनि रात दिन पढेको पढेई ।


त्यतिबेलासम्म छिमेकी गाउँका भए पनि हरिगोविन्द लुइँटेलसँग चिनजान थिएन, मतलब उनले मलाई चिन्दैनथे । त्यो भन्दा केही समयअघि मैले ‘मधुपर्क’ पत्रिकामा हरिगोविन्द लुइँटेलको व्यङ्ग्य निबन्ध ‘हाडे ओखर’ पढेको थिएँ, पुछारमा लेखेको थियो ठेगाना ‘ढुङ्गेअड्डा’ । मैले मेरी ठूल्दिदीलाई सोधेको थिएँ, ‘ढुङ्गेअड्डाको हरिगोविन्द भन्या को हो ?’ एक दिन बसमा उभिएको दाह्री झ्याम्म पालेको युवकलाई देखाउँदै ठूल्दिदीले भनी, ‘कान्छा हेर त हरिगोविन्द भन्या लुइँटेल बाउन त्यै हो !’ म ‘साहित्य सन्ध्या’मा कविता सुनाउन थाल्दा ‘लुइँटेल बाउन’ले दाह्री जुङ्गा काटेर हिंड्न थालिसकेका थिए । एक बसको अगाडि सिटमा म, पछाडि सिटमा उनै ‘लुइँटेल बाउन’ र अर्को व्यक्ति कुरा गर्दै थिए । ‘पारिजातको प्रगतिवादी यात्रा चाहिं पर्खालभित्र पर्खालबाहिर उपन्यासबाटै हो । यताबाट उता जाने त धेरै छन्, उताबाट यता आउनुु गजबै हो ।’ त्यतिबेलै हरिगोविन्द लुइँटेल लामो लामो व्याख्यामा बोल्ने भइसकेका थिए । उनी बोलिनै रहे, म भने भोलि पारिजातको त्यो उपन्यास खोज्छु भनेर गुन्दै थिएँ । जब मैले ‘पर्खालभित्र पर्खालबाहिर’ पढें, मलाई त्यसको भाषाको छरितोपन गजब लाग्यो । मेरो मनको तार कताकता पारिजातसँग जोडिन पुगेको अनुभूति भयो । उनका बारेमा मेरो दिमागमा भरिएको बिम्बलाई बेवास्ता गर्न मन लाग्न थाल्यो । त्यसपछि उनका रचना भेटेजति पढ्न थालें, शिरिषको फूलमा जब ‘केटीहरू कुलकुलाउँदै गए’ भन्ने वाक्य भेटें, म पूरै मात भएँ । साहित्यकारले कसरी नयाँ बिम्बसँगै नयाँ शब्दकै आविष्कार गर्दोरहेछ भन्ने कुरा पारिजातबाट त्यही वाक्यबाट मैले सिकेको हुँ ।

३. साइँली पारिजात

‘साहित्य सन्ध्या’ हुँदै ‘प्रतिभा प्रवाह’सम्म निरन्तर कविता सुनाउँदै जाँदा क्षेत्रपाटीस्थित एउटा कलेजमा भएको कार्यक्रममा बोल्दा पारिजातले भनिन्, ‘जाडो लाग्याथ्यो, आऊँ कि नआऊँ, फेरि केही कविको कविता सुन्ने लतै लाग्या जस्तो भा’छ… आहुतिको कविता वाचन छोड्न मन लागेन…. ।’ यो सुनेपछि भने म झसङ्ग भएँ । न मेरो जातको, न मेरो चिनाजानी, न मेरो शिक्षक, न त… न त… न त… । कतै केही साइनो नपर्ने पारिजात मप्रति ध्यान दिने गर्दीरहिछिन् । ‘प्रतिभा–प्रवाह’ सञ्चालनसम्म पुग्दा निनु चापागाईंलगायतसँगको भेटघाटले राल्फा अनि पारिजातबारे मेरा नेताले मभित्र भरेका बिम्ब त मास छर्न गइसकेका थिए तर पारिजात सबैलाई त्यति नै ध्यान दिएर सुन्छिन् भन्ने पटक्कै लागेको थिएन ।

एक दिन कवि राजेन्द्रप्रसाद अधिकारीले भने, ‘तपाईंलाई पारिजात दिदीले भेट्न खोज्नुभा’छ, गए हुन्छ नि !’ त्यसपछि नजाने त प्रश्नै थिएन । म म्हेपीको उनको कोठामा पुग्दा भर्खरै सुतेर उठेकी थिइन् । पारिजात सुत्ने कोठामा दुईटा–दुईटा ढोका थिए । एउटा पश्चिमतिर स्कुलको प्राङ्गणबाट छिर्ने, अर्को घरभित्रको कोरिडोरतिर जाने । पारिजात सुत्ने खाट डबल बेडको थियो, सिरानी दक्षिणतिर फर्केको । पश्चिमतिरको ढोकाबाट पस्ने बित्तिकै तीनजना जति बस्न मिल्ने काठको स्टुल थियो र एउटा ड्याण्डल भएको कुर्ची जुन पारिजात सुत्दा खुट्टातिर अर्थात् उत्तरतिरको भित्तामा टाँसिएका थिए । पारिजातको दायाँतिर एउटा लामो टेबल जसमा उनको विभिन्न लेखकका किताबहरू थिए, तिनलाई चाहनेले किन्न पनि सक्थ्यो । त्यो टेबुलसँगै थिए दुई जना जति बस्न मिल्ने सोफा भनेपनि हुने खालका कुर्ची र एउटा बाँसको स्टुल । त्यतैपट्टिको भित्तामा थिए पारिजातका केही फोटा अनि उनको त्यो सिमेन्ट र रातो इँट्टा नाङ्गै देखिने कोठामा थियो सबैभन्दा ठूलो एउटा फ्रेमबिनाको पोस्टर जसमा दौरा मात्र घुँडा घुँडासम्म आउने गरी लगाएको बालकले आकाशका चम्किला ताराहरू हेरिरहेको दृश्य !

म त्यस कोठामा पुगेपति कालो चिया जुन मर्ला पटक्कै मन पर्दैनथ्यो, मेरा अगाडि आइपुग्यो र खुकुरी चुरोट तान्दै पारिजातले बैनी सुकन्यालाई बोलाइन् र भनिन्, ‘उहाँ नै हो आहुति, अस्ति के त कविता… हामी दुई बैनी नै रोयौं ‘टुहुरा मान्छेहरू…’ पढेर ।’ यसरी त्यतिबेलाको विकृत पार्टी पूर्वाग्रहलाई भत्काएर उनले मलाई आफ्नो रचनामार्फत् आफ्नो नजिक तानेकी थिइन् । त्यसैगरी त्यतिबेलाको साहित्यिक सामाजिक सम्बन्ध शुन्य रहेको एउटा उदीयमान कविलाई आफैले बोलाएर भेटेकी थिइन् ।


४. काइँली पारिजात

पारिजातसँग मेरो दोहोरो कुराकानी धेरै हुँदैनथ्यो । उनको अगाडि गएर बस्नु, कुरा सुनिरहनु र एकाध प्रश्न र प्रतिक्रिया व्यक्त गर्नुमै म सीमित हुन्थें । पारिजात चाहिं साना साना जस्ता लाग्ने कुरा पनि पुटुपुटु पुटुपुटु बोलिरहन्थिन् । ‘स्वास्नीमान्छे बिहे भएपछि भनिहाल्छन् तर केटा मान्छे कस्तो कपटी † राजेन्द्र अधिकारीको बिहे भएको चार महिना भइसकेछ, भन्दै नभनेका !’ प्रत्येक घटनाबाट उनी गहिरा निष्कर्षसम्म पुग्थिन् ।

रमेश विकल अध्यक्ष र मोदनाथ प्रश्रित महासचिव भई प्रलेसको पुनर्गठनपछि तत्कालीन नेकपा (माले)ले मोदनाथ प्रश्रितको अध्यक्षतामा आफ्नो भातृ सङ्गठन राष्ट्रिय जनसांस्कृतिक मञ्च गठन गर्‍यो तर त्यसलाई भातृ सङ्गठनको सट्टा स्वतन्त्र सङ्गठन भनी प्रचार गरियो । त्यसपछि पारिजातले मोदनाथलाई अङ्ग्रेजी साहित्यको पात्र ‘साइलक’ तुलना गरेर ‘गर्जन’ साप्ताहिकमा लेख लेखिन् । यो विवाद केही महिना गम्भीर रूपमा चल्यो । अन्त्यमा राजसांमञ्च स्वतन्त्र साझा नभई निश्चित विचार मान्नेको सङ्गठन भएको मोदनाथ पक्षले स्वीकार गरेपछि पारिजातले ‘त्यसो भए यो बहस अन्त्य भयो’ भनी बहसको अन्त्य गरिन् । आफूलाई लागेपछि अन्त्यसम्म बहसमा जाने र इख नराख्ने प्रवृत्ति उनमा थियो ।

‘साहित्य सन्ध्या’ले वर्ष पुरस्कार कर्णप्रखर धिताललाई दिएको प्रसङ्ग उठाएर पारिजात रिसाउँथिन् र भन्थिन्, ‘कर्णप्रखर कुनै कवि प्रतिभा नै होइन, इमानदार पनि छैन । आफ्नो मान्छे भनेर पुरस्कार दिन्छन् यी मालेहरू… मलाई मन पर्दैन ।’ कर्णप्रखरले आस्था र कविता आज छोडेको देख्दा म पारिजातका ती भनाइ पटकपटक सम्झन्छु । प्रतिभा र आस्थावान् मान्छे चिन्ने गहिरो क्षमता पारिजातमा थियो ।

मैले त्यतिखेर केही कथात्मक बढी भएका कविता लेखेको थिएँ । रघुजी पन्तले ती कवितालाई ‘यी त कथा भए, कविता कसरी भयो ?’ भनी प्रश्न उठाएका थिए । पारिजातले अर्को कार्यक्रममा भारतीय कव सर्वेश्वरदयाल सक्सेनाको ‘लु सुनलाई गाउँ घुमाउँदा’ शीर्षकको कविताबारे लामो बहस राखेर सर्वेश्वरले लेख्दा कविता हुने, आहुतिको कविता नहुने ? महाकाव्यमा कथा भन्न त कविता लेखिन्छ, कवितामा कथा आउनेबित्तिकै कविता नहुने भए महाकाव्यका कविता के हुन् त ? भनी गजबले मेरो प्रतिरक्षा गरिरहिन् । देखेपछि दृढतापूर्वक बोल्ने, लोलोपोतो नघस्ने आजादी प्रवृत्ति थियो उनको ।

५. ठाइँली पारिजात

पारिजातसँग धेरै कुरा गर्न सजिलो । त्यतिखेर लेखनमा उनका प्रतिस्पर्धी कोही पनि थिएन त्यसैले पनि होला । एउटा कुरा चाहिं साह्रै गारो । त्यो के भने उनलाई बोकेर हिंड्ने काम । आफू बोकिमाग्दा उनले कुनै दु:ख दिने त होइन, बोक्न तम्सिनेको अभाव पनि हुँदैनथ्यो, घण्टौघण्टा बोक्नुपर्ने पनि होइन । कोठाबाट बाइकसम्म, बाइकबाट कार्यक्रमस्थलसम्मको मञ्चसम्म हो तर बोक्दा भरपर्दो गरी नसमातौं पनि नहुने, बेस्सरी समातौं कहाँ दुख्ने हो पक्षघातले गुडुल्किएको शरीरमा ! अरुलाई कस्तो लाग्थ्यो कुन्नि मैले यसबारे कसैसँग कुरा गरिन । तर म भने आफूले बोक्दा कतै असर नै पर्ने गर दुख्ने हो कि भन्ने कुराले कुँडिने गर्थें । हुन त मेरो शरीरको दार स्याखिने भएकाले धेरैजसो बोक्ने भार मलाई पर्दैनथ्यो तर जब पथ्र्यो, म निकै सतर्क भएर पिठ्युँ थाप्ने गर्थें ।

त्यतिबेला सबै पुस्ताका र सबै खेमाका साहित्यकार पारिजातकहाँ पुग्ने गर्थे समय मिलाएर । पाकाहरू वैचारिक छलफल पनि गर्थे, युवाहरू सिर्जनाका बारेमा नै मूलत: सीमित हुन्थे । आ–आफ्नो गच्छे र रुचि अनुसार कहिलेकाहीं त्यतिबेलाका राम्रा रक्सी लिएर जाने र सँगै पिएर घर फर्किने पनि थिए तर चुरोट चाहिं पारिजात आफ्नै रुचिको खान्थिन् । ‘पहिले गैंडा खान्थें, अहिले खुकुरी !’ मलाई उनले सुनाएको यही थियो । त्यतिबेला पारिजातकहाँ बढी भेटघाट गर्ने युवा कविहरू मजस्ता नवोदितलाई धेरै गन्दैनथे पनि, कमसेकम मलाई त्यस्तो लाग्थ्यो । पारिजात त्यतिबेला क्रान्तिकारी प्रगतिशील युवा कविहरूका निम्ति अत्यन्त सुलभ अभिभावक थिइन् । पाकाहरूका निम्ति भने पञ्चायतका समर्थक र गैरवामपन्थी साहित्यकारलाई दिइने मुखभरिको जवाफ थिइन् पारिजात जसले भनेकी थिइन्– ‘शिरिषको फूल जलाइदिए हुन्छ !’

पारिजातको मृत्युपछि पनि स्वाभाविक रूपमा प्रगतिवादी साहित्य जारी छ, कैयौं विधामा त ठूलो प्रगतिका साथ, त्यसैगरी ठूला ठूला सौन्दर्यशास्त्री र लेखक कवि ज्यूँदैछन् र नयाँनयाँ बन्दैछन् । म सोच्छु पारिजात नहुँदा उनको नयाँ सिर्जनाबाहेक ठोस अभाव नै हुन पुगेको के होला ? निसन्देह मलाई लाग्दछ कि त्यो अभाव भनेको मूलत: युवाहरूलाई हुन पुगेको हो, छ र अझै कति समयसम्म त्यो रहिरहनेछ छ अर्थात् स्नेही अभिभावकको अभाव ! पारिजातको मृत्युपछि ‘नयाँ घर’ प्रकाशनका क्रममा त्यो अभाव मैले गहिरो गरी अनुभूत गरें । आज पनि जब जब आफूलाई प्रतिस्पर्धी ठान्ने पाकाहरूको आँखाको रापमा छटपटाएको युवा सर्जक देख्छु, म पारिजातको स्नेह अनायास सम्झिन पुग्छु ।


६. राइँली पारिजात

०४५/०४६ को जनआन्दोलन सुरु भयो । फागुन सात गतेबाट सडकमा निस्किएका पार्टीहरूको जुलुस फागुन आठमा जनकपुरको जदुकुवामा रक्ताम्मे हुनासाथ सिङ्गो तराई र पहाड जोडिन पुग्यो तर त्यो परिवेश बिस्तारै सेलाउन थाल्यो र फागुनको दोस्रो हप्ता पुग्दा आन्दोलनले हावा खाने हो कि भन्नेसम्मको आशङ्का जन्मिन थाल्यो । त्यसपछि फागुन १८ गते पाटनमा बर्बर दमनपछि पाटन सहर जुरुक्क उठ्यो र किल्लाबन्दी सुरु भयो । त्यतिबेला सुनिन्थ्यो भक्तपुरबासीले पाटन र कीर्तिपुरबासीका निम्ति ‘चुरा धागो’ उपहार पठाए ।

पार्टीहरूले आन्दोलन धर्मराउने पो हो कि भन्ने सम्भावनासँगै सबै पेशागत समुदाय सडकमा उत्रिन थाले, त्यसले बिस्तारै माहौल तताउन थाल्यो र महाराजगञ्ज शिक्षण अस्पतालका डाक्टरको आन्दोलनकारी गतिविधि कोसेढुङ्गा बनेको थियो । त्यसैबेला लेखक कलाकारले पनि आफ्नो आन्दोलनकारी गतिविधि गर्ने निर्णय भयो । वामपन्थी र प्रजातान्त्रिक लेखकहरूबीचको पटकपटकको छलफल भए । प्रतिभा–प्रवाहको सक्रिय सञ्चालकका हिसाबले त्यो तयारीमा जुट्ने अवसर मर्ला पनि यथेस्ट मिल्न पुगेको थियो । त्यतिबेला वाम खेमाबाट पारिजात र प्रजातान्त्रिक खेमाबाट वाशु शशीलाई प्रतिनिधि पाका स्रष्टाका रूपमा उतार्ने योजना बन्यो । उमेरका पाकाभन्दा पनि व्यक्तित्वको उचाइले नै त्यस्तो हुन पुगेको थियो ।

अन्तिम तयारी बैठक चावहिलस्थित मुरारी अर्यालको घरमा बस्यो । पारिजातलाई लिएर आउने व्यक्ति टुंगियो, पारिजात साह्रै खुशी भएको त्यहाँ सुनाइयो तर वाशु शशी धर्मराएको चर्चा त्यहाँ चल्यो । वाम खेमाले प्रजातान्त्रिक खेमालाई प्रश्न गर्‍यो, ‘के हो त वाशु शशी दाइको उपस्थितिबारे ?’ त्यसपछि कवि हरि अधिकारीले भने, ‘त्यो हाम्रो कुरा हो । बुढाले यताउति गर्न कसरी पाउँछन् ? बाशु शशीलाई लिएर आउने जिम्मा मेरो भो !’ त्यसपछि नै चैत्र ३ गते पारिजात, वाशु शशीसहितको कालोपट्टी बाँध्ने कार्यक्रम सरस्वती सदन घण्टाघरमा सम्पन्न भएको थियो । चैत्र ३ गतेको कालोपट्टी सङ्घर्षमा थुप्रै नामी लेखक अनुपस्थित भएका थिए । आएका पनि कतिपय नाकको चालले आइपुगेका थिए । तर पारिजात सहज ढङ्गले आइन्, सहज ढङ्गले गिरफ्तारी दिन तयार भइन् तथापि उनलाई प्रहरीले पक्रेर बग्गीखाना लगेन । तर आफ्नो शारीरिक समस्याका बाबजुद सङ्घर्षमा सबलाङ्गहरूसँगै सामेल भइन् । यस्तो थियो २०४६ चैत्र ३ को पारिजातको चित्र ।

७. अन्तरी पारिजात

०४६ को परिवर्तनपश्चात् पारिजातको स्वास्थ्य स्थिति अलि छिटोछिटो बिग्रन थाल्यो । पटक पटक अस्पताल भर्ना हुँदै घर फर्किंदै गर्नुपर्ने स्थिति बन्यो । त्यसै परिवेशमा एक दिन भेट्न जाँदा पारिजातले भनिन्, ‘आहुति, तपाईं सङ्ग्रह निकाल्ने होइन ? तपाईङ्को सङ्ग्रहमा भूमिका नलेखी मर्ने हुँ कि जस्तो लाग्न थाल्यो ।’ म अक्क न बक्क भएँ, सङ्ग्रह निकाल्ने कुनै ‘ख्वाब’ मैले राखिसकेको थिइन, फेरि प्रकाशक कहाँ पाउने ? ‘खोइ, सोचेकै छैन’ भन्न मैले भनें तर मभित्र डढेलो सल्किसकेको थियो । पारिजात स्वयम्ले भूमिका लेख्ने चाहना व्यक्त गर्नु मेरो लागि त्यतिबेला स्वाभाविक रूपमा ठूलो कुरा थियो । त्यसको एक हप्ता नबित्दै मैले ३७ वटा कविता छनौट गर्न हरिगोविन्द लुइँटेललाई दिएँ र २०४९ पुस ११ गते चिन्तन प्रकाशनले ‘तपस्वीका गीतहरू’ सङ्ग्रह प्रकाशित गर्‍यो ।

मेरो त्यो कविता सङ्ग्रह निस्केको केही महिनापछि पारिजात झनै सिकिस्त हुन थालिन् र वीर अस्पताल एक दर्जनभन्दा बढी लेखकको अर्धबास झैं हुन थाल्यो । उपचारको खर्च जुटाउने, विदेश लाने तयारी, नागरिकता लिन हस्ताक्षर गर्न नसकेर औंठा छाप लगाउन परेको आदि घटनानुभवहरू एकपछि अर्को अघि बढ्दै गए ।

एक साँझ कवि मातृका पोखरेलले भने, ‘पारिजात दिदीको अवस्था गम्भीर छ रे, जाउँ भेट्न ।’ म बिहानै मात्रै पनि पुगेर आएको थिएँ । म त्यतिखेर गलैंचा मजदुर आन्दोलनको एउटा मुख्य नेता थिएँ । म दिनभरि मजदुर साथीहरूसँग छलफल बहस गरेर थकित भएर आएको थिएँ । समय त्यतिबेला साँझको करीब ६ बजेको थियो, भोक ज्यास्तै लागेको । मातृका पोखरेलसँग रत्नपार्कमा भेट भएको थियो । ‘भोलि बिहान जाउँला, बरु खाजा ख्वाउनोस्,’ मैले भनें । मातृका पोखरेलको स्वभाव अहिले पनि त्यस्तै पाउँछु– नगद दिन पर्‍यो भने दाँतबाट पसिना आउने, ख्वाउन पर्‍यो भने परम्परागत जनजाति जस्तो । त्यतिबेला उनले खाजा र कोठामा भात नखुवाएको सायदै कम दिन हुन्थे । मलाई लालमोहन खुब मन पर्छ भन्ने उनलाई थाहा थियो । त्यतिबेला रत्नपार्कमा भ्याली स्वीट्स नामक चर्चित मिठाइ रेष्टुराँ थियो । रत्नपार्क र वीर अस्पताल धेरै टाढा पनि होइन । खाजा खाइसकेपछि पारिजातलाई भेट्न गएको भए पनि भइहाल्थ्यो । राति बास बस्ने ठाउँ टाढा पनि होइन । मातृकाको डेरा त्यहीं नजिकै बागबजारमा । हामी दुवै गफिंदै बागबजार गएर सुत्यौं । बिहान उठ्दा एक्कासी खबर आयो– दिदी बितिन् ! हत्तेरी, मातृकाले भनेको नमान्दा अन्तिममा मुख हेर्न पाइएन, अन्तिम क्षणमा सँगै हुन पाइएन । यो ग्लानीले मलाई धेरै पछिसम्म सताइरह्यो ।

८. जन्तरी पारिजात

पारिजातको इच्छा मुताविक नै उनको शवलाई खुलामञ्चमा राखियो । उनकै इच्छा मुताविक हरियो पहिरन र शिरमा लेनिनको तस्वीर राखियो । उनले यस्तो इच्छा किन व्यक्त गरिन् मलाई कसैले सुनाएको छैन । प्रज्ञा भवनको सट्टा खुलामञ्च त बुझ्न सकिन्थ्यो किनभने प्रज्ञा प्रतिष्ठानले विचारका आधारमा गर्दै आएको दमनको प्रतिरोध थियो । तर सिपाही रङको पहिरन र लेनिन नै किन रोजिन् ? के उनी नयाँ अक्टोबर क्रान्तिको सिपाही ठान्थिन् आफूलाई ? सायद, सायद, सायद † मैले त्यस्तै लख काटेको छु ।

खुलामञ्चमा धेरै मानिस त आएनन् तैपनि त्यतिबेला आए नै भन्नुपर्छ । त्यसपछि उनको शवलाई खुलामञ्चबाट दिउँसो स्वम्भुका निम्ति शवयात्रासहित हिंडाइयो, सरिता महर्जन, लक्ष्मी श्रेष्ठ र निर्मला गौतमले जोडै गरेर शव केहीबेर बोकी छाडे । शवयात्री स्वयम्भु पुग्दा मुस्किलले पाँच सयको हाराहारीमा थिए । पारिजातले त्यतिबेलाको नेकपा (एकताकेन्द्र)को पार्टी अभिलेख फाराम भरेकी थिइन् । अन्त्येस्टीको दिन पार्टीको आयोजनामा डा. बाबुराम भट्टराईले संयोजन गर्ने पत्रकार र स्तम्भ लेखकको भेटघाट राखिएको थियो । मैले आजलाई रोकौं भनें तर भट्टराई मान्नुभएन र उहाँले भनेको मान्नेजति भेटघाटमा गए, शवयात्रामा गएनन् । म शवयात्राभरि नै एक दिनको भेटघाट पनि पारिजातको अन्त्येस्टीको दिन स्थगन गर्न नसक्ने के तरिका होला भन्दै सोच्दै हिंडेको थिएँ ।

पारिजातको अन्त्येष्टीपछि मलामी कम भएको अनुभूति धेरैलाई भयो । त्यो रात खगेन्द्र सङ्ग्रौलाले शक्ति लम्साललाई फोन गरेर भनेछन्, ‘पारिजातको मलामी त यो गति भो तपाईङ्को मलामी कति होलान् शक्तिजी ?’ यो प्रश्नले आगो भएका शक्ति लम्सालले ‘जनादेश’ पत्रिकाको अफिसमा भन्थे, ‘मैले पनि कार्ल माक्र्सको मलामी छ जना थिए । सवाल मलामीको होइन, विचारको हो भन्दिएँ ।’

जुन पारिजात जीवनभरि भौतिकवादका पक्षमा लडिन्, मरेपछि पनि लेनिनको तस्वीर शिरमा राखेर सिपाहीको पहिरन धारण गर्ने इच्छा व्यक्त गरिन्, तिनै पारिजातको अन्त्येष्टी भने परम्परागत आध्यात्मिक ढङ्गले गरियो । जब शोकको समयमा म्हेपी पुगें, परैबाट ढ्याङ्ग्रो बजाएको आवाज आउन थाल्यो, एउटा नमिठो अनुभूतिले मेरो खुट्टा डेक चलेन र म प्राङ्गणभित्र नपसीकनै फरक्क फर्किएर आफ्नो बाटो लागें । त्यही घरमा निर्मल लामाको सन्दर्भमा पनि त्यस्तै देखेपछि पारिजातको शोकको समय मैले फेरि एकपल्ट सम्झेको थिएँ ।

९. कान्छी पारिजात

फूलहरू हिंड्दैनन तर आफूतिर मानिसलाई तान्ने अद्भुत आकर्षण हुन्छ फूलहरूमा । बच्चाहरू जति साना हुन्छन्, त्यति नै कमजोर तर बलवान् मानिसहरूलाई कजाउन सक्ने शक्ति हुन्छ बच्चाहरूमा । पारिजात हिंड्न सक्दैनथिन् तर हिंड्न सक्नेहरूलाई उनको दैलोसमम तान्न सक्ने आकर्षण थियो उनमा । यो आकर्षण उनको क्षमता र बाध्यता दुवै थियो मेरो विचारमा उनको सिर्जनशक्ति, उनको अभिभावकपन र निस्कलङ्क व्यक्तित्व नै त्यो आकर्षणको केन्द्रविन्दु थियो भन्ने म ठान्दछु ।

पारिजातको कला, क्षमता र बाध्यता जे भने पनि हुन्छ, उनले उनीसँग सङ्गत गर्ने धेरै व्यक्तिको हृदयमा एउटा यस्तो अधिरचना निर्माण गरेकी हुन्थिन् कि व्यक्तिहरूलाई लाग्थ्यो, म नै पारिजातसँग अरुभन्दा नजिक छु । पारिजातसँग जोडिएको मलाई अचम्म लाग्ने मुख्य आयाम यही नै हो । पारिजातको बारेमा लेखिएका त्यतिबेलाका संस्मरणहरूमा धेरैजसो लेखकले आफूलाई त्यही रूपमा प्रस्तुत गर्ने चेष्टा गरेको असरल्ल देखिन्छ । तर धेरैजसो संस्मरणहरू पढ्दै जाँदा सुकन्याबाहेक परिवारबाहिरको व्यक्ति एकजनालाई उनले आफ्ना सर्वाधिक गोप्य कुरा खोलेकी रहिछन् – ती हुन् कवि डा. महेश मास्के – त्यो पनि पत्राचारमार्फत् ।


डा. महेश मास्के त्यतिबेलाका सरदर कवि थिए तर माक्र्सवादी चिन्तनमा गम्भीर युवा चिन्तक भइसकेका थिए । उनले पत्रमार्फत् ती गम्भीर गोप्य समेत किन डा. महेशलाई पठाइन् होला ? सहज अनुमान गर्न सकिन्छ कि ती विषयहरू पत्रमार्फत् जीवित रहुन् भन्ने उनी चाहन्थिन् । पारिजातले विल्कुल सही मान्छे छानेको मलाई लाग्दछ । किनकी त्यो मान्छे विश्वासिलो, अलिकति कपटी पनि र विद्वान् समेत हुन जरूरी थियो र आफूभन्दा सामान्यतया पछि मर्ने उमेरको हुनु जरूरी थियो । यसरी म के पाउँछु भने पारिजात मृत्युपछि पनि आफ्नो स्याहार ठीक ढङ्गले गर्न सक्ने मान्छे खोज्ने दूरदर्शी चिन्तक थिइन् तर दुर्भाग्य मलाई लाग्द हामीले उनको स्याहार राम्ररी गर्न सकिरहेका छैनौं । गर्नुपर्छ भन्ने विचार एकान्तमा कहिलेकाहीं मेरो मनमा आउन छोडेको पनि छैन । हरेक वर्ष पारिजात स्मृति केन्द्रले पुरस्कार वितरण कार्यक्रम गर्छ– म कार्यक्रममा गएको छैन किनभने त्यो समारोह उनलाई स्वर्ग पठाउन लामाले बजाएको ढ्याङ्ग्रोको स्वर जस्तै लाग्छ ।

————–
२०७१ कात्तिक २३

————–
(दीपक सापकोटा सम्पादित पाण्डुलिपि साहित्यिक मासिक वर्ष १, अंक ७, २०७१ कात्तिक-मंसिरबाट)

http://www.kathmandutoday.com बाट साभार

No comments:

Post a Comment