Sunday, August 23, 2015

हरिकृष्ण दर्शनधारीको स्मृति सभा

hari-krishna-darshandhari-349x218_c
१ भदौ, कीर्तिपुर । कलाकार हरिकृष्ण दर्शनधारीको तेस्रो स्मृति सभा शनिबार कीर्तिपुरमा सम्पन्न भयो । इन्द्रेणी सांस्कृतिक समाज, कीर्तिपुरले आयोजना गरेको उक्त कार्यक्रममा स्मृति मन्तव्य र गीतहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा पूर्वराज्यमन्त्री दिलिप महर्जन, इसासका संस्थापक अध्यक्ष तथा संगीतकार रायन श्रेष्ठ र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा साहित्यकार मातृका पोखरेलले कलाकार दर्शनधारीको व्यक्तित्व र योगदानबारे चर्चा गरेका थिए । दर्शनधारीका समकालीन नृत्यकलाकारहरू नारायणदेवी प्रधान र राधेश्याम प्रधानले पनि मन्तव्य राखेका थिए । उनको सम्झनामा कलाकारहरू रानीशोभा महर्जन, दीपा महर्जन र प्रमिला महर्जनले गीत प्रस्तुत गरेका थिए । ‘तिमी गयौ हरि दर्शनधारी’ बोलको कवि दुर्गालाल रचित उक्त गीत जनसंगीतकारका रूपमा परिचित गुजे मालकारले संगीतबद्ध गरेका हुन् । इसास कीर्तिपुरका अध्यक्ष वीरप्रसाद भन्सारीले सञ्चालन गरेको स्मृति सभाको अध्यक्षता इसासका संस्थापक कोषाध्यक्ष वदन शर्माले गरेका थिए । हरिकृष्ण दर्शनधारी तीसको दशकको अन्त्यतिर प्रदर्शित जनगीति नाटक ‘सिम्मा’का नृत्य निर्देशक हुन् । उनले त्यसबाहेक नेपालीमा ‘कहाली’ र ‘बुहारी’ गीतिनाटक तथा नेपाल भाषामा ‘लसय् हँगु विरोध’ अपेराको सफल नृत्य निर्देशन गरेका थिए । प्रगतिशील तथा श्रमजीवी जनतामाझ लोकप्रिय दर्शनधारी चर्या, लोक तथा आधुनिक नृत्य विधामा पनि पारंगत मानिन्थे । दर्शनधारीको २०६९ साउन ५ गते निधन भएको थियो ।

http://emulyankan.com बाट साभार 

No comments:

Post a Comment