Sunday, August 23, 2015

गीतकार हरिहर तिमल्सिनाको कविता संग्रह विमोचित


kabita bimochan
काठमाडौं,
जन–आन्दोलन भाग २ पछि भएको राष्ट्रगान प्रतियोगितामा दोस्रो भएका गीतकार हरिहर तिमल्सिनाको कविता संग्रह विमोचित भएको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरे, कवि श्यामल, आख्यानकार नारायण ढकाल, कवि नर्मदेश्वर प्रधान , कवि एवम्  प्राज्ञ मातृका पोखरेलले ठमेलको एक होटलमा तिमल्सिनाको ‘गाउँ हराएको साँझ’ संयुक्त विमोचन गरे। 
‘सँया साहित्यिक समुह’ ले आयोजना गरेको कार्यक्रममा पत्रकार तथा कवि फुलमान वलले तिमल्सिनाको कवितामाथि टिप्पणी गरेका थिए। वलले आफू गाउँबाट आएकाले एउटा गाउँलेको दृष्टीमा सहरले आफ्नो मौलिक पहिचान बिर्संदै शक्तिको पछि लाग्दै गरेको देखिरहेको बताउँदै कवितामा पनि यस्तै बिम्बित गरेको बताए। साथै उनले कवितामा परिवर्तनप्रतिको असन्तुष्टी र बिरोधाभाष अनुभुति रहेको र कविताका लागि चाहिने स्रोत सबै अमुर्त रहेको बताए।
अर्का समिक्षक महेश पौडेलले कविताका बारेमा समिक्षकले कमजोरीलाई पनि प्रयोग मानिने परम्परा साहित्यका लागि जोखिम हुने भन्दै  कवितामा इतिहास निर्माण हुँदादेखि अहिलेसम्म रहेको शास्वत सत्य ‘भोकको रोदन’ समेटिएको बताए। साथै उनले समयले पारेको मनोवैज्ञानिक असर, विकृत समयमा देखिने सपना, अन्धविश्वास, गरिबी र भोकले उब्जाएको आक्रोश, नैराश्यता र निजत्व हरिहरको कवितामा रहको बताए। पौडेलले कवितामा शब्दचयन गर्दा तिनले बोल्ने भाषाका बारेमा कविले जानेको भए र  कवितालाई अझै सांकेतिक बनाउने प्रयास गरिएको भए अझै राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया दिए।
कविताकै बारेमा बोल्न मञ्चमा पुगेका अर्का कवि श्यामलले कविताको व्याकरण र विचार नहुने तर नयाँ ल्याइने विचार भने श्रेष्ठ हुनुपर्ने विचार राख्दै हरिहरका कवितामा त्यो भए/नभएको भन्ने कुरा विचारणिय पक्षमा पर्ने जनाए। उनले आफू मार्क्सवादी स्कुलको भएपनि निराशावादी कविता लेखिनुहुन्न भन्ने कुराको बिरोधी रहेको बताउँदै हरिहरको कवितामा नयाँ भाषा खोजको सम्भावना रहेको बताए।
वक्ताले बोल्ने क्रममै मञ्चमा पुगेका बिमोचित कृति ‘गाउँ हराएको साँझ’ का सर्जक हरिहर तिमल्सिनाले कवितामा आफूले बाँचेको समाज र युगसँग संवाद गर्ने प्रयास गरेको खुलाए।
मञ्चमा प्रमुख आकर्षणको केन्द्रमा रहेका राष्ट्रकवि माधव घिमिरेले पनि हरिहरको खुलेरै प्रशंसा गरे। ‘म ९७ मा हिँड्दैछु। महाकाव्यमा काम गरिरहेकाले बोलाएको सबै ठाउँमा जान र माया गरेर दिएका सबै किताब पढ्न सक्दिन। तर, यो कविता पढेँ।’ अघिपछि कुर्सीमै बसेर बोल्ने कविले मञ्चमा उठेर जोसिँदै बोले,‘संग्रहमा श्यामलजीको भूमिका पनि भएकाले र कविता कुन सर्न्भमा लेखिएको भन्ने खुलाइएकाले पनि पढेको हूँ। हरिहरका कविता सरल छन्।’
राष्ट्रकवि घिमिरेले कवितामा समय स्पर्श नगरी लेख्दा जीवन्त नहुने औंल्याउँदै आफ्ना कविता कसैले बुझे पनि नबुझे पनि खासै असर नपर्ने बिचार पनि राखेका थिए।

http://www.filmypati.com बाट साभार 

No comments:

Post a Comment